के हो सीबीडीसी ?

के हो सीबीडीसी ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले सन् २०२६ देखि आफ्नै ‘डिजिटल’ मुद्रा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । केन्द्रीय बैंकले सो अवधिदेखि नेपालको आफ्नै डिजिटल मुद्रा ल्याउने गरी धमाधम काम गरिरहेको छ । विश्वभरका केन्द्रीय बैंकले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ (सीबीडीसी) बनाइरहेका छन् । विश्वका अन्य देशले सीबीडीसी बनाउँदै गर्दा नेपाल राष्ट्र बैंकले समेत यसतर्फ काम अघि बढाएको हो । यतिबेलासम्म केन्द्रीय बैंकले सीबीडीसीको नमुना तयार गरिसकेको छ ।

के हो सीबीडीसी ?

सीबीडीसी केन्द्रीय बैंकद्वारा जारी र विनियमित देशको आधिकारिक मुद्राको एक डिजिटल रूप हो । सीबीडीसी केन्द्रीय बैंकले निष्काशन गरेको कागजी मुद्राको डिजिटल स्वरुप मात्रै हो । सीबीडीसी आइसकेपछि ‘पेमेन्ट इकोसिस्टम’मा नयाँ फाइनल सेटलमेन्ट एसेस्ट थपिने विज्ञको बुझाइ छ । सीबीडीसी जारी गर्दा विद्यमान नीतिका संरचनाहरूलाई केही हानी गर्न नहुने र अहिलेको संरचना जसरी चलिरहेको छ त्यसरी नै सीबीडीसी आउनुपर्छ भन्ने मान्यता रहेको छ ।

यसको सुरुवात बैंक अफ इङ्ल्याण्डका डेपुटी गभर्नर बेन ब्रोडबेन्टले सन् २०१६ मा प्रयोग गरेसँगै यस शब्दको चर्चा सुरु भएको थियो । तर, यसको सुरुवात भने सन् १९९० को दशकमा फिनल्याण्डको केन्द्रीय बैंकले ई–मनी कार्ड जारी गरेपछि भएको देखिन्छ । भारतीय रिजर्भ बैंकले आफ्नो सीबीडीसीको नाम ‘ई–रुपी’ राखेको छ तर हालसम्म नेपाल राष्ट्र बैंकले जारी गर्ने सीबीडीसीको नाम भने तय भएको छैन ।

सीबीडीसी मुद्रा निष्कासन गर्न अधिकारप्राप्त निकायले जारी गरेको हुन्छ । सीबीडीसीमा मुद्रा निष्कासन गर्ने अधिकारीले नियमानुसार सुरक्षण राखेको हुन्छ ।

सीबीडीसी आएपछि बैंकहरुले नयाँ–नयाँ भुक्तानीका उपकरणहरु थप गर्न सक्ने केन्द्रीय बैंकको अपेक्षा छ । तर यो क्रिप्टो करेन्सी जस्तो भने होइन । क्रिप्टोमा विश्वका कुनै पनि बैंकको नियन्त्रण नभई निर्माणकर्ता कम्पनी वा व्यक्तिको नियन्त्रण रहन्छ । सीबीडीसीमा भने राष्ट्र बैंकको नियन्त्रण रहनेछ ।