शेयर बजारलाई चाहिने सबै सूचक सकारात्मक छन्, घट्नुपर्ने कारण छैन : छोटेलाल रौनियार

शेयर बजारलाई चाहिने सबै सूचक सकारात्मक छन्, घट्नुपर्ने कारण छैन : छोटेलाल रौनियार

‘धितोपत्र बोर्डले बजारको चलखेल नियन्त्रण गर्नुपर्छ’


काठमाडाैं – असार १७ गते राती नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सम्झौता भएसँगै शेयर बजार उकालो यात्रामा छ । २ हजार अंक आसपास रहेको बजार ३ हजार अंकको बिन्दु छोइसकेको छ । यस्तै, दैनिक २ अर्ब रुपैयाँभन्दा तलको कारोबार रकम बढेर ३० अर्ब नजिक पुगेको छ । यस्तो अवस्थामा शेयर बजारका लागि महत्त्वपूर्ण मानिने ब्याजदर झन्डै ३ वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ भने बैंकमा पर्याप्त तरलता छ । यही विषयमा शेयर बजारमा विगत डेढ दशकदेखि सक्रिय रहेका लगानीकर्ता तथा शेयर विश्लेषक छोटेलाल रौनियारसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंश:–

हुन त तपाईँको मुहार सधैँ हँसिलो देखिन्छ । तर पनि यति बेला छुट्टै चमक आएजस्तो देखिन्छ । बजार बढ्दाको प्रभाव हो ? बढेपछिको खुसी नै छुट्टै हुन्छ होला नि, हैन ?

शेयर बजार बढ्दाको चमक हुन्छ नै । बजार बढ्दा बढी खुसी लागिनै हाल्छ । तर, मेरो अनुहारमा बजार घट्दा र बढ्दा यही अनुहार हुन्छ । किनकि बजारको काम नै घटबढ गर्नु हो । यही नै बजारको सुन्दरता हो । घटबढ भइरहने बजारमा लगानीकर्ताले कमाउने हो । कहिले गुमाउने र कहिले कमाउने हो । यो बजारमा तनाव लिएर कामै छैन । मैले डेढ दशकको अवधिमा ४/५ वटा बुल र बियर देखिसकेको छु ।

यसको अर्थ घटबढ भइरहने बजारमा दुःखी बनेर वा तनाव लिएर काम छैन, हैन त ?

हो । बजारमा अनावश्यक तनाव लिन जरुरी छैन । कहिलेकाहीँ लगानीकर्ता शेयर फाल्ने र हुत्ताइदिनेसम्म भन्छन् । तर, शेयर भनेको लक्ष्मी हो । टोपी लाइदिने समेत भन्छन् । तर मलाई अचम्म लाग्छ । हामी उद्यमी व्यवसायी हो । हामीले यो क्षेत्रलाई र आफूले गरेको लगानीलाई ‘रेस्पेक्ट’ गर्नुपर्छ । सुरुसुरुमा चाहिँ मलाई पनि तनाव हुन्थ्यो । तर, त्यसयता मैले लामो अनुभव लिएपछि अहिले कुनै समस्या छैन ।

अनुहारमा चमक आउने–नआउने एउटा पाटो भयो । तर गरेको लगानी डुब्दा चाहिँ रातभर निद्रा नलाग्नेजस्ता समस्या त भोगिन्छ नै, कि यसो पनि हुँदैन ?

म लगानीकर्तालाई क्लास पनि लिन्छु । कलेज, हाउसवाईफ, विद्यार्थी र देशबाहिर पुगेकालाई पनि म शिक्षा दिन्छु । त्यसक्रममा ‘मिडीयम लङटर्म भ्यालू इन्भेष्टमेन्ट कम्पाउण्डिङ रिर्टन्स’ भनेर क्लास लिन्छु । यो मेरो लगानीको योजना वा सूत्र हो । तर, यो सल्लाह लिएर पनि घाटा खाने र मलाई धन्यवाद दिने पनि छन् । जसले घाटा खाएका छन्, उनीहरूले मेरो लगानीको राजलाई राम्रोसँग नबुझेर समस्या आएको हो ।

बजार ३२ सयमा हुँदा मिडियम लङटर्म भन्ने हुँदैन । किनकि यो नेपाली शेयर बजारको सबैभन्दा उच्चतम बिन्दु थियो । तर, घट्दो बजारमा १८ सय नै अन्तिम गिरावटको बिन्दु भन्ने पनि थाहा हुँदैन । तर, परिसूचक १८ सय आसपास घुमेपछि जुनसुकै बेला बजार बढ्न सक्छ भनेर सोच्नुपर्छ । शेयर शिक्षा दिँदा गाली पनि गर्ने, सुझाव पनि लिने गर्छन् । त्यसता लगानीकर्तासँग म टाढा बस्छु । मेरो सूत्रमा बसेर लगानी गर्दै जाँदा बोनस शेयर आउँछ, नगद लाभांश पनि आउँछ ।

यतिबेला बजार १८ सय अंकदेखि २ हजार अंकको बिन्दुबाट बढेर ३ हजार अंकको बिन्दु आसपास पुगिसकेको छ । यस्तो अवस्थामा लगानीकर्तामा प्रत्येक मिनेट, घण्टा वा दैनिक पोर्टफोलिया बढ्यो वा घट्यो भने नमजा लाग्छ । तपाईँको अनुभव सुनौँ न ।

म मेरो पोर्टफोलियो बिहीबार बजार सकिएपछि प्रिन्ट निकालेर मात्रै हेर्छु । हप्तामा एक पटक मात्रै पोर्टफोलियो हेर्छु । म त्यही क्रममा शेयरको मूल्य घटबढबारे अध्ययन समेत गर्छु । पोर्टफोलियो बढ्दा पक्कै पनि खुसी त भइहाल्छ । तर यसका लागि आफूले अध्ययन गर्नपर्छ ।

अब यति बेला चाहिँ बजार एकदमै बढेको छ । कारोबार रकमले बढ्दो बजारलाई साथ दिइरहेको छ । यति बेला सबै लगानीकर्ता प्रोफिट बुक गर्ने र बाहिर निस्कने गरिरहेका छन् । तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ ?

म यति बेला इनभेष्टमेन्टसहित ट्रेडिङ पनि गर्दै छु । बजार बढेको समयमा कुनै शेयर बेचेर अर्को स्क्रिप्टमा सारेको छु । मैले ७० प्रतिशत इनभेष्टमेन्ट र ३० प्रतिशत ट्रेडिङमा छुट्याँउछु । ३० प्रतिशतले घर खर्च चल्छ र ७० प्रतिशत शेयर चाहिँ बोनस आउँदा बढ्दै जान्छ र नगद लाभांश पनि आइराख्छ ।

नयाँ लगानीकर्तालाई सुझाव दिँदा यो बजार प्रवेश गर्ने समय हो ? कतिपय लगानीकर्ताले चाहिँ घर खेतै बेचेर लगानी गर्ने समय हो समेत भन्न भ्याउँछन् ।

मैले चाहिँ यति बेला शेयरलाई गोडमेल गरिरहेको छु । यो समय कमाउने समय हो । बजार उकालो यात्रामा छ । २२ अर्बको कारोबार सपना लाग्थ्यो, यति बेला ३० अर्ब रुपैयाँ हाराहारीको कारोबार सुरु भएको छ । यो समय कमाउने, लगानी गर्ने र राम्रा कम्पनी थप्दै जाने समय हो । बजार २४ सय पुग्दा घट्छ, २६ सय पुग्दा पनि घट्छ र २८ सय पुग्दा पनि घट्छ भन्ने छन् । तर उनीहरूले भनेजस्तो बजार घटेन ।

हप्तामा डेढ खर्ब हाराहारीको कारोबार भइरहेको छ । एक महिनामा लगानीकर्ताले ४ अर्ब रुपैयाँभन्दा बढीको ‘क्यापिटल गेन ट्याक्स’ तिरिसकेका छन् । यसले बजार बढ्दो अवस्थामा देखाउँछ । यो स्थितिमा बजार उकालो लाग्दा कुनै पनि समय ३२ सय अंकको बिन्दु भेट्छ जस्तो लाग्छ । कति माथिसम्म जान्छ भनेर चाहिँ मैले भन्दिन ।

तर, यतिभन्दै गर्दा हाम्रो बजार स्थिर छैन । ३२ सय पुगेर १८ सय आउँछ, १८ सयबाट ११ सयमा झर्छ । यो बजार कहिलेबाट घट्ने भन्ने नै निश्चित नहुँदा जोखिम झनै बढ्दैन र ?

तपाईँले भनेको ठिक हो । नेपालको बजार स्थिर नै छैन । तर यो समय घट्नुपर्ने कारण नै देखिँदैन । किनकि, भूकम्प आयो, आकाश खस्यो भने त घट्ला । नत्र घट्ने सङ्केत मैले देखेको छैन । अहिले डिम्याट खाली गरेर गएका लगानीकर्ता पनि बजारमा फर्किएका छन् । नेपालबाहिरका ६०–७० लाख लगानीकर्ता पनि उत्साहित बनेर लगानी गरिरहेका छन् ।

कोरिया, जापान वा अमेरिकाबाट पैसा आइरहेको छ । एनआरएनले पनि आफन्तको माध्यमबाट लगानी गर्दै छन् । ठुला लगानीकर्ता आएका छन् र सर्वसाधारण पनि लगानी गरिरहेका छन् । यस्तै म्यूचुल फण्ड र बैंकहरुले पनि लगानी गरिरहेका छन्। यस्तोमा बजार बढ्ने आधार धेरै देखिन्छ ।