काठमाडौं – शेयर बजार ‘बुलिस ट्रेण्ड’मा जाँदा यसबापत राज्यलाई हुने आम्दानी समेत बढ्न थालेको छ । असार १७ गतेदेखि उकालो लाग्न थालेको शेयर बजारबाट राज्य कोषमा जम्मा हुने ‘क्यापिटल गेन ट्याक्स’ बढेको हो । त्यसयता परिसूचक र कारोबार रकम निरन्तर बढ्दो अवस्थामा छ ।
साउन महिनामा सरकारले ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ क्यापिटल गेन ट्याक्स पाएको छ। सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार साउन महिनामा मात्रै ४ अर्ब रुपैयाँभन्दा बढी कर राज्य कोषमा संकलन भएको हो । लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले साउनमा ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी कर उठेको बताए । उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भने, ‘असार महिनाको तुलनामा साउनमा राजश्व बढेको छ । भदौको तथ्यांक अपडेट हुँदैछ ।’
असार १७ गतेदेखि बढ्न थालेको शेयर बजार त्यसयता निरन्तर बढेको छ । सो समयमा २ हजार अंक आसपास रहेको शेयर बजार परिसूचक यतिबेला ३ हजार अंकको नजिक पुगेको छ । यस्तै, दैनिक २९ अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको छ । बजारमा प्रवेश गर्न चाहने लगानीकर्ता बढ्दै जाँदा कारोबार रकम बढ्न थालेको हो । तथ्यांकले पछिल्लो १ महिनायता निरन्तर १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइरहेको देखाउँछ । कारोबार बढ्दै जाँदा लगानीकर्ताले पाउने नाफा समेत बढ्छ ।
फलस्वरुपः शेयर किनबेच गर्दा लाग्ने कर समेत बढ्ने गर्छ । हाल कुनैपनि शेयर १ वर्ष (३६५ दिन)भन्दा बढी कारोबार हुन्छ भने त्यसको नाफामा ५ प्रतिशत क्यापिटल गेन ट्याक्स लाग्छ । यस्तै, एक वर्षभन्दा न्यून समयमा बेचेमा ७.५ प्रतिशत कर लाग्ने प्रावधान छ ।
शेयर लगानीकर्ता छोटेलाल रौनियार शेयर बजारमा कारोबार बढ्दै जानु अर्थतन्त्रका लागि सकारात्मक पाटो भएको बताउँछन् । बैंकिङ समाचारसँगको कुराकानीमा भन्छन्, ‘कारोबार बढ्दै जाँदा नाफा कमाउने लगानीकर्ता बढ्छन् । जसबाट राज्य कोषमा जम्मा हुने करको सीमा समेत बढ्छ ।’
यस्तै ,नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी समेत शेयर बजारको पहुँच बढ्दै जाँदा कारोबार रकम बढ्ने बताउँछन् । जसबाट राज्य कोषमा संकलन हुने रकमको सीमा समेत बढ्छ र समग्र अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना सरकारले ९६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो । साउन महिनाको अन्तिमसम्मको अवधिमा सो रकम बराबरको राजश्व संकलन गरेको थियो । यसमा शेयर बजारतर्फको योगदान ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी थियो ।
यतिबेला सरकार नै शेयर बजारमा उत्साह फर्काउन लागि परेको छ । प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म शेयर बजार बढ्नुपर्ने बताउँदै आइरहेका छन् । उनीहरूले प्रतिनिधिसभाको संसददेखि विभिन्न भेटघाट तथा कार्यक्रमहरूमा शेयर बजारमाथि सकारात्मक प्रतिक्रिया दिँदै आइरहेका छन् ।
नेपाल राष्ट्र बैंकले समेत वर्तमान सरकारको शेयर बजार बढाउने चाहना बुझेको छ । सोही कारण, संस्थागत लगानीकर्ताका लागि कायम २० करोडको शेयर धितो कर्जा सीमा हटाइदिएको छ । यस्तै, ५० लाख रुपैयाँभन्दा न्यून कर्जाको ‘रिस्क वेटेज’ समेत घटाएको छ । यसबाहेक यतिबेला बैंकहरुमा ६ खर्ब रुपैयाँ बराबरको लगानीयोग्य रकम छ । यस्तै, ब्याजदर समेत पछिल्लो ३ वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ । सोही कारण बजारमा संस्थागत लगानीकर्तादेखि सर्वसाधारण र वैदेशिक रोजगारीमा गएकाहरूले समेत पैसा लगाउन थालेका छन् ।
यसकारण आगामी दिनमा ‘क्यापिटल गेन ट्याक्स’ झनै बढ्ने सम्भावना देखिन्छ । शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुलेल शेयर बजारमा सबै सूचक सकारात्मक रहेको बताउँछन् । ‘यतिबेला सबैजसो सूचक सकारात्मक छन्,’ बैंकिङ्ग समाचारसँग भन्छन्, ‘यसबाट बजार सही दिशामा रहेको दर्साउँछ ।’ यद्यपि बजार निरन्तर बढ्न थालेसँगै जोखिम समेत बढ्न थालेको छ । वित्तीय सूचक नकारात्मक भएका केही कम्पनीको शेयर मूल्य निरन्तर बढ्दा नयाँ लगानीकर्ता जोखिममा पर्ने सम्भावना बढेको हो ।
यसबारे पूर्व अर्थमन्त्रीहरू र प्रतिनिधिसभाका सांसद लगायतले आवाज उठाइरहेका छन् । पूर्वअर्थमन्त्रीद्वय डा. प्रकाशशरण महत र वर्षमान पुनले यसबारे बोलेका थिए । यस्तै सांसद डा. अमरेशकुमार सिंहले समेत वर्षौदेखि लाभांश नदिएका कम्पनीको शेयर मूल्य बढ्दा जोखिम बढेको बताउँछन् ।
प्रतिक्रिया