ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा ८६ प्रतिशत आवेदकको हात खाली

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा ८६ प्रतिशत आवेदकको हात खाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

ग्रीन भेन्चर्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा ८६.३९ प्रतिशत आवेदकको हात खाली भएको छ । आईपीओमा कुल २१ लाख ११ हजार ६४९ वटा आवेदन परेकोमा १८ लाख २४ हजार १४९ आवेदकले सेयर पाउन नसकेका हुन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलमा आइतबार बिहान बाँडफाँड भएको हो ।

बाँडफाँडमा स्वीकृत योग्य आवेदकमध्ये धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम २ लाख ८७ हजार ५०० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । यो कुल आवेदकको १३.६१ प्रतिशत मात्र हो ।

क्यापिटलका अनुसार आईपीओमा आवेदन दिएका कुल २१ लाख ११ हजार ६४९ वटा मध्ये ५ हजार १३३ आवेदनबाट परेको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको थियो । २१ लाख ६ हजार ५१६ आवेदनबाट परेको २ करोड ४२ लाख ७७ हजार कित्ताको माग बाँडफाँडका लागि योग्य भएको थियो । स्वीकृत योग्य आवेदकमध्ये नै १८ लाख १९ हजार ५१६ आवेदकको हात रित्तो भएको हो । मागभन्दा बढी आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार आईपीओ बाँडफाँड भएको हो । कम्पनीले यही चैत ८ देखि ११ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।

आईपीओ पर्न छाडेर अधिकांश लगानीकर्ताको हात खाली हुँदा पछिल्लो समय लगानीकर्तालाई प्राथमिक बजारमा आकर्षण समेत घट्दै जान थालेको छ । आईपीओ परे पनि नपरे पनि आवेदक शुल्क तिर्नुपर्ने र दर्जनौं पटक हात सेयर नपर्दा लगानीकर्तालाई आईपीओको लागत समेत बढ्न थालेको छ ।

यसअघि नै ३१ करोड २५ लाख आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।  त्यसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्ट्याएर २८ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी आईएस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले यसअघि ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई सेयर निष्कासन गरेको थियो । अब सर्वसाधारणलाई आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्तापुँजी तीन अर्ब १२ करोड पुग्नेछ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु–४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

आयोजनको अनुमानित लागत १२ अर्ब आठ करोड २८ लाख ४९ हजार १३२ रुपैयाँ छ । आयोजनको प्रतिमेगावाट लागत २३ करोड पाँच लाख अनुमान गरिएको छ । हाल कम्पनीको संस्थापकहरुबाट ८० प्रतिशत बराबरको २ अर्ब ५० करोड रुपैयाँ पूँजी चुक्ता भएको छ । आयोजना प्रभावित स्थानीय र सर्वासधारणमा २० प्रतिशत सेयर बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी ९७ लाख ९९ हजार सञ्चित नोक्सानीमा रहेको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७७/७८ सम्म ९१.८६ रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनीको सञ्चित नाफा ५ करोड २ लाख बढी छ ।