काठमाडौं – पछिल्लो समय उद्यम गर्ने युवाहरूको सहभागिता बढ्दै गएको छ। आफ्नै पुँजी, प्रबन्ध र नियन्त्रणमा आत्मनिर्भर भई उद्योग व्यवसाय सञ्चालन गरेर उद्यमशीलतामा नाम कमाएका उदाहरण हामीसँग प्रशस्त छन्। त्यसैमध्ये एक हुन सुबम घिमिरे। सुबम बुटवलमा र काठमाडाैंमा स्वादिलो मायाको अनुरूप ‘चियामाया बाट मिठो चिया पस्किरहेका छन्। चिया मायामा आफ्नै विभिन्न स्वादका चिया र ग्राहकले चाहेको अनुसार नै सबै खाजाहरू पनि तयार हुन्छ। नेपाली शब्द ‘चियामाया’ले चिया मन पराउनेहरुको नेतृत्व गरिरहेको जस्तो सुनिन्छ। ‘चियामाया’ मा धेरै थरीका चियाको स्वाद चाख्न पाइन्छ। जहाँ गाउँघरमा पाइने अर्ग्यानिक खाजाहरू, गाउँघरतिरको जस्तै सजावट परालको छानो ,वरिपरि बाँसको बार लगायतको दृश्यले गाउँघरको झल्को दिने मेटिन्छ।
‘२१ वर्षको उमेरबाट सुरुवात भएको व्यवसायिक यात्रा’
नेपाली समाजमा सरकारी जागिर भयो भने भविष्य राम्रो हुन्छ भन्ने सोच र सरकारी जागिरेलाई हेर्ने नजर नै फरक छ। कतिपय परिवारमा त सानैबाट सरकारी जागिरको नै सपना देखाइन्छ। सुबमको परिवारले पनि आफ्नो छोरालाई सरकारी जागिरको लयमा लाने अथक प्रयास गरिरहेको थियो । सुबमले पनि घरपरिवारको कुरालाई नकार्न नसकेपछि सरकारी काममा ध्यान दिन थाले तर विभिन्न कारणले सम्भव नभएपछि उनी १८ वर्षको उमेरमा आफ्नो व्यवसाय खोल्नेतिर केन्द्रित हुन् थाले ।
उनले धेरै खोजी पश्चात् बुटवलमा चिया होली भनेर सुरुवात गरे। जुन एकदम सफल पनि भयो। उनी भन्छन्,‘ चिया होली धेरै युवाहरूले मन पराएका थिए।’ यसैबीचमा मेरो भेट ‘द नेस्ट फास्ट फुड’ भन्ने टिमसँग भयो उहाँहरूको सहायतामा मैलै काठमाडौँमा ‘चियामाया भनेर सुरुवात गरे। जसको प्रतिफल एकदमै राम्रो छ। सरकारी काममा दौडधुप गरिरहेको अवस्थामा आफ्नो व्यवसाय गर्छु भनिरहँदा परिवारले सुरुवात दिनमा विश्वास नगरे पनि अहिले सबैले विश्वास गरिरहेको उनले बताए । आफ्नो व्यवसाय गर्छु भन्दा परिवार र समाजलाई मनाउन गाह्रो भएको सुबमको अनुभवले बताउँछ ।
‘१८ वर्षको उमेरमा आफ्नै केही गर्छु पैसा दिनुस् भनेर परिवारमा मनाउन गाह्रो भएको थियो। सरकारी अफिसमा केही गर्छ छोराले भन्ने आशा परिवारले राखेको थियो तर मलाई भने व्यवसायमा रुचि भएको कारण सुरुवातमा मनाउन गाह्रो भयो।’ उनले भने
‘चियामाया’को लोकप्रियताको कारण ’
हामी सबैको बिहान चियाबाट सुरुवात हुन्छ। प्राय जसोको रुचि भनेको कालो, लेमन र दूध चिया मात्रै ह । धेरैले यो भन्दा बढी स्वाद नचाखेका पनि हुन सक्छन्। तर चियामायामा भने हामीले सोचेभन्दा धेरैथरी चियाका स्वादहरू पाउन सक्छौँ । चियाको रोजाई बढेसँगै चिया पसल, होटल, रेस्टुरा एवं क्याफेको सङ्ख्या बढ्दो क्रममा छ। कतै भनेजस्तो चिया नपाइने, कतै सुहाउँदो वातावरण नहुने त कतै महँगो हुने पाइन्छ। तर त्यसमध्येमा चियामाया सबै वर्गको लागि उचित रहेको छ। सुबम भन्छन्,‘चिया खान महगों र सजावट ठाउँभन्दा पनि गाउँघरको जस्तो वातावरण भयो भने रमाइलो हुन्छ भन्ने मलाई लाग्छ ।’
विशेषत चिया मायामा घरकै स्वाद पाइने गाउँघरकै साधारण खाजाहरू पाइने भएको कारण नै सबैको रुचिमा परेको सुबमको भनाइ छ । ‘मम चाउमिन मात्र कति खाने भन्नेहरूको लागि चियामाया विकल्प हो ।’
विदेशिने विकल्प उत्पन्न हुनुको कारण युवाहरूले सुरुवात गर्न डराएर हो’
बैंक वा कुनै पनि सरोकारवाला कम्पनीहरूले स्टार्टप कम्पनीहरुलाई त्यति सहयोग वा जति गर्नुपर्ने हो त्यत्रो महत्व दिने नगरेको सुबमको अनुभवले बताउँछ। उनी आफ्नो काम सुरुवात गर्ने क्रममा पनि कुनै पनि बैंक वा सरकारी निकायसँग समन्वय नभएको बताउँछन् ।
साथै, पछिल्लो समय धेरै युवाहरू विदेशिरहेको अवस्था छ। यस्तो अवस्थामा सुवम भन्छन्, ‘धेरै युवाहरूले सुरुवात नगरेको भएर नै विदशिने विकल्प उत्पन्न भैरहेको हो ।’ उनले आफू पनि पहिलो व्यवसायबाट घाटामा जानुपरेको भए विदेशिनु नै पर्ने विकल्प रहेको उनले बताए। उनी भन्छन्,‘ सानो लगानीबाट सुरुवात गरिएको व्यवसाय त व्यवसाय नै होइन भन्ने धारणा छ जून एकदमै गलत हो, सबै युवाले काम सबै सानो ठुलो नभनी धैर्यता नगरी सुरुवात गरियो भने सबै सम्भव छ ।’
‘व्यवसायिक यात्रा रमाइलो यात्रा हो’
सुबम भन्छन्,‘व्यावसायिक यात्रा रमाइलो छ मैले १८ वर्षबाट सुरुवात गरेको हो अहिले २१ वर्षको उमेर सम्ममा धेरै कुराहरू सिक्न पाएको छु ।’मलाई यो यात्रा रमाइलो लाग्छ ।’ जिन्दगीमा अधि बढ्दै गर्दा विभिन्न चुनौती आए पनि एक पछि अर्को सफलताले परेको दुख पनि केही नलाग्ने उनको बुझाई छ । ‘सिक्दै अधि बढ्नु पर्छ’उनले भने ।
प्रतिक्रिया