सर्किट ब्रेक के हो ? किन रोकिन्छ शेयर कारोबार ?

सर्किट ब्रेक के हो ? किन रोकिन्छ शेयर कारोबार ?


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा दुई पटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेकाे छ। आइतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो। २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो। दोस्रो पटकको सर्किट ब्रेकपछि भने बजार समालियो ।

आइतबार बजार धेरै बढेका कारण सर्किट ब्रेक लागेको हाे। तर बजार बढ्दा मात्र सर्किट ब्रेक लाग्दैन। बजार धेरै घट्दा पनि सर्किट ब्रेक लाग्छ । शेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।

सर्किट ब्रेकर नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयर मूल्य तथा समग्र बजारको उतारचढावलाई नियन्त्रण गर्न अपनाएको एक विधि हो । कुनै कम्पनीको शेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशभन्दा बढ्ने वा घट्ने स्थिति भएमा सो कम्पनीको कारोबार थप बढ्न तथा घट्न सक्दैन र त्यही १० प्रतिशत भित्र रहेर कारोबार गर्न सकिन्छ।

अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ सालदेखि सर्किट ब्रेकको व्यवस्था गरेको छ । २०६४ अघि शेयर बजारमा एकैदिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो । यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा घट्न सक्दैन। समग्र बजारमामात्रै होइन सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरुमा समेत लगाएको छ । कुनै कम्पनीको शेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकर लगाइन्छ ।

एकैदिन कुनै पनि कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन सक्दैन । कुनै कम्पनीको शेयर मूल्य १ सय रुपैयाँ छ । यो कम्पनीको शेयर मूल्य ११० रुपैयाँको विन्दुमा पुगेमा सर्किट ब्रेकर लाग्छ। घट्दा पनि सोही किसिमले १० प्रतिशतबाट घटेर ९० मा झर्न सक्छ। तर एकैदिन एक सयबाट घटेर ८९ रुपैयाँमा झर्दैन। एउटा कम्पनीको मूल्यमा सर्किट लाग्दा अरु कम्पनीको कारोबार भने रोकिँदैन । कारोबार शुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ।