७० लाखको लागतमा छाब्दीवाराही मन्दिरको पुनर्निर्माण

७० लाखको लागतमा छाब्दीवाराही मन्दिरको पुनर्निर्माण


तनहुँ – व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर ७० लाख रुपैयाँको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।

एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्ठापन गरिएको छ । मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २४ लाख सहयोग गरेको छ भने कोषले ४६ लाख रुपैयाँ लगानी गरेको छ ।

छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ । मन्दिर बाहिर खोलामा हजारौँ माछा छन्। मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् ।

यहाँ साउन, एकादशी र औँसीबाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दीवाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति छ ।

यो मन्दिर दमौली बजारबाट सात किलोमिटर टाढा छ । मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।