काठमाडौं – यति बेला शेयर बजार ‘बुलिस ट्रेन्ड’मा छ। दुई ठुला राजनीतिक दल मिलेर सत्ता साझेदारीको सम्झौता गरेसँगै बढ्न थालेको शेयर बजारले रोकिने छाँट देखाएको छैन। नेपाली काँग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सम्झौता गर्नु पूर्व नै शेयर बजारका लगानीकर्ताले सूचना पाइसकेका थिए ।
असार १७ गतेमध्य राती एक व्यापारीको घरमा नेपाली काँग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सम्झौता गरेका थिए। तर, यसबारे सूचना पाइसकेका लगानीकर्तामा असार १७ गते दिउँसो नै उत्साही बनिसकेका थिए। सोही कारण असार १६ गतेसम्म निरन्तर घटबढ भइरहेको शेयर बजार परिसूचक १६ गते १६.२९ अंकले बढ्यो।
१७ गते मध्यरातमा भएको सम्झौताको प्रभाव १८ गतेको कारोबारमा स्पष्ट रुपमा देखियो। परिसूचकमा ४७ अंकको वृद्धि आयो। त्यसपछि अर्थ मन्त्रालयमा विष्णु पौडेल आउने चर्चा चुलियो र बजार झनै बढ्न थाल्यो। पौडेलले अर्थ मन्त्रालयको बागडोर सम्हालेको भोलीपल्ट अर्थात् साउन १ गते बजार ७० अंक बढ्यो । समग्रमा नयाँ सरकार बनेयता २३ कारोबार दिनमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ कारोबार दिनमात्रै घटेको छ। असार १६ गते परिसूचक २०३७ मा थियो, जुन आज २७६० अंकमा पुगेको छ। यो नयाँ सरकार बनेपछि आएको ७२३ अंकको वृद्धि हो।
राजनीतिक नेतृत्व नै उत्साही
काँग्रेससँगको साझेदारीसँगै प्रधानमन्त्री बनेका केपी शर्मा ओली नै शेयर बढ्न थालेपछि उत्साही देखिएका छन् । उनले साउन ६ गते विश्वासको मत लिँदै गर्दा शेयर बजारमा आएको वृद्धिबारे सम्बोधन गरेका थिए। ‘नयाँ सरकार बनेसँगै शेयर बजार बढ्न थालेको छ,’ उनले भनेका थिए, ‘अब शेयर बजार मात्रै नभएर सबै बजार चलायमान बन्छ।’
ओलीभन्दा अघि अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारबारे सम्बोधन गरिसकेका थिए। आफूलाई शेयर बजारमैत्री अर्थमन्त्रीको छवि विकास गर्न सफल पौडेलले कार्यभार सम्हाल्दै गर्दा पूँजी बजार अर्थतन्त्रको ऐना भएको बताएका थिए। पौडेलले विभिन्न व्यक्तिले शेयर बजारलाई जुवा घर भन्ने गरे पनि बास्तव अर्थतन्त्रको ऐना नै भएको बताउँदै आएका छन् ।
प्रधानमन्त्री र अर्थमन्त्री बाहेक पूर्व अर्थमन्त्री डा. प्रकाश सरण महतले समेत नयाँ सरकार बनेपछि शेयर बजारसहित समग्र अर्थतन्त्रमा सुधार आउन थालेको बताउँछन्। उनका अनुसार नयाँ सरकार बनेसँगै सर्वसाधारणमा उत्साह थपिएको छ र यसको प्रभाव शेयर बजारमा देखिएको छ। उनले विभिन्न मञ्चहरूमा भाषण गर्ने क्रममा शेयर बजारको वृद्धिलाई सम्बोधन गर्ने गरेका छन्। यसबाट शेयर बजारको वृद्धिबाट समग्र राजनीतिक नेतृत्व नै खुसी बनिरहेको देखिन्छ। काँग्रेस र एमाले मिलेर सरकार बनेपछि बढ्न थालेको शेयर बजारमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले समेत चासो देखाए। उनले साउन ११ गते सामाजिक सञ्जालमार्फत गभर्नर महाप्रसाद अधिकारीमाथि रीस पोखे ।
‘जति बेला शेयर बजारले प्रभावकारी रुपमा काम गरिरहेको थियो र ३२ सय अंकमाथि थियो,’ शर्माले लेखेका छन्, ‘राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा लगाएका कारण ओरालो धकेलियो ।’ तर त्यसपछि संस्थागत लगानीकर्ताका लागि पुर्याइएको २० करोडको सीमा पनि हट्दा खुसी लागेको शर्माको भनाइ छ। यस्तै, उनले गभर्नर अधिकारीलाई घुमाउरो तरिकाले आफूले विज्ञताको मर्म बुझेको समेत बताएका छन्। उनी अर्थमन्त्री भएकै समयमा राष्ट्र बैंकले शेयर बजारमा ४–१२ को नीति लिएको थियो। पछि त्यसलाई १५–२० को सीमा तोकियो र चालू आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत २० करोडको सीमा पनि हटाइयो।
ओली सरकारलाई गभर्नरकाे साथ
विगत लामो समयदेखि राष्ट्र बैंकको कडा नीतिका कारण अर्थतन्त्र चलायमान बन्न नसकेको उद्योगी–व्यवसायीको भनाइ छ । उनीहरूले सार्वजनिक स्थलमा नै अधिकारी गभर्नर बन्न लायक नरहेको बताउँदै आएका थिए। तर, प्रधानमन्त्रीका रुपमा ओली र अर्थ मन्त्रालयमा पौडेल आएपछि राष्ट्र बैंकको कडा नीति एकाएक लचिलो बनेको छ।
एमाले निकटका रुपमा रहेका अधिकारीले चालू वर्षको मौद्रिक नीतिमा प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल दुवैलाई खुसी बनाएका छन् । उनले शेयर बजारको व्यक्तिगततर्फको १५ करोडको सीमा यथावत् राखेर संस्थागततर्फको २० करोडको सीमा हटाइदिएका छन् । यसबाट शेयर बजारमा संस्थागत लगानीकर्ताले चाहे जति लगानी खन्याउन पाउँछन् र चाहे जति बजार बढाउन पाउँछन् ।
यसबाहेक मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार घटायो। यसअघि यो सीमासम्मको शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो। २० करोडको सीमा हटाउँदै ठुला संस्थागत लगानीकर्तालाई सहजीकरण गरेको राष्ट्र बैंकले ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार घटाउँदै साना लगानीकर्तालाई समेत खुसी पार्यो। यसले बजारमा सकारात्मक प्रभाव देखाउने नै भयो।
बढ्दै कारोबार रकम
शेयर बजार परिसूचक बढ्न थालेसँगै कारोबार रकम समेत बढ्न थालेको छ। असार १६ गतेतर्फ औसतमा ३–४ अर्ब रुपैयाँको कारोबार रकम बढेर आज झन्डै २२ अर्ब रुपैयाँ नजिक पुगिसकेको छ । यो नेप्से इतिहासमा नै अहिलेसम्मको सबैभन्दा उच्चतम कारोबार रकम हो । यसअघि २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता निरन्तर घट्दो अवस्थामा रहेको कारोबार रकम यति बेला फेरी बढ्न थालेको हो ।
असार ३१ गते अधिकतम ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । साउन १ गते बजार ७० अंकले बढ्दा ९ अर्ब १३ करोड रुपैयाँले परिसूचक बढेको थियो । त्यसयता भने दैनिक १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ। साउन २ गते १२ अर्ब, ३ गते १५ अर्ब र ६ गते १५ अर्ब रुपैयाँको कारोबार भएको थियो ।
त्यस यता निरन्तर रुपमा औसतमा १० अर्ब रुपैयाँभन्दा माथिको कारोबार भइरहेको छ। शेयर बजार बढ्दो यात्रामा पुग्न साथ सबैजसो लगानीकर्ताको प्रवेश हुन्छ र कारोबार रकम बढ्न थाल्छ। सोही कारण यति बेला ‘बुलिस ट्रेण्ड’मा रहेको बजारमा समेत उच्च कारोबार हुन थालेको हो ।
कहिलेसम्म बढ्ला बजार ?
शेयर लगानीकर्ता मुक्ति अर्याल नयाँ सरकार बन्नुभन्दा अघिदेखि नै ‘बुल’ सुरु भएको बताउँछन्। बैंकिङ्ग समाचारसँगको कुराकानीमा भन्छन्, ‘सामान्यतया परिसूचक २० प्रतिशतभन्दा माथि पुगेपछि बुल सुरु भएको मानिन्छ। तर मान्छेहरू मान्न तयार थिएनन् ।’ उनका अनुसार नेप्सेमा ४–५ महिना अघिदेखि नै उकालो यात्रा सुरु भएको थियो ।
‘अब परिसूचक यति नै पुग्छ भन्न सकिँदैन । तर यसअघिको उच्च बिन्दुको कीर्तिमान तोडिन सक्छ,’ अर्यालले भने, ‘३२ सयको कीर्तिमान तोडिने सम्भावना उच्च छ।’ हुन पनि यति बेला वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम ६ खर्ब रुपैयाँभन्दा बढी छ। यसबाहेक अर्थतन्त्रका सबैजसो बाह्य सूचक सकारात्मक स्थितिमा छन्। गत आर्थिक वर्षमा राजश्वको लक्ष्य नभेटिनु, बजेट घाटा कायमै रहनु र बजेट खर्च लक्ष्यबमोजिम हुन नसक्नुबाहेक बाह्य सूचक ठिकठाक अवस्थामा छन् ।






About Us
प्रतिक्रिया