महोत्तरी – आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् । राज्यबाट आफ्नै घरआँगनमा सेवा पाएपछि गौशाला, औरही, सम्सी र सोनमासहितका स्थानीयतहका बासिन्दाले गाउँमा नै सिंहदरबारबाट प्रवाह हुने सेवा प्राप्त गरेको अनुभूत गरेका हुन् ।
‘गाउँमै सिंहदरबार आएजस्तो भएको छ, जग्गा किनबेच, ऋण लिँदा गर्नपर्ने दृष्टिबन्धक र रोक्कासहितका काम अब घरकै खाना खाएर गर्न भ्याउने भइएको छ’, गौशाला–४ रजखोरका रिझन साह भन्छन्, ‘यसले निकै राहत भएको छ ।’ गौशालामा २०७८ साल वैशाखमा स्थापना भएको मालपोत कार्यालयले तीन वर्षपछि बल्ल गत सोमबारदेखि सेवा दिन थालेको हो ।
मालपोत कार्यालयले सेवा सुरु गरेपछि गौशाला नगरपालिकाका सुदुर दक्षिणपश्चिमी बस्ती फुलकाहा, मनरवा सोनमा गाउँपालिकाका मगरथाना, खैरबनी, सम्सी गाउँपालिकाका पर्सादेवाड, रघुनाथपुर र औरही नगरपालिकाका अगलेसरा, टिमकिया बस्तीका सर्वसाधारण लाभान्वित भएका छन् ।
भर्खरै सेवा सञ्चालन गरेको मालपोत कार्यालयले जनताका काम पनि शीघ्र सम्पादन गर्दा सर्वसाधारण मक्ख छन् । कर्मचारीले कानुनी अड्चन देखाउँदै ‘भोलि आउनू’ प्रवृत्ति परित्याग गर्दा आफूहरूलाई वास्तवमा नै गाउँमा सिंहदरबार आएको अनुभव भएको सोनमाको मगरथानाका रामविवेक राय बताउँछन् ।
विसं २०७८ वैशाख १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले गौशालामा मालपोत तथा नापी कार्यालय उद्घाटन गरेकाे पनि कार्यालयसम्बन्धी कागजात जलेश्वरका लेखापढी व्यवसायीले ल्याउन नदिएपछि सेवा सञ्चालन हुन सकेको थिएन ।
गौशालाका उद्यमी, व्यापारी र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले साउन २१ गते राति प्रहरी प्रशासनको सहयोगमा कार्यालयसम्बद्ध कागजात र अभिलेख जलेश्वर कार्यालयबाट ल्याइएपछि यहाँ सेवा सञ्चालनको वातावरण बनेको हो ।
गौशालामा कार्यालयसम्बद्ध मठस्रेस्तासहितका कागजात र अभिलेख ल्याइएको एक साताभित्रै मालपोत कार्यालयले सेवा दिन थालेको हो । ‘हामीलाई कार्यालयमा कागजात व्यवस्थित गर्न एक साता लाग्यो, अब सेवा दिन थालियो’ , कार्यालयका प्रमुख दीपेन्द्रकुमार झा भन्छन्, ‘टाढाका सेवाग्राही काम गरेरै फर्कन सकुन् भन्ने ध्येयले काम गरेका छौँ ।’ गौशालामा मालपोत कार्यालयसँगै नापी कार्यालयले पनि सेवा प्रवाह थालेको छ ।
प्रतिक्रिया