काठमाडौं – कोरोना महामारीका कारण आर्थिक गतिविधिमा सङ्कुचन आउँदा घट्न थालेको राजश्व संकलन बढ्न थालेको छ। चालू आर्थिक वर्षको सुरुवातदेखि नै राजश्व संकलनमा सुधार आउन थालेको हाे ।
महालेखापरीक्षकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनासम्मको अवधिमा १ खर्ब ६९ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । साउन र भदौ महिनाको अवधिमा सो रकम बराबरकाे राजश्व संकलन भएको हो ।
चालु आवको बजेटमार्फत सरकारले लिएको लक्ष्यको ११.६६ प्रतिशतले बढी हो । चालू वर्षमा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको छ । यस्तै, यस अवधिमा सरकारले १ खर्ब ३९ अर्ब रुपैयाँ खर्च गरेको छ । यो बजेट खर्चको ७.५१ प्रतिशत हो ।
सरकारले चालू वर्षका लागि १८ खर्ब ३० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको छ । महालेखाको तथ्यांकअनुसार चालू वर्षको दुई महिनामा सरकारको खर्चको तुलनामा आम्दानी बढी छ । यसबाट समग्र आर्थिक क्षेत्र चलायमान भएको देख्न सकिन्छ ।
तथ्यांकअनुसार सरकारको खर्चको तुलनामा २० अर्ब बढी आम्दानी छ । दुई ठूला राजनीतिक दलबीच सत्ता साझेदारीको सम्झौता अनुसार यतिबेला नेकपा एमाले नेतृत्वको सरकार छ । यो सरकारको नेतृत्वमा आर्थिक क्षेत्र चलायमान बन्ने निजी क्षेत्रको अपेक्षा छ ।
दुई तिहाइ बहुमतसहितको सरकार बनेपछि आर्थिक क्षेत्र गतिशील बन्ने सत्ता साझेदार दलको समेत विश्वास छ । दुई दलबीचको साझेदारीको सम्झौता अघिसम्म २ हजार अंकको बिन्दुमा रहेको शेयर बजार परिसूचक ३ हजार अंकसम्म पुगेको थियो । यद्यपि, यतिबेला बजार पुनः घट्दो क्रममा छ ।
शेयर बजार बढेपछि साउन महिनामा मात्रै २० अर्ब रुपैयाँभन्दा बढी ‘क्यापिटल गेन ट्याक्स’ संकलन भएको थियो । यस्तै, बैंकबाट शेयर बजारमा जाने ऋण समेत साउनमा ७१ अर्ब ६९ करोड रुपैयाँ छ । जसकारण अर्थतन्त्र बिस्तारै चलायमान बन्न थालेको आँकलन गर्न सकिन्छ ।
प्रतिक्रिया