भुक्तानी नदिएको धुर्मुस–सुन्तली फाउन्डेसनविरुद्ध मुद्दा 

भुक्तानी नदिएको धुर्मुस–सुन्तली फाउन्डेसनविरुद्ध मुद्दा 


चितवन – धुर्मुस–सुन्तली फाउन्डेसनले भुक्तानी नदिएको भन्दै चितवन रेडिमिक्स प्रालिले मुद्दा दायर गरेको छ। भरतपुर महानगरपालिका वडा नं–१६ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको थालनी गरी बीचमै अलपत्र पारेर छोडेको धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सामग्री लिएर रकम भुक्तानी नगरेको भन्दै चितवन रेडिमिक्स प्रालिले बिहीबार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

चितवन रेडिमिक्स प्रालिले धुर्मुस–सुन्तली फाउन्डेसनसँग तीन करोड ५६ लाख ४२ हजार १ सय १५ रुपैयाँ लिन बाँकी रहेको स्रोतको दाबी छ । धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेलसँग रकम भुक्तानीका लागि पटक–पटक चितवन रेडिमिक्स लगायतका निर्माण व्यवसायीहरुले रकम भुक्तानीका लागि बारम्बार आग्रह गर्दै आएका थिए ।

बिहीबार जिल्ला अदालतमा दायर गरिएको रिट निवेदनमा तीन करोड १५ लाख रुपैयाँको चेक दाबीसहित मुद्दा दायर गरेको स्रोतको भनाइ छ । फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ले जसरी पनि पैसा दिने बताए पनि लामो समयसम्म रकम नपाएपछि वाध्य भएर मुद्दा दायर गरेको स्रोतको दाबी छ।

फाउन्डेसनले झण्डै ३ अर्ब ५५ करोडको अनुमानित लागतमा भरतपुर–१६ मा रहेको रामपुर कृषि क्याम्पसको २० बिघा ६ कठ्ठा जग्गामा जनस्तरबाट आर्थिक संकलन गरी महत्त्वाकांक्षी योजनासहित भरतपुर महानगरपालिकासँग सम्झौता गरेको थियो ।

कोरोना महामारीका कारण अपेक्षाकृतरुपमा लगानी जुटाउन नसक्दा फाउन्डेसनले रङ्गशाला निर्माणलाई बीचमै छोडेर महानगरलाई हस्तान्तरण गरेको थियो । स्मरण रहोस्, निर्माण अलपत्र परेको रङ्गशालाको सम्पूर्ण स्वामित्व भरतपुर महानगरपालिकाले लिएर पुनः निर्माणका लागि टेण्डर प्रक्रिया सम्पन्न गरी ठेक्का लगाइसकेको छ ।