काठमाडौं – असार १७ गतेदेखि बढ्न थालेको शेयर बजार यतिबेला निरन्तर घट्न थालेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सम्झौता गर्ने सूचना पाएपछि असार १७ गते नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको थियो। जबकी दुई ठुला राजनीतिक दलले १७ गते मध्यराती मात्रै सत्ता समीकरणको साझेदारी गरेका थिए ।
त्यसयता शेयर बजार निरन्तर बढ्दै आइरहेको छ । असार १६ गतेसम्म २ हजार ३० अंकको आसपास रहेको शेयर बजार यही भर्दा २ गतेसम्म आइपुग्दा ३ हजार अंक पुगेको थियो । यो झण्डै डेढ महिनाको अवधिमा आएको ९७० अंकको वृद्धि हो । तर, ३ हजार अंक पुगेयता भने शेयर बजार परिसूचक निरन्तर घट्न थालेको छ । भदौको २ गते (गत साताको आइतबार) परिसूचक ३४.४७ अंकले घट्यो । त्यससँगै शेयर बजार परिसूचक २९ सय ६६ अंकमा झरेको थियो ।
यस्तै, सो साताको बुधबार २ अंक र विहीबार ६ अंकको सामान्य वृद्धि नेप्सेमा देखियो । यस्तै यो साताको सोमबार खुलेको बजार ७९ अंकले घट्यो । त्यसलाई धेरैले ‘करेक्सन’का रुपमा लिएका थिए । यससँगै २८ सय ९४ अंकमा आइपुगेको नेप्से परिसूचक मंगलबार पनि १११ अंकले घटेपछि २७ सय ८२ अंकमा आइपुग्यो । बुधबार ३ अंकको सामान्य वृद्धिपछि आज विहीबार फेरी ३६ अंकको गिरावट बजारले झेलेको छ । यो पछिल्लो ७ कारोबार दिनमा आएको २५१ अंकको गिरावट हो ।
नेप्से परिसूचक निरन्तर घटेर ३ हजारबाट २६ सय अंकतर्फ लम्किएपछि ३ हजार अंकको बिन्दुमा शेयर किन्ने लगानीकर्ता प्रताडित बन्न थालेका छन् । यसअघिको जस्तै यसपटक पनि बजार वर्षौंसम्म तल पुगेर रुमलिने हो कि भन्ने चिन्ता उनीहरूमा देखिन्छ । तर लगानीकर्ताहरू भने यतिबेला बजार घट्नुपर्ने कारण नै नरहेको बताउँदै आइरहेका छन् ।
कारोबार रकमले पनि छाड्यो साथ शेयर बजार घट्दै जान थालेपछि २९ अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम खुम्चिन थालेको छ । अर्थमन्त्रालयमा विष्णु पौडेलको नाम सुन्न साथ बढ्ने बजार यतिबेला निरन्तर घट्दै ७ कारोबार दिनमा नै २५१ अंकले घटिसकेको छ ।
यतिबेला बैंकमा तरलता पर्याप्त छ । यस्तै, ब्याजदर समेत एकल अंकमा छ । साना ठुला र संस्थागत गरी सबैजसो लगानीकर्ता बजारमा प्रवेश गरिरहेका छन् । तर, बजार निरन्तर घट्न थालेको छ । बजार घट्न थालेपछि कारोबार रकम पनि ओरालो लाग्न थालेको हो । शेयर लगानीकर्ताले बजार घट्नु पर्ने आधार नै नरहेको बताइरहे पनि निरन्तर खुम्चिरहेको छ । यससँगै २९ अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम खुम्चिएर १२ अर्ब रुपैयाँमा आइपुगेको छ । यससँगै बजार खुम्चिएपछि कारोबार रकमले समेत साथ छाडेको छ ।
प्रतिक्रिया