बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको संयोजकत्वमा यो साताभर ग्लोबल मनी वीक मनाइने भएको छ । राष्ट्र बैंकले यही चैत्र ७ गते देखि १३ गते सम्म ग्लोबल मनी वीक मनाउन लागेको हो ।
ग्लोबल मनी वीकको २०२२ को नारा ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट हुनुहोस् ’ भन्ने रहेको छ भने नेपालको स्थानीय नारा ‘ सिक्नुहोस्, बचत गर्नुहोस्, कमाउनुहोस् ’ रहेको नेपाल राष्ट्र बैंकले जनाकारी दिएको छ ।
ग्लोबल मनी वीकको उद्देश्य भनेको मानिसहरुको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यावहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउनुका साथै हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्न रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) को संयोजनमा संसारभरका १०९ देशहरुमा ग्लोबल मनी वीक मनाउँदै आइएको छ ।
नेपालमा पनि विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकको संयोजकत्वमा देशभरी ग्लोबल मनी विक विभिन्न कार्यक्रम गरी मनाइने छ । जस अन्तर्गत नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौँ उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतीहरू समावेश गरी सहकारी संस्थाका सदस्य, सेयर लगानीकर्ता, बीमक व्यक्ति र कलेजस्तरका विद्यार्थीलगायतलाई समेटेर वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने छ ।
यसका साथै काठमाडौँ उपत्यका बाहिरको कुनै एक जिल्लामा साना तथा लघु उद्यमी, वैदेशिक रोजगारीमा संलग्न युवा, शिक्षकरशिक्षिका र दैनिक ज्यालादारी समुहका व्यक्तिको सहभागितामा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरी ग्लोबल मनी वीक मनाउन भनेको छ ।
साता भरी नै विभिन्न कार्यक्रम गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट डिजिटल वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम आयोजना गर्न भूक्तानी प्रणाली विभाग मार्फत भुक्तानी प्रणाली अपरेटर र भुक्तानी सेवा प्रदायक एवं बैंक तथा वित्तीय संस्था नियमन विभाग मार्फत सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ समेतका आधारमा विभिन्न वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ ।
सर्वसाधारणलाई डिजिटल वित्तीय साक्षरता सम्बन्धी विषयमा चेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न एफएम रेडियो र राष्ट्रियस्तरका टेलिभिजनबाट सो सम्बन्धी चेतनामुलक अन्तरवार्ता प्रसारण गरेर ग्लोबल मनी वीक चैत्र ७ देखि १२ सम्म मनाइने छ ।
प्रतिक्रिया