बीमाको ज्ञान : तेस्रो पक्ष बीमा र यसको फाइदा

बीमाको ज्ञान : तेस्रो पक्ष बीमा र यसको फाइदा


काठमाडौं – सडक र राजमार्गमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ। हरेक वर्षको तथ्याङ्क हेर्दा राजमार्ग क्षेत्रबाट सबैभन्दा बढि दुर्घटना हुने गर्छ। सवारी दुर्घटना हुँदा सवारी साधन वा त्यसमा सवार यात्रुहरु मात्र नभएर तेस्रो पक्षलाई पनि क्षति पुग्ने गरेको पाइन्छ। यस्तो अवस्थामा तेस्रो पक्षलाई पर्न गएको आर्थिक क्षतिको दायित्व सवारी धनीको हुन्छ। जुन सवारी धनीको दायित्व बीमा कम्पनीमा तेस्रो पक्ष बीमा गरि बीमा कम्पनीलाई हस्तान्तरण गरिन्छ। तेस्रो पक्ष बीमा त्यस्तो बीमा हो जहाँ सवारी चलाउँदा तेस्रो पक्षलाई क्षति पुग्दा सवारी धनीलाई उत्पन्न आर्थिक दायित्व बीमा कम्पनीले प्रदान गर्छ। तेस्रो पक्ष बीमामा सम्पत्ति क्षति भएको, व्यक्तिलाई चोटपटक, उपचार वा मृत्यु नै भएसम्म आर्थिक सहयोग प्रदान गर्ने गर्छ।

दुर्घटना हुँदा तेस्रो पक्ष घाइते भएमा अथवा मृत्यु भएको खण्डमा पनि बीमकले खर्च व्यहोर्ने गर्दछ। बीमा कम्पनीले तेस्रो पक्ष बीमामा बीमाङ्क रकम भने ५ लाख रुपैयाँ तोकेको छ। तसर्थ तेस्रो पक्षको सुरक्षाका लागि गरिने बीमा नै तेस्रो पक्ष अर्थात् थर्ड पाटी इन्स्योरेन्स हो । तेस्रो पक्षको बीमाले पीडितहरूलाई सम्पत्ति क्षति ,स्वास्थ्य क्षति बाट हुने आर्थिक क्षतिको क्षतिपूर्ति सुनिश्चितता प्रदान गर्दछ । बीमा एक कानुनी करार भएकोले यसमा कानुनी सर्तहरू पनि हुने गरेको पाइन्छ। तर चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको खण्डमा बीमाले कुनै पनि सुरक्षा प्रदान गर्दैन।


तेस्रो पक्ष बीमामा कानुनी सर्तहरू:
एउटा सवारी साधनको बीमा गर्दा सत्र सय पर्न जान्छ। यति रकम तिरेको अवस्थामा चालकको औषधि उपचार ३ लाख र मृत्यु भएमा ५ लाख सम्म र पछाडि बस्ने यात्रुलाई औषधी उपचार ३ लाख र मृत्यु भएमा ५ लाख सम्मको जोखिम रक्षावरण गर्ने गर्छ । त्यस्तै, तेस्रो पक्षको सम्पति क्षति भएको अवस्थामा २५ लाख सम्मको जोखिम रक्षावरण गरि दायित्वको क्षतिपूर्ति प्रदान गर्दछ । सत्र सयको तेस्रो पक्षको बीमा गर्दा भविष्यमा हुने सम्भावित आर्थिक क्षति कम गर्न सकिन्छ।


तेस्रो पक्ष बीमाको फाइदाहरू :
भविष्य सुरक्षित
बीमा गर्दा भविष्यको सुरक्षा हुने हुँदा यसले उज्ज्वल भविष्यका लागि सहायता प्रदान गर्दछ । तेस्रो पक्ष बीमाले भविष्यमा आइपर्ने जोखिममा सान्त्वना प्रदान गर्ने हुदाँ बीमितलाई केही हदसम्म राहत पुग्छ । बीमा गराउने कम्पनीले पनि पुर्नर्बीमा गर्ने भएकाले उक्त कम्पनी डुबेको अवस्थामा बीमा गर्ने व्यक्तिलाई कुनै पनि किसिमको हानि हुँदैन।

भविष्यमा हुने सम्भावित आर्थिक क्षति कम हुने
सवारी साधन चलाउँदा दुर्घटना भएको खण्डमा आर्थिक घाटा हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा तेस्रो पक्ष बीमाले केही हदसम्म आर्थिक घाटाबाट बचाउन मदत गर्दछ । साथै, तेस्रो बीमा गरेको खण्डमा दुर्घटना भएपछि पनि सवारी साधनलाई सुरक्षित बनाउने हुँदा सवारी धनीमा केही हदसम्म सुरक्षा प्रदान हुने गर्दछ।

आर्थिक दायित्व कम्पनीले बहन गर्छ
तेस्रो पक्ष बीमा गराउँदा दुर्घटना भएमा आर्थिक दायित्व कम्पनीले बहन गर्छ। जसले गर्दा सवारीधनी वा चालकले आर्थिक भार बेहोर्नु पर्दैन । दुर्घटना भएर घाइते भएका व्यक्तिको तीन लाख रुपैयाँसम्मको उचार खर्च बीमा कम्पनीले बेहोर्छ। यस्तो उपचार खर्च क्षतिपूर्तिको सिद्धान्तअनुसार कम्पनीले बहन गर्छ।

कानूनी औपचारिकता पूरा गर्न मद्दत
सरकारी नियमअनुसार बीमा गर्नै पर्ने प्रावधान छ। जस अनुरूप तेस्रो पक्ष बीमालाई अनिवार्य रुपमा लागू गरिएको छ। जस अनुरूप दुर्घटना पश्चात कानूनी औपचारिकता पूरा गर्न ठूलो मद्दत पुग्ने गर्छ। साथै, दुर्घटनापछि लाग्ने लागतमा समेत तेस्रो पक्ष बीमाले सहयोग गर्दछ।

बीमाबाट क्षति बहन
दुर्घटनाबाट घाइते भएका वा मृत्यु भएकालाई तेस्रो पक्ष बीमाले नै क्षतिपूर्ति प्रदान गर्दछ । यदि दुर्घटनाबाट तेस्रो पक्ष घाइते भएको छ भने उपचार खर्च बापत ३ लाख रुपैयाँ बीमाले व्यहोर्छ। यसका अलावा तेस्रो पक्षको मृत्यु भएको खण्डमा ५ लाख रुपैयाँ प्रदान गर्दछ।