आफैले खनेको खाडलमा आफै परे यी ३ क्यापिटल मार्केट्स

आफैले खनेको खाडलमा आफै परे यी ३ क्यापिटल मार्केट्स


काठमाडौं– केही समयअघि रिलायन्स स्पिनिङ्ग मिल्सले जारी गर्न लागेको आईपीओले बजारमा निकै चर्चा कमायो। चर्चाकै बीच विभिन्न निकायले प्रश्न उठाउँदा मिल्सको आईपीओ निष्कासन प्रक्रिया तत्कालका लागि रोकियो। संस्थाको आईपीओ रोकिएसँगै रिलायन्समा संस्थागत शेयरमा लगानी गरेका लगानीकर्ताको लगानी फसेको छ ।

कम्पनीले गत माघ १० गतेदेखि १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्रीमा राखेको थियो। १८ वटा संस्थागत लगानीकर्ताले कुल ११ लाख ७२ हजार ५८३ कित्ताका लागि १ अर्ब ६ करोड ९३ लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

आईपीओका लागि महंगो मूल्य तिरेका क्यापिटल मार्केटहरु भने हाल आफ्नो रकम फ्रिज भएको विषयमा चिन्तित देखिन्छन् । स्राेतकाअनुसार उनीहरुले साँठगाँठको आधारमा स्पिनिङ्गको आईपीओ इतिहासकै मंहगो मूल्य तिरेर किनेका थिए। बढी बाठो हुँदा आफूले खनेको खाडलमा आफै पर्नुपरेको बुझाइ आम लगानीकर्ताको छ।

यता रिलायन्स स्पिनिङ्गले बिजुलीको बक्यौता पौने २ अर्ब  तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले लाइन काटिदिएको थियो। त्योसँगै लगानीकर्ताले रिलायन्सले बक्यौता तिर्न आईपीओ जारी गरेको भन्दै थप विरोध समेत जनाइरहेका छन् ।

इतिहासकै पहिलोपटक ९१२ रुपैयाँ खर्चेर स्पिनिङ्गको आईपीओ किन्नेहरुमा सिद्धार्थ क्यापिटल, प्रभु क्यापिटल र कुमारी क्यापिटल छन् । साथै, ९१२ रुपैयाँका दरले आईपीओ किन्नेहरुमा नबिल स्टक डिलर लिमिटेड, कुमारी क्यापिटल लिमिटेड, कुमारी इक्विटी फण्ड, कुमारी सुनौलो लगानी योजना, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ प्रणालीगत लगानी योजना, सिद्धार्थ लगानी ग्रोथ, सिद्धार्थ क्यापिटल लिमिटेड, एस आर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, राष्ट्रिय फण्ड व्यवस्थापन लिमिटेड, कुमारी धनवृद्धि योजना, गौरव नेपाल इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, प्रभु सेलेक्ट फण्ड , प्रभु स्मार्ट फण्ड, नेपाल लाइफ क्यापिटल लिमिटेड, भेन्चर क्यापिटल प्राइभेट लिमिटेड रहेका छन्।

यी बाहेकका अन्य कम्पनीले भने ६०८ रुपैयाँदेखि ८९२ रुपैयाँसम्म खर्च गरेका छन् ।