धितोपत्र बोर्डको नीति तथा कार्यक्रम, अब ‘एआई’बाटै शेयर बजार अनुगमन

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम, अब ‘एआई’बाटै शेयर बजार अनुगमन


काठमाडौं – नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकता (एआई)बाटै शेयर बजारको अनुगमन तथा सुपरिवेक्षण गर्ने नीति ल्याएको छ। बोर्डले चालु आर्थिक वर्ष ०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याउँदै यस्तो घोषणा गरेको हो । बोर्डले शेयर बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गर्ने पनि बताएको छ।

यस्तै, सूचिकृत कम्पनी शेयरको हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। ​यसैगरी हरित वण्ड, उर्जा वण्ड लगायतका वित्तीय औजारहरुको निष्काशन तथा कारोबारको सहज एवं भरपर्दो व्यवस्था गर्न आवश्यक कानूनी व्यवस्था गरिने पनि बोर्डको भनाइ छ। ऋणपत्रको कारोबारका लागि छुट्टै बजार स्थापना गर्न अध्ययन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। ‘हरित वण्ड, उर्जा वण्ड जस्ता उपकरणको निष्काशन तथा कारोवारलाई सहजीकरण गर्न एकीकृति स्वचालित ऋणपत्र बजार संचालन व्यवस्था सम्बन्धी आवश्यक अध्ययन गर्ने र गराउने,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

हकप्रद शेयर र संस्थापक शेयरको लिलाम बिक्रीलाई व्यवस्थित गर्न स्वचालित लिलामी प्रणालीलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने पनि बोर्डको भनाइ छ। धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरको जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्ने पनि बताइएको छ। यस्तै, बोर्डको घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने पनि बताइएको छ ।

धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ्ग कम्पनी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, निक्षेप सदस्य र सामूहिक लगानी कोष तथा विशिष्टीकृत लगानी कोषहरुको कुल संख्याको कम्तीमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने बाेर्डले उल्लेख गरेकाे छ । साथै, बाेर्डले आफ्नै डाटा सेन्टर पनि स्थापना गर्ने भएकाे छ ।