काउन्टर साइक्लिकल बफर – कर्जा नबढेर चिन्तामा बैंक, लगानीयोग्य रकमको सिमा झनै बढ्ने

काउन्टर साइक्लिकल बफर – कर्जा नबढेर चिन्तामा बैंक, लगानीयोग्य रकमको सिमा झनै बढ्ने


काठमाडौं – अतिरिक्त पूँजी कोष (काउन्टर साइक्लिकल बफर) शून्य प्रतिशतमा झरेपछि बजारमा थप तरलता बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले २०८१ साउन महिनादेखि काउन्टर साइक्लिकल बफर शून्यमा झरेपछि वाणिज्य बैंकमा लगानीयोग्य रकम बढ्ने भएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा बैंकहरुले ०.५ प्रतिशत रकम काउन्टर साइक्लिकल बफर (अतिरिक्त पूँजीकोष) का रुपमा राखेका थिए । केन्द्रीय बैंकको नीतिअनुसार वाणिज्य बैंकहरुले सो रकम अतिरिक्त कोषमा राखेका थिए ।

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा आउन सक्ने सम्भावित संकटलाई टार्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि लागू गरेको थियो । २०७६ सालदेखि नै काउन्टर साइकल बफर लागू गर्ने राष्ट्र बैंकको घोषणा थियो ।

तर कोरोना महामारीका कारण ढिलाई भएर गत वर्षदेखि लागू भएको थियो । लागू भएसँगै वाणिज्य बैंकहरुले आफ्नो कूल पूँजी कोषको ०.५ प्रतिशत रकम अतिरिक्त कोषका रुपमा राखेका थिए । गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणमा यो कोषमा बैंकहरुले ०.५ प्रतिशत अतिरिक्त पूँजी राखेका थिए ।

बैंकहरुमा पूँजी पर्याप्तताको अभावमा लगानीयोग्य रकम नभएको समयमा चलाउनेगरी निश्चित रकम यो नाममा छुट्याइन्छ । जसले बैंकमा लगानीयोग्य रकम नहुँदा अर्थतन्त्रमा गतिहिनता कायम नगर्ने गरी सो रकम लगानीका लागि झिक्न सकिन्छ । यहीकारण केन्द्रीय बैंकले काउन्टर साइकल बफर लागू गरेको थियो ।

अब यो साउनदेखि काउन्टर साइकल बफर शून्यमा झरेपछि बैंकहरुमा लगानीयोग्य रकम कम्तिमा १ खर्ब ५० अर्ब रुपैयाँ बढ्ने अनलराज भट्टराई बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘साउनदेखि लागू हुनेगरी ८१/८२ का लागि शून्य गरेको छ ।’

यसअघि वाणिज्य बैंकहरुले ८०/८१ मा बफर व्यवस्थाबमोजिम असार मसान्तमा ०.५ प्रतिशत अतिरिक्त पूँजी कायम गर्ने व्यवस्था थियो । अब २०८१/८२ को कूल पूँजीमा गत वर्ष राखिएको ०.५ प्रतिशत अतिरिक्त कोष नराख्दा हुन्छ ।

बैंकहरुको कूल पूँजी साढे ३०० अर्ब हाराहारी छ । यसको ०.५ प्रतिशतका दरले १५ अर्ब रुपैयाँ अतिरिक्त कोषमा छुट्याउन नपर्ने भएको छ । यो रकम सरदरमा ८ गुणासम्म कर्जा प्रवाह हुन्छ । जसबाट १५० अर्ब रुपैयाँभन्दा बढी रकम लगानी हुन सक्छ ।

हाल वाणिज्य बैंकहरुमा ५ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । लगानीयोग्य रकम झनै थुप्रिँदा बैंकहरुको ब्याजदरसमेत घट्दो अवस्थामा छ । यतिबेला ब्याजदर ३० महिना यता निरन्तर घटेर एकल अंकमा आइसकेको छ ।

तर पनि बजारमा कर्जा विस्तार बढ्न सकेको छैन । यसअघि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई जोगाउन लिएको कडा नीतिका कारण व्यवसायीले अनावश्यक दुःख पाएका थिए । सोही समयमा व्यवसायीहरुले बैंकहरुले निरन्तर दुःख दिन थालेपछि माइतीघर लगायत देशभरमा आन्दोलन नै गरेका थिए ।

सो समयमा पूर्वका उद्योगी–व्यवसायीको नेतृत्वमा माइतीघरमा बैंकविरुद्ध आन्दोलन भएको थियो । यस्तै राष्ट्रिय व्यवसायी महासंघ लगायतका संस्थाले समेत आन्दोलनको नेतृत्व गरेका थिए । सोक्रममा भाषण गर्दै व्यवसायीले अवस्था सामान्य भएपछि बैंकबाट ऋण लिनै बन्द गर्ने सम्मको चेतावनी दिएका थिए ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल बैंकले कोरोना महामारीको समयमा व्यवसायीलाई अनावश्यक दुःख दिँदा बैंकबाट ऋण लिन व्यवसायीले नचाहेको बताउँछन् । सो समयमा बैंकले दिएको दुःखका कारण सानाठूला गरी सबैखाले व्यवसायी प्रताडित बनेका थिए ।

कयौं व्यवसायीले सडकमा नै पेट्रोल छर्केर आत्मदाह समेत गरेका थिए । यीनै कारणले बैंकबाट अहिले सस्तोमा ऋण लिएपनि भावी दिनमा स्थिती नाजुक बन्दा ब्याज स्वस्फूर्तरुपमा बढाउँदै लैजाने जोखिम रहेको व्यवसायीको भनाई छ ।

कर्जा अनुत्पादक क्षेत्रमा परिचालित हुँदा कूल गार्हस्थ उत्पादनमा योगदान गर्दैन । जसकारण तरलता न्यूनीकरण गर्ने लक्ष्यसहित काउन्टर साइक्लिकल बफर लागू गर्छ । जसलाई चालू आर्थिक वर्षको साउन महिनादेखि लागू हुने गरेर शून्य गरिएको छ ।