काठमाडौं – नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनोज कुमार ज्ञवालीले वित्तीय साक्षरतामा लगानी/काम गरेको नै बैंक तथा वित्तीय संस्थाले दाबी गरेका छन् । नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को दोस्रो सत्र ‘वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’ लाई सम्बोधन गर्दै उनले वित्तीय साक्षरता कार्यक्रममा लोगो नै हेर्ने हो भने पनि राष्ट्र बैंक र बैंक वित्तीय संस्था मात्रै देखिने तर कहिँ पनि अर्थमन्त्रालयको लोगो नदेखिने दाबी गरेका हुन् ।
उनले बैंकरहरुलाई पनि वित्तीय साक्षरता आवश्यक पर्ने बताएका छन् । उनले निरक्षर ग्राहक ठगिदा आफुहरुलाई पनि पीडा हुने साथै विश्वास पनि घट्ने बताए । ज्ञवालीले बैंकमा मानिसले पैसा मात्र नभई विश्वास पनि जम्मा गर्ने उल्लेख गरे। उनले त्यहिँ विश्वास जम्मा गर्ने स्थिती सिर्जना गर्न नै वित्तीय साक्षरता प्रदान गर्ने कोशिस गरेको उल्लेख गरे । उनले बैंक खाता हुँदैमा वित्तीय साक्षर नहुने बताए ।
वित्तीय रुपले साक्षर हुँदैमा मानिस सहकारी र मिटरब्याजसँग पैसा नफसाउने भन्ने नहुने उनको तर्क छ । उनले बैंक तथा वित्तीय संस्थाले आम्दानीको ५ गुणा भन्दा बढि खर्च गरेको पनि बताए। उनले हामी लक्षित वर्गमा पुगेका छौ कि छैनौं भन्ने कुरा विशेष हुने भन्दै वित्तीय साक्षरता भनेको बैकिङ्ग बुझ्नु नभएको बताए। डिसीईओ ज्ञवालीले डिजिटल वित्तीय साक्षरतामा पनि आफूहरुले काम गरेको बताउँदै, गरेको जति काम प्रर्याप्त नभएको उल्लेख गरे। उनले वित्तीय साक्षरता पुरै भयो नै भने पनि अहिले भएका घटना मिटरब्याज, सहकारीका समस्या जस्ता कुरा रहि नै रहेने उल्लेख गरे।
उनले डाटाले देखाएजति वित्तीय रुपले साक्षर व्यक्ति नभएको उल्लेख गरे। उनको विचारमा ३० प्रतिशतभन्दा कम मानिस मात्रै वित्तीय रुपले साक्षर छन्। उनले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट फण्डहरु एकै ठाउँमा लिएर काम गर्नुपर्ने बताए। कनिका छरेको जसरी कसैले कहिँ कसैले कहिँ वित्तीय साक्षरताको कार्यक्रम गर्नभन्दा फण्ड संकलन गरेर काम गर्न सकिने उनको बुझाइ छ ।
डिसीईओ ज्ञवालीले बैंकलाई राज्य सम्झेको र सबै काम बैंकले नै गरिदिनुपर्ने भन्ने सोच राख्ने गरेकाे बताए । उनले कतिपय अवस्थामा विजनेश प्रमोशन र सिएसआरको खर्च एकैठाउँमा हुँदा नेपाल राष्ट्र बैंकले पटक पटक गाइड गर्नुपरेको अवस्था पनि रहिआएको बताए । उनले कतिपय ठाउँमा विजनेश प्रमोसन र सिएसआरको खर्च नछुट्टिने गरि काम भएको बताए । उनले नबिल बैंकले भने त्यसरी काम नगरेको पनि दाबी गरेका छन् । ज्ञवालीले वित्तीय साक्षरता मात्र नभई बैंकिङ्ग साक्षरता पनि पढाउने बुझाउने समय आएको धारणा व्यक्त गरेका छन् ।
उनले फण्ड कलेक्सन गरेर ठूला ठूला नेता देखि सामान्य जनतालाई पनि बैंकिङ्ग शिक्षा दिनुपर्ने बताए । उनले बैंकको जिम्मेवारी वित्तीय साक्षरता मात्रै नभई बैंकिङ्ग साक्षरता दिनु रहेको पनि उल्लेख गरे । उनले एउटा बैंकले मात्रै भन्दा समग्र क्षेत्र नै लागेर बैकिङ्ग साक्षरता बुझाउनुपर्ने बताए । डिसीईओ ज्ञवालीले फण्ड संकलन गरेर बैकिङ्ग साक्षरता बढाउन पनि बैंकरहरुलाई सुझाव दिएका छन्। उनले फण्ड पनि एक ठाउँमा र ज्ञान पनि एक ठाउँमा राखेर सबै लाग्नुपर्ने बताए ।
प्रतिक्रिया