उत्साहित लगानीकर्ता,पुँजी बजारको पक्षमा आउँला त मौद्रिक नीति ?

उत्साहित लगानीकर्ता,पुँजी बजारको पक्षमा आउँला त मौद्रिक नीति ?


काठमाडौं – देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ। साउनको पहिलो हप्ता आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने तयारीमा रहेको केन्द्रीय बैंक यतिबेला वित्तीय क्षेत्र, निजी क्षेत्र र सरकारवाला निकायहरूबाट सुझाव संकलन गर्ने काम सक्काएर लेखनमा जुटेको छ। मौद्रिक नीतिका लागि असार १६ गतेभित्र सुझाव मागेको राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रसँग अन्तरक्रिया समेत गरिसकेको छ।

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ भने अन्य वित्त क्षेत्रजस्तै पुँजी बजारका लगानीकर्ताहरू यसको व्यग्र प्रतीक्षामा छन्।  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले खासै उत्साह ल्याउन नसकेको पुँजी बजारमा मौद्रिक नीतिले भने नीतिगत रूपमा सकारात्मक छलाङ मार्ने आशामा लगानीकर्ताहरू बसेका छन्। नयाँ सत्ता समीकरणले उत्साहित भएका लगानीकर्ताहरूमा समय– समयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिलाई लिएर दिने गरेको टिप्पणीले थप उत्साह थपेकाे छ। जसकाे प्रत्यक्ष प्रभाव शेयर बजारमा पनि देखिरहेकाे छ।

गभर्नर अधिकारीले सार्वजनिक कार्यक्रममै आगामी मौद्रिक नीति केही हदसम्मको लचिलो ल्याउने संकेत गरिरहेका छन् त कहिले लचिलो मौद्रिक नीति सार्वजनिक गर्दैछ भनेर हल्ला भइरहेको बताउँदै त्यस्तो भविष्यवाणी नगर्न आग्रह गर्छन्। गभर्नरको अभिव्यक्ति जे जस्तो आएपनि पुँजी बजारमा भने राम्रै बहस सिर्जना भइरहेकाे छ। मौद्रिक नीतिको प्रतीक्षामा मात्र बसेका लगानीकर्ताहरूले राष्ट्र बैंकलाई पुँजी बजारको मागका विषयमा आधिकारिक रूपमै जानकारी पनि गराइसकेका छन् । बाँकी पुँजी बजारकाे मागमा राष्ट्र बैंकको ध्यान जान्छ कि जाँदैन भन्ने मात्र हो।

पुँजी बजारका लगानीकर्ताहरूले मौद्रिक नीतिले मार्जिन प्रकृतिको कर्जामा पछिल्लो आर्थिक वर्षमा गरिएको प्रत्यक्ष नियन्त्रणमुखी नीति अधिकतम १५/२० करोडको सीमालाई तत्काल हटाई पूर्ववत् कायम गर्नुपर्ने, धितोपत्रमा दिइने ५० लाखभन्दा माथिका मार्जिन कर्जामा रहेको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने लगायतका माग राख्दै आएका छन्। यस्तै, मार्जिन प्रकृतिको कर्जा दिने उद्देश्यका लागि गणना गरिने औसत मूल्य ६ महिनाको सट्टा ३ महिनाको औसत मूल्यमा गणना गर्नुपर्ने पनि उनीहरूको माग छ। २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका अधिकारी आगामी चैतमा पाँच वर्षे कार्यकाल सक्काएर बाहिरिँदै छन्। जसले गर्दा अन्तिम कार्यकालको मौद्रिक नितिमा उनले कस्तो छाप छाड्लान् भन्ने विषयले विशेष महत्त्व पनि राख्छ। ६० लाखभन्दा बढी लगानीकर्ता रहेका पुँजी बजारका लागि उनले कस्तो नीति लेलान् भन्ने चासो र चर्चाको विषय पनि बनेको छ। 

माैद्रिक नीतिलाई लिएर लगानीकर्ताहरू उत्साहित, सकारात्मक हुनुका साथै आशावादी छन्। मौद्रिक नीतिलाई लिएर आफूहरू निकै उत्साहित रहेको पुँजी बजारका लगानीकर्ताहरू बताउँछन्। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे यस पटकको मौद्रिक नीति खुकुलो आउनेमा आशावादी छन्। सत्ता समीकरणको तालमेल, गभर्नर स्वयमले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति लगायतका कारण मौद्रिक नीति पुँजी बजार लक्षित आउनेमा आफूँ ढुक्क रहेको पाण्डे बताउँछन्।  पाण्डे भन्छन्, ‘मौद्रिक नीतिमार्फत पुँजी बजारका मागहरु सम्बोधन हुनेमा ढुक्क छौँ। विगतमा जस्तो धोका हुँदैन भन्ने आशा छ। गभर्नर ज्यूले पनि सार्वजनिक कार्यक्रममा नीतिगत पहल गर्छु भन्नुभएको छ। हामीले दिएका सुझावहरू समेटिन्छन् भन्ने आशा छ। अझ सत्ता समीकरणले थप उत्साह थपेको छ।’ 

यता, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल पनि मौद्रिक नीतिलाई लिएर आफूहरू उत्साहित र आशावादी भएको बताउँछन्। फुल्लेलले गभर्नर अधिकारीको कार्यकाल अन्तिम चरणमा रहेकाले पुँजी बजारका लागि आत्मघाती रहेका नीतिहरू हटाउँदै सहज वातावरण बनाइदिनेमा विश्वस्त रहेको बताए । उनले भने,‘ हामी लगानीकर्ताहरू मौद्रिक नीतिको प्रतीक्षामा लामो समयदेखि छौँ, मौद्रिक नीतिले लोनको क्याप फ्री गर्ने, बैंक तथा वित्तीय संस्थालाई शेयरमा लगानी गर्न सहज वातावरण बनाइने दिने लगायतका पक्षमा सुधार गरी बजारले सकारात्मक गति लिनेमा आशावादी छौँ।’

भनिन्छ, नि संसार आशाकै त्यान्द्रोमा अल्झिएको छ। आगामी आवको बजेटको आशामा रहेका पुँजी बजारका लगानीकर्ताको आशा अब मौद्रिक नीतितर्फ मोडिएको छ। लामो समयदेखि खस्किएको पुँजी बजार र लगानीकर्ताको मनस्थितिमा मौद्रिक नीतिले आशाको किरण छर्न सक्ला त ?घट्दो क्रममा रहेको बैंकको ब्याजदर, सुधारोन्मुख अर्थतन्त्र, पुँजी बजार लक्षित खुकुलो मौद्रिक नीतिसँगै बजारले गति लिने  लगानीकर्ताहरूको, आंकलन यर्थाथमा  परिणत होला त ? त्यसको लागि भने मौद्रिक नीतिकै प्रतीक्षा गर्नुपर्ने हुन्छ।