नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन


काठमाडौं – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गर्दै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए ।

उनले उद्यमशीलताको प्रबद्र्धन गर्न कोष बनाएको भन्दै मुलुकभित्र रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रबद्र्धन गर्न आवश्यक रहेको बताए । रोजगारीको अभावमा युवाहरु विदेशिएको अवस्थामा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाका साथ युवा उद्यमीहरुलाई संगठित गर्ने कार्यका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चलाई धन्यवाद समेत दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीहरुलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेको बताए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेकोमा समेत उनले जोड दिए । ‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको पनि संख्या ठूलो छ,’ उनले भने ।

नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कानुनी एवं नीतिबाटै युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले मधेश प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने बताए । त्यसैले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयापन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ अघि बढ्न चाहेको बताए ।