रेडपाण्डा संरक्षणमा दुई करोड बजेट खर्च गरिँदै

रेडपाण्डा संरक्षणमा दुई करोड बजेट खर्च गरिँदै


ताप्लेजुङ –संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङमा चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षणमा झन्डै दुई करोड रुपैयाँ खर्चने योजना बनाएको छ । रेड पाण्डा संरक्षण गर्न सो बराबरको बजेट खर्च गर्न लागिएको हो ।

हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार रेडपाण्डा नेटवर्कको सहयोगमा ४१ कार्यक्रम सञ्चालन गर्ने गरी एक करोड ९२ लाख ५५ हजार ८३३ रुपैयाँको बजेट विनियोजन गरिएको छ । यस बजेटले कर्मचारीको तलब, कार्यालय सञ्चालन, अनुसन्धान तथा अनुगमन, शिक्षा र जनचेतना, दिगो जीविकोपार्जन र पर्यापर्यटन प्रवर्द्धनजस्ता शीर्षकमा खर्च गरिनेछ।

हिमाली संरक्षण मञ्चले फुङलिङ नगरपालिका लगायतका क्षेत्रमा रेडपाण्डा संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रेडपाण्डाको संरक्षणका लागि मञ्चले वन अभिभावकको पुनर्ताजकी तालिम, अनुगमन ब्लकको पुनःरेखांकन, नियमित अनुगमन, सामुदायिक वनमा चोरी–सिकारी तथा चोरी–निकासीको अनुगमन, आवश्यक उपकरण खरिद र रेडपाण्डा बुलेटिन प्रकाशन जस्ता कार्यक्रम पनि सञ्चालन गर्ने राईले बताए ।

मञ्चले प्रमुख रेडपाण्डा बासस्थान भएका क्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने योजना बनाएको छ । यसैगरी रेडपाण्डा संरक्षण पुरस्कार वितरण, सचेतना बोर्डको स्थापना, वृत्तचित्र निर्माण, पोस्टर र पम्प्लेट छपाइ तथा रेडपाण्डाको आहारका बिरुवा उत्पादन गर्न नर्सरी निर्माणजस्ता कार्य पनि गर्न लागिएको छ । विसं २०७० मा भएको एक सर्भेअनुसार ताप्लेजुङमा एक सय ३४ रेडपाण्डा रहेको तथ्यांक हिमाली संरक्षण मञ्चसँग छ ।