राष्ट्र बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व हो : कार्यकारी निर्देशक पौडेल

राष्ट्र बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व हो : कार्यकारी निर्देशक पौडेल


काठमाडाैं – नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेलले नेपाल राष्ट्र बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व रहेको बताएका छन्। बैंकिङ्ग डिस्कोर्सको पहिलो सत्र ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँग अपेक्षा’ मा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनी भन्छन्,‘पछिल्लो समय रेमिट्यान्स डब्बल तरिकाले बढिरहेको छ। ८० बिलियन रेमिट्यान्स भित्रिने अवस्थामा हरेक महिना अहिले १०० बिलियन माथि नाघेको छ । कोभिड सहित आयात १३५ अर्ब थियो। आर्थिक मन्दीको कारण १५० अर्बसम्म पुगेको थियो जसले गर्दा केही हदसम्म तरलतामा फरक परेको थियो। तर अहिले तरलता व्यवस्थित छ। ’


निर्देशक पौडेलले नेपाल राष्ट्र बैंकले लिएको हालको नीतिले तरलतामा देखिएको समस्या समाधान गर्नमा प्रभावकारी भूमिका खेल्ने बताए। पौडेलले भने, ‘नेपालको बैंकिङ्ग क्षेत्र अधिक तरलता बढ्ने र घट्ने समस्याबाट गुज्रिरहेको छ। हाल राष्ट्र बैंकले लिएको स्वचालित प्रणालीले यो समस्या समाधान गर्न विशेष भूमिका खेल्ने हाम्रो अपेक्षा छ। ’ केन्द्रीय बैंकसँग हाल पर्याप्त तरलता रहेकाले २१ सय अर्बभन्दा बढी संकलन र ८ सय अर्ब बढी बजारमा पठाउँदै आएको उनकाे धारणा थियाे।

राष्ट्र बैंकले विगतको केही वर्षदेखि र अघिल्लो वर्षको मौद्रिक नीतिदेखि ब्याजदरको कोरिडोर गर्ने व्यवस्था लिएकाले अहिलेको ब्याजदरलाई निश्चितस्तरमा राख्ने व्यवस्था अवलम्बन गरेको उनले बताए। ‘अहिलेको मुद्रा मुद्रास्फीति ५.७६ छ। वैशाखको मुद्रा स्फीति ४.४ रहेको थियो। बैंकमा भएको तरलतालाई व्यवस्थित गर्न राष्ट्र बैंकले पोलिसी लिएको छ जसको कारण आगामी दिनमा तरलताको विषयमा समस्या देखिदैन‘ उनले भने।