‘शेयर बजार तासको महलजस्तो भएको छ’

‘शेयर बजार तासको महलजस्तो भएको छ’

अर्थमन्त्रालयमा पौडेल आउनसाथ बजार बढ्नुको कारण नै छैन

निकेश खत्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – साउन २१ गते प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही कम्पनीको नामै तोकेर शेयर मूल्य कृत्रिमरुपमा बढाइएको भाषण गरे । उनले नामै तोकेर ४ कम्पनीको शेयर मूल्य अत्याधिक बढाइएको भन्दै भाषण गरेपछि मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४५ अंक (अहिलेसम्मकै उच्च अंक)ले घट्यो । सदनमा भाषण गरेलगत्तै सिंहमाथि लगानीकर्ताले संस्थागतरुपमा विरोध गर्न थाले । लगानीकर्ताहरुको संस्थाहरुल सामूहिकरुपमा नै सिंहकोविरुद्ध विज्ञप्ती जारी गरेर माफि माग्न दबाब दिए ।

सांसद सिंह भने आफ्नो अभिव्यक्तीले सर्वसाधारणलाई ‘ट्र्याप’मा पर्नबाट जोगाएको बताउँदै आएका छन् । यस्तै आगामी प्रतिनिधिसभाको बैठकमा थप तयारीसहित थप खुलासा गर्ने तयारीमा लागिरहेको बताउँछन् । उनका अनुसार लगानीकर्ताले वित्तीय सूचक उत्कृष्ट नभएको कम्पनीको शेयर मूल्य ‘कर्नरिङ’ गरेर अस्वभाविकरुपमा बढाउँदै सर्वसाधारणलाई ठग्ने योजना बनाएका छन् । उनै सांसद अमरेश कुमार सिंहसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको संपादित अंशः–


प्रतिनिधिसभामा शेयर बजारमाथि टिप्पणी गरेपछि तपाईमाथि लगानीकर्ताको निरन्तर गाली आइरहेको छ । आराम हुनुहुन्छ कि छैन यतिबेला ?
पहिलो कुरा मलाई जनताले देशको हितका लागि निरन्तर खबरदारी गर्नका लागि चुनेर पठाएका हुन् । दोस्रो विषय यतिबेला सहकारीमा रकम जम्मा गर्ने लाखौं सर्वसाधारण रोइरहेका छन् । सहकारीमा कसैले साग बेचेर, कसैले दुध बेचेर थोरैथोरै जम्मा गरेका थिए । राज्य जवाफ दिने अवस्थामा छैन । मैले ४/५ वर्ष अघि यसबारे आवाज उठाएको थिए ।

राज्य सेवाप्रदायकको भूमिकामा होइन, नियामकको भूमिकामा बस्नुपर्छ । सेवाप्रदायकको भूमिकामा निजी क्षेत्र रहेपनि सरकार नियामकीय भूमिकामा रहनुपर्छ । नेपालमा नियामक संस्था र त्यसको मिलेमतोमा एकाधिकार गरिएको छ । यस्तो एकाधिकार शेयर बजार, व्यवसाय, उद्योग र भन्सारमा समेत एकाधिकार छ । तर शेयर बजारको चलखेलमाथि आवाज उठाउँदा निरन्तर गाली आइरहेको छ । मेरो शैक्षिक योग्यतामाथि प्रश्न उठाइरहेका छन् ।

उनीहरुलाई म चूनौती दिन्छु ती कम्पनीहरुको बूक भ्यालू’, लाभांस, प्रतिशेयर र एसेट कति छ । अघिल्लो पटक मैले ३ मिनेटमात्रै सदनमा बोलेको छु । अब आगामी सदनमा थप तयारी गर्दैछु । नेपालको सबैजसो व्यवसायीक क्षेत्रमा बिचौलिया छन् र उनीहरुले ती क्षेत्रलाई सञ्चालन गर्दै आइरहेका छन् । तर शेयर बजारमा सर्वसाधारणलाई फसाएर आफू मालामाल हुन पाइँदैन । त्यसको हामि चौकिदार हो ।

अब अलिकति तपाईले सदनमा केही कम्पनीको नाम नै तोकेर गरेको भाषणपछि आएको गाली सम्झौं न । कस्ता गाली आए ?

गाली एकदमै धेरै आएको छ । धेरै नराम्रा र अपाच्य गाली समेत आएका छन् । यसबाट नेपाल अहिलेपनि जंगली युगमा बाचिरहेको पुष्टी हुन्छ । पढेलेखेका मानिसहरु सबै खाडी गएका छन् । बंगलादेशमा पढेलेखेका युवा बसेर आन्दोलन गरे । नेपालका पढेलेखेका युवा देशमा नै बस्ने वातावरण छैन । शेयर बजारमा सर्वसाधारणलाई फसाउनका लागि ती लगानीकर्ताले ‘क्लब हाउस’ र सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् ।

गालीचाँही कसरी कसरी आयो ? फोन, म्यासेज र सामाजिक सञ्जालमार्फत ?

रातभर म्यासेज र फोनमार्फत गाली गरिरहेका छन् । म नचिनेको नम्बरबाट आएको फोन उठाइरहेको छैन । राती ११, १२ बजेसम्म पनि फोन आइरहेको छ । उनीहरुको काम नै रातभर ‘प्रोपोगान्डा’ र अर्को दिन मालामाल बन्ने भन्ने नीति छ । जसलाई हामि सजिलै बुझ्छौं । त्यो झुण्डले गरेको गालीबाट म डराउँदिन् । उल्टै मलाई शेयर बजारमाथि ज्ञान नभएको बताइरहेका छन् । तर उनीहरुले भन्नसक्नुपर्छ आफ्नो कम्पनीको बुक भ्यालू’, लाभांस र प्रतिशेयर आम्दानी कति छ भनेर ।

बजारमा यी सबै सूचक राम्रा भएका कम्पनीहरुको शेयर मूल्य बढेको छैन । तर कुनै पनि सूचक राम्रा नभएका कम्पनीको शेयर मूल्य भने बढेको बढ्यै छ । यतिबेला अर्थमन्त्रालयमा विष्णुप्रसाद पोडेल आउनसाथ बजार निरन्तर बढेको छ । तर यो अवधिमा अर्थतन्त्रमा कुनैपनि सुधार आइसकेको छैन ।

तपाईलाई बढ्दो शेयर बजारमा कम्पनीको मूल्यमाथि चलखेल भइरहेको छ र यसबाट सर्वसाधारण फस्नेवाला छन् भनेर कसरी थाहा पाउनुभयो ?

यतिबेला धेरैले कसैको पैसा लिएर मैले सदनमा बोलेको आरोप लगाइरहेका छन् । यस्तै आफ्नो शेयर मूल्य बढाउनका लागि समेत बोलिरहेको आरोप लागिरहेको छ । आजसम्म मैले एक कित्ता शेयर पनि किनबेच गरेको छैन । मेरो परिवारले पनि गरेको छैन । हामि जनताको शेवक हो, हामि शेयर कारोबारी होइन । एउटा हर्षत मेहताले भारतको अर्थतन्त्र डामाडोल पारेको थियो । यतिबेला नेपालमा १० वटा हर्षत मेहता छन् ।

त्यतीबेला म भारतमा पढिरहेको थिए । मेहताको मृत्यू जेलमा नै भएको थियो । त्यस्तै नेपालका मेहताहरुलाई पनि जेलमा हाल्नुपर्छ । सर्वसाधारण ठग्न पाँइदैन । म यो विषयमा जुनसुकै बहस गर्न तयार छु ।

यसको अर्थ तपाईले अहिले जुन विषय सुरु गर्नु भएको छ । यसलाई किनारा लगाएरै छाड्नुहुन्छ ?

मेरो बानि नै यही छ । कुनै विषयमा लागेपछि अन्तिमसम्म छाड्दिँन । म भगौडा होइन । कुनै पनि विषय म बुझेर मात्रै उठाउँछु । मैले शिक्षा, विद्युत महशुल, सहकारी र सरनार्थी काण्डको विषयमा मैले आवाज उठाएको थिए । अब यो विषय पनि उठाएको छु । म अब यो विषय किनार नलगाउँदासम्म कसैको धाक धम्कीबाट डराउँदिन ।

यसको अर्थ भोलीका दिनमा आइपर्ने सबैजसो चूनौतीका लागि तपाई तयार हुनुहुन्छ, हैनत ?

म यसै बोलेको नै होइन । यसै पनि बोल्दिन । यसअघि मैले भुटानी शरनार्थीको विषयमा समेत मैले बोलेको थिए । त्यसबेला मैले सदनमा कपडा फुकालेको फोटो जोडेर सामाजिक सञ्जालमार्फत प्रहार समेत गरे । लेखा समितिले कुलमान घिसिङलाई कारबाही गर्ने भन्दैगर्दा मैले बोलेपछि रोकियो । म बोल्दा प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका नेताले सम्म ध्यान दिन्छन् । शेयर बजारमा देखिएको एकाधिकार हटाएरै छाड्ने हो ।

राज्यले केही गरेन भने राज्यबारे खुलासा गर्ने हो । अहिलेका गर्भनर, अर्थमन्त्री र नियामकीय निकायको भूमिकामा रहेकाहरुको बारे पनि सदनमा बोल्ने हो । एउटै अन्तिम सत्य सर्वसाधारण ठग्न पाइँदैन । राज्यले सही ढंगले नियमण नगर्दा सर्वसाधारण ठगिने चलन बढ्दो छ ।

तर्पाइमाथि गरिएको ट्रोलको विषयमा सोध्ने वाला थिए । तपाईले आँफै विषय उठान गर्नुभयो । कपडा लगाएको फोटो र नलगाएको फोटो जोडेर हिजोको नेप्से र आजको नेप्से भन्ने मिम थियो । कस्तो लाग्यो त्यो देखेर ?

त्यो देखेर मलाई हाँसो लाग्यो । मिम बनाउने व्यक्तीको बौद्धिक्ता देखेर हाँसो लाग्यो । यतिबेला नेपालमा ‘क्रोनिक्यापिटलिजम’ भइरहेको छ । यसको सिकार आम जनता भइरहेका छन् । सर्वसाधारणले कमाएको दुई चार हजार रुपैयाँ ४ जना बिचौलिया मिलेर ठगिरहेका छन् ।

यतिभन्दै गर्दा शेयर बजार माग र आपूर्तिको भरमा घटबढ गर्छ । तपाईले सदनमा बोलेपछि विज्ञप्ति निकाले । तपाईका कारणले बजार १४५ अंकले घट्या भन्ने उनीहरुको तर्क छ ।

संघसंस्थाले देश बनाउने भए यतिबेला नेपाल धेरै माथि पुगिसक्थ्यो । म ‘ट्रेड युनियन’ र संघसंस्थाको विरोधी हो । समूह बनाउँदै राज्यलाई गलाउने नीतिको म विरोधी हो । लगानीकर्ताहरुले निकालेको विज्ञप्ती मैले पनि पढेको थिए । उनीहरुले ‘क्लब हाउस’मा शेयरबजार बारे बोल्ने अनुमति लिएका छन् ? सामाजिक सञ्जालमा सर्वसाधारण भ्रमित पार्ने लाइसेन्स लिएका छन् ? शेयर मूल्य अत्याधिक बढिरहेको कम्पनीको वित्तीय सूचक कस्ता छन् भनेर मैले सोधेको हो । शेयर मूल्य बढाएर सर्वसाधारण ठग्ने चाहना राखेका कम्पनीमाथि मेरो टिप्पणीले धक्का लागेकै हो ।

तर, मान्यज्यू । सार्वजनिक पद धारण गरेका व्यक्तीले सार्वजनिक स्थलमा बसेर कम्पनी नै तोकेर प्रतिक्रिया दिन नमिल्ने प्रावधान छ नि ?

नमिल्ने भए मविरुद्ध मुद्धा हाल्न पाउने प्रावधान छ । मैले यसअघि पनि मुद्धामामिला खेपेको छु । मैले अहिलेपनि एनसेलको मुद्धा सर्वोच्चमा खेपिरहेको छु । संसद जनताको हित संरक्षण गर्ने थलो पनि हो । म जनताले चुनेको नेपालको सांसद हो । म कुनैपनि बिचौलियाले चुनेको सांसद होइन ।

लगानीकर्ताका संघसंस्थाले तपाईको सो भाषणले २ खर्बको क्षती भएको र आर्थिक कारबाही नै गराउनुपर्नेसम्म बताएका छन्, हैन ?

ठिक छ । म यसका लागि तयार छु । सबै विज्ञलाई बोलाएर छलफल गरौं । म पटक–पटक भनिरहेको छु । शेयर बजारमा मैले लिएका कम्पनीको लाभांसको इतिहाँसबारे बताउन सक्नुपर्यो नि । नेपालमा आर्थिक अनुशासन छैन । म नेपाल सरकारलाई बारम्बार झकझक्याइरहेको छु वित्तीय अनुशासनका लागि । यो अहिले सिंहदरबारदेखि प्रदेश र पालिकासम्म पनि समस्याकारुपमा देखा परेको छ । यही विषयमा मैले आवाज उठाउने हो ।

तपाईले अघि अर्थमन्त्रालयमा पौडेल आउनसाथ बजार बढ्नुपर्ने कारण छैन भन्नुभएको थियो । यसबारे थप प्रष्ट्याइदिनुस् न।

यो अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको मिलिभगतमा बढाइएको बजार हो ।

त्यो दिन तपाई लगायत अन्य दुई सांसदले पनि प्रतिनिधिसभामा बोल्नु भएको थियो । त्यसैका आधारमा बजार यत्रो ठूलो अंकले घट्नुपर्ने होर जस्तो लाग्दैन ?

हो । यो शेयर बजार तासको महलजस्तो बनेको छ । एक दुई जनाले बोल्दैमा यसरी घट्ने बजारलाई दिगो र भरपर्दो भन्न सकिँदैन ।