सञ्चालनमा आयो दशैं लक्षित सहुलियत पसल, कति छुट पाइन्छ ?

सञ्चालनमा आयो दशैं लक्षित सहुलियत पसल, कति छुट पाइन्छ ?

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको थियो ।


काठमाडौं – सरकारले दशैंसहित चाडपर्व लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन ल्याएको हो ।

उपत्यकाका चार स्थान थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष छ । कम्पनीले मकवानपुर, तुल्सीपुर लगायत स्थानबाट खसी–बोका १ हजार ५ सय वटा ल्याएर बेच्ने जनाएको छ । यस्तै, मुस्ताङको कालो च्यांग्रा ३ सय वटा बेच्ने जनाएको छ। च्यांग्रा र खसी–बोका कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा मात्रै पाइने छ ।

५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ । त्यस्तै,तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोको ७ रुपैयाँ छुट दिइएको छ । यस्तै, कम्पनीले कर्णाली सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएको छ ।

च्यांग्रा र खसी–बोका घटस्थापना आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बेच्ने कम्पनीले जनाएको छ । चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको थियो । सहुलियत पसल आगामी २ माघसम्म सञ्चालन हुनेछ ।

कति पाइन्छ छुट ?

चामल प्रतिकिलो  ५ रूपैयाँ छुट

दाल प्रतिकिलो  ५ रूपैयाँ छुट

तेल प्रतिलिटर ७ रूपैयाँ छुट

गेडागुडी प्रतिकिलाे ७ रूपैयाँ छुट

पिठाे प्रतिकिलो  ७ रूपैयाँ छुट

मैदा प्रतिकिलो ७ रूपैयाँ छुट

चिउरा प्रतिकिलो ७ रूपैयाँ छुट

चिनी प्रतिकिलो ७ रूपैयाँ छुट

क्वाँटी प्रतिकिलो ७ रूपैयाँ छुट

कर्णाली सिमी प्रतिकिलो ७ रूपैयाँ छुट

फापर दाना प्रतिकिलो ७ रूपैयाँ छुट

कागुनो किलो ७ रूपैयाँ छुट

उवा किलो ७ रूपैयाँ छुट

जुम्ली मार्सी किलो ७ रूपैयाँ छुट

डीडीसी घिउ किलो १० रूपैयाँ छुट

जिउँदो खसी बोका च्यांग्रा किलो १० रूपैयाँ छुट