काठमाडाैं – जीवनमा बीमाको जस्तै बीमामा सर्भेयर महत्त्वपूर्ण छ । किनकि, सर्भेयरले नै बीमाको दाबी भुक्तानीमा भूमिका खेल्छन् । उनीहरूले स्वतन्त्र रूपमा स्थलगत निरीक्षण गरेर बिमित, बीमक, बीमा कम्पनी तथा बीमा नियामकलाई जोखिमको यथार्थ मूल्याङ्कन गर्छन् । तर, यिनै सर्भेयरको सर्भे शुल्क एक दशक यता बढ्न सकेको छैन । अन्तिम पटक २०७२ सालमा बढेको सर्भेयर शुल्क त्यसयता बढ्न सकेको छैन ।
२०७२ सालमा बढेपछि त्यसको दुई वर्षपछि नै शुल्क बढाउनुपर्ने माग अघि सरेको थियो । तर, २०८१ सालको आधाउधी बितिसक्दा पनि शुल्क बढ्ने चाल देखिँदैन । लामो समयदेखि शुल्क नबढेपछि बीमा सर्भेयरले पहल गरिरहँदा नियामक र बिमक सघंले वेवास्ता गरिरहेको सर्भेयरहरुको गुनासो छ । सर्भेयर शुल्क वृद्धि लगायतका विषयमा केन्द्रित रहेर बैंकिङ्ग समाचारले नेपाल बीमा सर्भेयर सघंको अध्यक्ष मोहन पुरुष ढकालसँग गरेको कुराकानीको सम्पादित अशंः–
हाम्रो जीवनमा बीमाको महत्व र बीमा क्षेत्रमा सर्भेयरहरुको महत्व त्यतिकै छ । बीमा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने सर्भेयरहरुको पछिल्लो स्थिती कस्तो छ ?
सर्भेयरको समग्र अवस्था ठिकठाक छ । तर, वर्तमान समयको महंगाई, जीवनस्तर र बढ्दो प्रविधिको समयमा सर्भेयर शूल्कमा सन्तुष्ट भएका छैनौं । संघको लामो प्रयासपछि २०७२ सालमा भएको सम्झौता बमोजिम २०७३ सालमा अन्तिम पटक शूल्क बढेको थियो । त्यसको २ वर्षपछि फेरी शूल्क बढाउनुपर्ने माग संघले राख्यो । तर, २०७९ सालमा ल्याइएको नेपाल बीमा प्राधिकरण आर्थिक कार्यविधि विनियमावली, २०७९ र नेपाल बीमा प्राधिकरण खरिद विनियमावली, २०७९ को तयारीमा सबै पक्ष लागे । यी दुई विनियमावली बनाउन समन्वय गर्दा ३ वर्ष बित्यो सोही कारण शूल्क बढाउने हाम्रो माग छायाँमा पर्यो ।
२०७२ सालको पहलपछि २०७३ सालमा सर्भे गर्दा लाग्ने शुल्क बढ्यो । तर, अहिले लामो समयदेखि नबढेको बताउनुभयो। तपाईँहरूको अहिलेको माग के हो ?
सर्भेयरहरुको सर्भे शुल्क समयानुकूल बढाउनुपर्ने हाम्रो माग हो । झन्डै दशक भएको छ शुल्क नबढेको । त्यसमा ध्यान दिएर बीमा क्षेत्रकै परिवार भएको कारण अब शुल्क बढ्नु पर्छ भन्ने माग हो ।
यो पनि
बीमा प्राधिकरणबाट नै इजाजत पत्र प्राप्त सर्भेयरहरुको मागलाई बेवास्ता गरेको हो ?
प्राधिकरणका पदाधिकारीहरुको काम गर्ने सोच छ । तर कार्यन्वयन गर्न सकेका छैनन् ।
प्राधिकरणबाट शुल्क बढाउन पहल भएको भन्नुभयो । तर, ८/९ वर्षमा नतिजा आउन सकेको छैन नि ?
पहिला बीमा समिति थियो । कुनै पनि शुल्क बढाउने अनुमति थिएन । तर, अहिलेका प्राधिकरणसँग त अधिकार छ । दुई महिनामा प्राधिकरणले हाम्रो लागि तीन वटा पहल गरिदिनु भएको छ । बीमक सघंले समय नै नदिँदा प्राधिकरणको पहलले छलफलको चरणसम्म पुगियो । प्राधिकरणले नयाँ सर्भेयरको लाइसेन्स दिइरहेको छ । यद्यपि, ती सबै ‘फिल्ड’मा पुगेका छैनन् ।
बीमा नियामक, बीमक, सर्भेयरहरुबीच नै विवाद भइरहँदा नागरिकमा गलत प्रचार पर्दैन ? पहुँच विस्तार प्रभावित बन्दैन ?
बीमा क्षेत्रमा गलत प्रचार हुन्छ भनेर नै हामीले आन्दोलनको चरण घोषणा गरेका छैनौँ । हाम्रो मागको सुनुवाइ भएन भने ढुङ्गा मुढाको चरणमा जान सक्ने अवस्था छ ।
तपाईँहरूको मागको सुनुवाइ भएन भने आन्दोलनको चरणमा जाने सम्भावना कतिको छ ?
सर्भेयर सघंको मैले नेतृत्व गरिरहेको भएर मैले सही सूचना दिनुपर्छ । १३ सय जनाले सर्भेयर बनेर आफ्नो परिवार पाल्दै आउनुभएको छ । अघिल्लो बैठकमा शुल्क निर्धारण समितिको तीन जना र प्राधिकरणको निर्देशक र बीमक सघंको शुल्क समितिबाट तीन जना उपस्थित भएको थियौ । सो बैठकमा बीमा कम्पनीहरुले सस्तो मूल्यमा नै सर्भेयरले काम गरिरहेको समयमा शुल्क बढाउन आवश्यक छैन भन्ने मनशाय व्यक्त गर्नुभयो । यो स्वभाविक लागेन । सर्भेयरहरुको शुल्क बढाउन बीमक सघंले आपत्ति मान्नुको कारण बुझ्न सकेका छैनौँ ।
बीमक सघंले सर्भे शुल्क नबढाउने अठोट लिइरहँदा सर्भेयरले सर्भे गर्दिन भन्न मिल्दैन ?
हामी काम गर्दैनौ भन्न पाइन्छ । राष्ट्रिय बीमा कम्पनीको उदाहरण भन्नुपर्दा सर्भेयरहरुको शुल्क निर्धारण बोर्ड बैठकले पारित गर्नुपर्छ । बोर्डबाट पारित भएपछि लागू हुने कानूनी व्यवस्था छ । सर्भेयरले सात वर्ष पहिलाका लागि शुल्कमा सहमति जनाएका थिए । तर, सोही शुल्कमा आजको मितिसम्म काम गर्न सकिँदैन । यसो हुँदा बीमा कम्पनीका सीईओहरुबाट राष्ट्रिय बीमा कम्पनी कै उदाहरण दिएर शुल्क नबढाउन खेल खेलिरहेका छन् ।
यसो भए बीमक सघं र प्राधिकरणको नेतृत्व तहमा बसेकाहरुमाथि प्रश्न उठाउन मिल्छ ? तपाईँहरूले प्रश्न गरिरहनुभएको हो ?
हो । तर, हामीले पदाधिकारीको योग्यतामा होइन कार्यशैलीमा प्रश्न उठाइरहेका छौँ । संगठन भनेको संगठन हो । एउटै समूहमा हिड्नुपर्छ । प्राधिकरणले शुल्क बढाउन निर्देशन दिँदा पनि बीमक सघंले निर्णय नगर्नु गलत हो । यसबाट बीमा प्राधिकरणको नेतृत्वको कार्यशैलीमाथि प्रश्न स्वत उठ्छ ।
हामि सर्भे शुल्क बढेन भनिरहेका छौँ । यसको अर्थ कम्पनीहरूलाई तपाईँहरूको कार्यशैली र काम गराई मन नपरेको पनि त हुन सक्छ नि ।
यसो होइन । किनकि, सर्भेयरको काम चित्त नबुझेको खण्डमा कम्पनीहरूले भन्न सक्नुपर्छ । सर्भेयरको कुरा गर्दैजाँदा एउटा कम्पनीको उदाहरण दिन चाहन्छु । शिखर इन्स्योरेन्सले सर्भेयरहरुका लागि भनेर कार्यक्रम नै आयोजना गर्छ । यो, कम्पनीको उत्कृष्ट सोच हो । हामी सर्भेयरहरुले सूचना प्रविधिमा काम गर्ने योजनासहित मोबाइल एप नै बनाएका छौँ र प्राधिकरणलाई बुझाएका छौँ । प्राधिकरणलाई चित्त बुझेको खबर पाएका छौँ । यसो भयो भने सूचना प्रविधिको अधिकतम उपयोग गरेर सर्भेको काम गर्न सकिन्छ ।
अन्त्यमा, प्राधिकरण र बीमक सघंसँग शुल्क वृद्धिका लागि तपाईँहरुले चेतावनी दिएको हो वा अनुरोध ? के हो ?
हामीले शुल्क वृद्धिका लागि अहिलेसम्म अनुरोध नै गरेका हौं । आपसी विवाद र कलहले बीमा क्षेत्रको विकासमा नै प्रभाव पर्ने हो । बीमक संघका अध्यक्षहरुले यसबारे निर्णय गर्न नसकेको निष्कर्षमा हामी छौँ । २०७२ सालमा शुल्क बढाउन हामीले १९ दिन आन्दोलन गरेका थियौँ । सोही कारण बढेको थियो । त्यसैले अनावश्यक वा अप्रिय घटना घटाउने हाम्रो मनसाय छैन । तर, आफ्नो अधिकारका लागि पहल गर्छौँ नै । पाँच वटा नै प्रदेशमा सर्भेयरहरुले हातमा कालो पट्टि लगाएर आन्दोलनको गर्छौँ ।तर, समयमा नै बीमक संघ र प्राधिकरणले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने र गर्नेमा विश्वस्त छौँ ।
प्रतिक्रिया