काठमाडौं – जनसाङ्ख्यिक तथ्याङ्क विशेषज्ञ एवं पत्रकार चेतन अधिकारीले युवाहरू वैदेशिक रोजगारीमा जाँदा सरकार रोजगारी सिर्जना गर्नुपर्ने जिम्मेवारीबाट पन्छिएको बताएका छन् । दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को तेस्राे सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देश’ मा उनले सकारले वैदेशिक रोजगारीले सरकारलाई हाइसन्चो भएको देखिएको बताएका हुन् । पत्रकार अधिकारीले भने, ‘अहिले यो वैदेशिक रोजगारीले सरकारलाई हाइसन्चो भएको देखिन्छ । किनकि उसलाई थप रोजगारी सिर्जनाको दबाब छैन। मान्छे बेरोजगार भयो भने दुई चार दिन रोजगार पाइन्छ कि भनेर यतै घुम्छ नपाएपछि भिसा लगाएर खाडीमुलुक नै भएपनि जान्छन्। सरकारलाई नयाँ रोजगारी सिर्जना गर्न ठूलो दबाब सिर्जना भएको छैन। रेमिट्यान्स प्राप्त गर्ने घरपरिवार पनि अल्छी भएको जस्तो मलाई लाग्छ।’
उनले देश सम्बृद्ध गराउनु छ भने युवाहरूलाई वैदेशिक रोजगारीमा जान प्रोत्साहन होइन निरुत्साहित गर्नुपर्ने बताए। ‘वैदेशिक रोजगारी नीतिले रोकिने कुरा होइन। यो त व्यक्तिको मौलिक अधिकार पनि हो। बसूँ बसूँ लाग्ने वातावरण बनाउनुपर्छ’ उनले भने। अधिकारीले रेमिट्यान्स भित्रिएर मात्र हुन्न त्यसको बचत, उत्पादनशीलतामा ध्यान दिन पनि आवश्यक रहेकाे धारणा राखे। रेमिट्यान्सको सदुपयोग गर्नका लागि सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार निश्चित नीति बनाएर जानुपर्ने उनकाे भनाइ छ। ठुलो मात्रामा रेमिट्यान्स भित्रियो भने हाइड्रो लगायतका अन्य ठुला परियोजनाहरूमा लगानी गर्ने थोरै भए पनि सानै परियोजनामा लगानी गर्दा रेमिट्यान्सको सही सदुपयोग हुने उनले औँल्याए।
अधिकारीले भने, ‘अहिले हामी जनसाङ्ख्यिक दृष्टिकोणले लाभांशको चरणमा छौँ यो सधै रहँदैन। सन् १९९२ बाट सुरु भएको यो लाभांश २०४७ मा सकिन्छ। यसकाे मतलब करिब–करिब ५५ वर्षको समयावधि हामीसँग थियो । जुन समय हामीसँग पर्याप्त काम गर्न सक्ने युवा जनशक्ति थिए/ छन् । जसको अब ३० वर्ष यतिकै बिताइ सकियो।’ हाम्रो युवा जनशक्तिको फाइदा खाडी मूलुकले पाइरहेको छ।’ यस्तै हो भने अबको ३० वर्षमा नेपालमा बुढ्यौली उमेरमा प्रवेश गर्ने उनले औँल्याए ।
अधिकारीले भने,‘ हामीलाई समवृद्धितर्फ उन्मुख गराउने युवाहरूबाट खाडी मुलुकहरूले फाइदा लिइरहेका छन्। यसरी उनीहरूले फाइदा लिएको ३० वर्ष भइसक्यो अझै लिन्छन्। राज्यले रोजगारी नदिने,उद्योगहरू नखोल्ने हो भने हामीले थप घाटा ब्योर्होछौ। वैदेशिक रोजगारीकै कारण सम्बन्ध विछोड, बाझाेँपना लगायतका घटना बढेको छ। डिप्रेसन बढेको छ, बच्चाहरूले आफ्नो बुबा देख्न पाएका छैनन्।’
५० को दशकबाट नेपालीहरू बिदेसिने क्रम बढेको उनले बताए । वैदेशिक रोजगारले रेमिट्यान्सको साथै रोजगारीबाट फर्किएकाहरूबाट सीप पनि भित्र्याइरहेको छ । रेमिट्यान्सको नकारात्मक पक्ष मात्र नभई सकारात्मक पक्ष पनि भएको उनले औँल्याए । पत्रकार अधिकारीले भने,‘ रेमिट्यान्सले अर्थतन्त्रमा विशेष भूमिका खेलेको छ। गरिबी घटाएर जीविकोपार्जनमा गर्न ,शिक्षा , दिक्षा ,लालनपालमा पनि रेमिट्यान्सको विशेष भूमिका छ ।’
उनले भने,‘ वैदेशिक रोजगारीमा गएर काम गर्न नसक्ने भएपछि ५५/६० नेपाल फर्किन्छ। जसले गर्दा हाम्रो सामाजिक सुरक्षा पनि घट्दै जान्छ। जसकारण रेमिट्यान्सको केही प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गर्न आवश्यक छ। जसले गर्दा पछि उसको परिवारलाई,स्वयमलाई सहयोग गर्छ । ’
रेमिट्यान्सले व्यक्तिहरूको जीवनशैलीमा परिवर्तन हुँदै आएको उनकाे भनाइ छ। अधिकारीले रेमिट्यान्सकै कारण जनसाङ्ख्यिक दृष्टिकोणले पनि फेरबदल आएको बताए । पहाडबाट तराइ , तराइबाट सहरी क्षेत्रमा बसाइसराइ गर्ने क्रम बढेको छ जसकारण हिमाली क्षेत्रको जनसङ्ख्या क्रमशः घट्दो क्रममा रहेको उनले बताए । रेमिट्यान्सले हाम्रो समाजको आकार नै बदलिदिएको अधिकारीकाे धारणा छ ।
प्रतिक्रिया