के हो काउन्टर साइक्लिकल बफर ?

के हो काउन्टर साइक्लिकल बफर ?


काठमाडौं – काउन्टर साइक्लिकल बफर एक वित्तीय अवधारणा हो । यो बैंकिङ्ग क्षेत्रको स्थिरता र अर्थतन्त्रको समग्र स्वास्थ्यमा सुधार गर्न प्रयोग गरिन्छ । यो विशेष गरी बैंकहरूको पुँजी संरचनाका लागि महत्त्वपूर्ण छ । यो बफरको व्यवस्थाले कर्जाको अनियन्त्रित प्रवाहलाई नियन्त्रण गर्न मद्दत गर्छ । वित्तीय संकटको तीव्र दबाबको सामना गर्न बैंकहरूलाई सक्षम बनाउने उद्देश्यले यो बफरको व्यवस्था गरिएको हो ।

बैंकहरूलाई लगानी र कर्जा वितरणको सर्तहरूलाई समायोजन गर्न मद्दत गर्छ । यसको उद्देश्य अर्थतन्त्रको अत्याधिक चक्रवातिक अस्थिरताबाट बच्नु र वित्तीय प्रणालीको स्थिरता कायम राख्नु हो । यो बफरले बैंकहरूको वित्तीय स्थिति सुदृढ पार्न र संकटको समयमा पुँजीको कमीबाट बच्नमा मद्दत गर्दछ । यो पूँजी बफरले वित्तीय संस्थाहरूलाई संकटको स्थितिमा सामना गर्न सक्षम बनाउँछ । काउन्टर साइक्लिकल बफरको दर अर्थतन्त्रमा हुने समग्र कर्जा विस्तार र कुल गार्हस्थ्य उत्पादनको अन्तरको आधारमा निर्धारण गरिन्छ ।

अर्को शब्दमा देशको समग्र अर्थव्यवस्थाको (म्याक्रो इकोनोमी) विभिन्न आयामको आधारमा यो बफर दर निर्धारण हुन्छ । अहिले नेपाल राष्ट्र बैंकले यसलाई शून्य प्रतिशतमा झारेको छ । कतिपय यूरोपेली बैंकहरूमा यो शून्य दशमलव ५ प्रतिशत रहेको पाइन्छ भने बेलायतमा ब्रेक्जिटको निर्णयपछि १ प्रतिशत कायम गरिएको छ ।

प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न राखिने जगेडा भएको हुनाले यसको आफ्नै महत्व छ । अर्थतन्त्रमा आउन सक्ने चक्रीय दुष्प्रभावलाई सामना गर्न यस्तो बफरको व्यवस्था हुने भनिएपनि विश्वमा कतिपय देशमा अर्थतन्त्रमा आउने गैरचक्रीय प्रभाव र जोखिमलाई व्यवस्थापन गर्नसमेत यस्तो बफरको व्यवस्था गरिएको पाइन्छ ।

नेदरल्यान्डमा गैरचक्रीय दीर्घकालीन प्रणालीगत जोखिम निराकरणका लागि भनेर कुनै यस्तो काउन्टर साइक्लिकल बफर तोकिएको छैन । बरु, ठूला बैंकहरू एकै क्षेत्रमा केन्द्रित भएर उत्पन्न भएको जोखिम व्यवस्थापनका लागि भनेर मात्र यो बफर तोकिएको छ ।

नर्वेमा चाहिँ एकै क्षेत्रमा केन्द्रित लगानीजन्य जोखिमको सामना गर्न गतवर्ष मात्र यस्तो बफरलाई विद्यमान २ प्रतिशतबाट बढाएर २ दशमलव ५ बनाइएको थियो । हंगेरीमा व्यावसायिक रूपमा फस्टाएको घरजग्गा व्यवसायसँग सम्बद्ध जोखिमले यस्तो बफरको माग गरेको छ । रोमेनियामा गरिएको प्रबन्ध भने बैंकहरूको शेयर होल्डरसँग सम्बद्ध छ । जुन बैंकमा निम्न स्तरका इन्भेष्टमेन्ट कम्पनीहरूको लगानी छ त्यहाँ यस्तो बफरको व्यवस्थालाई अनिवार्य गरिएको छ ।