पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै

पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै


बाँके – बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित सामुदायिक घरबास (होमस्टे)ले धमाधम स्तरोन्नति गर्न थालेका छन् ।

यहाँ सुविधा सम्पन्न रिसोर्ट पनि थपिएका छन् । पर्यटकलाई स्तरीय सेवा दिन लगानी थप गरी यहाँका होमस्टे र होटलको स्तरोन्नति भइरहेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताए । आन्तरिक पर्यटकलाई अधिकतम सुविधा दिँदै बाह्य पर्यटकलाई समेत लक्षित गरी होमस्टेमा लगानी थप भइरहेको उनको भनाइ छ ।

गाभर भ्यालीमा पछिल्लो पटक १२ करोड रूपैयाँको लगानीमा सुविधा सम्पन्न बिसौनी ग्रिनरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ । गाभरमा स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको महाप्रबन्धक केशवप्रसाद चालिसेले बताए ।

‘गाभर क्षेत्रमा होमस्टे सञ्चालन हुँदै आएका छन्, अझै स्तरीय सेवा सुविधा प्रदान गर्दै पर्यटन प्रवद्र्धनमा आवश्यक पर्ने न्यूनतम पूर्वाधारसहित हामी उपस्थित भएका छ उनले भने । ‘ग्रामीण क्षेत्रमा यहाँको भौगोलिक तथा सांस्कृतिक वस्तुस्थिति र रहनसहनसँग मिल्नेगरी अर्गानिक खानेकुराका परिकारलाई प्राथमिकता दिँदै आएका छाैँ ।

अर्गानिक माछा मासु तथा तरकारीका लागि पाँच बिघा क्षेत्रफलको जमिनमा होटलले आफ्नै अष्ट्रिज, हाँस, लोकल कुखुराको फार्म, माछापोखरी पनि सञ्चालन गर्दै आएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित बिसौनीले पर्यटन प्रवद्र्धनका लागि पदयात्रा, गाडी, घोडा र साइकल चढेर जङ्गल सफारीको व्यवस्थासमेत गरेको छ ।

रत्नराजमार्गदेखि करिब सात सय मिटरभित्र मिनी गाभरक्षेत्रमा रहेको बिसौनीमा मार्सी चामलको भात, थारु समुदायका परिकार, घोंगीसमेत पाहुनालाई उपलब्ध गराउने गरेको महाप्रबन्धक चालिसेले जानकारी दिए । होटलका आकर्षक भवन संरचना प्रवेशद्वारमै रहेको झरनालगायतको हरियाली वातावरणले पाहुनालाई आकर्षित गर्ने गरेको छ ।

होटलका प्रबन्ध निर्देशक उपेन्द्रकुमार शाही भन्छन्, ‘हालसम्म १२ करोड रूपैयाँ लगानी भइसकेको छ, अझै धेरै संरचना निर्माणका क्रममा रहेका छन् ।’ बाँकेमा पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन रिसोर्ट सञ्चालन गरेको महाप्रबन्धक चालिसेले बताए । गाभरमा बिसौनी रिसोर्ट सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । नेपालगञ्ज, कोहलपुरलगायतका ठाउँबाट दैनिक रुपमा घुम्न र बस्न आउने पाहुनाको सङ्ख्या बढ्दो रहेको उनले बताए ।