बैंकमा थुप्रियाे पैसा, केन्द्रीय बैंकले एक महिनामै तान्याे ४ खर्ब ७० अर्ब

बैंकमा थुप्रियाे पैसा, केन्द्रीय बैंकले एक महिनामै तान्याे ४ खर्ब ७० अर्ब


काठमाडाैं – बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको अधिक तरलतालाई व्यवस्थापन गर्नका निमित्त केन्द्रीय गत भदाै महिनाभर ४ खर्ब बढी तरलता प्रशाेचन गरेकाे छ । केन्द्रीय बैंकले भदाै महिनाभर पटक– पटक गरी ४ खर्ब ७० अर्ब तरलता खिचेकाे हाे ।

केन्द्रीय बैंकले एकै महिना ४ खर्ब ७० अर्ब रुपैयाँ तानेपछि हाल वाणिज्य बैंकहरुमा कूल लगानीयोग्य रकम ६ खर्ब रुपैयाँ हाराहारी छ । राष्ट्र बैंकले बैंकहरुमा लगानी थुप्रिएर अन्तर बैंक ब्याजदर घट्न थालेपछि बजारबाट पैसा तानेको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकहरूले ७८.७९ प्रतिशत सीडी रेसियो कायम गरेका छन् । 

बैंकिङ्ग प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस हुने गर्छ । सोही सकसलाई न्यूनीकरण गर्नकै लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणहरुको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा खिच्ने गर्छ । अहिले हरेक हप्ताको आइतबार, बुधबार र बिहीबार गरी ३ दिन बैंकहरुले निक्षेप राष्ट्र बैंकमा जम्मा गर्न पाउने सुविधा दिएको छ ।

राष्ट्र बैंकले निक्षेप संकलनको ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत तोकेको छ । राष्ट्र बैंककाअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप ६५ खर्ब ५ अर्ब र कुल कर्जा लगानी ५२ खर्ब १६ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार हाल अन्तरबैंक ब्याजदर न्यूनतम ३ प्रतिशत कायम भएको छ ।

बैंकहरुले स्थायी निक्षेप सुविधाको उपयोग गरिसकेपछि पनि बजारमा अधिक तरलता भएको खण्डमा राष्ट्र बैंकले निक्षेप संकलन औजार प्रयोग गरी आफै निक्षेप प्रशोचन गर्दै आएको छ ।

यस्तै, असाेज लागेपछि केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ तरलता खिच्नेकाे छ । केन्द्रीय बैंकले आज (असोज २ गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हाे । यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २३  गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले भदौ महिनाभरिमा सात पटक तरलता खिचेको थियाे

भदौ ३१ गते ५० अर्ब रूपैयाँ
भदौ ३० गते १०० अर्ब रूपैयाँ
भदौ २६ गते ४० अर्ब रूपैयाँ
भदौ २३ गते १०० अर्ब रूपैयाँ
भदौ १९ गते ४० अर्ब रूपैयाँ
भदौ १२ गते ४० अर्ब रूपैयाँ
भदौ २ गते १०० अर्ब रूपैयाँ