काठमाडाैं– सानो उमेरमा सबैले सोध्ने प्रश्न हुन्छ – तिम्रो लक्ष्य के हो ? सानो उमेरमा यो प्रश्नले द्विविधा उत्पन्न गर्नु स्वभाविक हो । तर, वर्तमान परिपेक्ष्यमा आफ्नो क्षमताअनुसारको काम ठम्याउन नसक्ने युवाको जमात सानो छैन । अझै पनि आफ्नो लक्ष्य के हो र आफूसँग के सामर्थ्य छ, भन्ने कुरा अन्योलमै राखेर अघि बढिरहेका थुप्रै युवालाई देख्दा नेपालको भविष्यमा प्रश्न उठ्नु स्वभाविक हो ।
यो कटु यथार्थलाई चिर्दै आफ्नो लक्ष्यलाई निरन्तर पछ्याइरहेका दुई युवा हुन् साजन गोविन्द श्रेष्ठ र प्रसन्न कुमार जोशी । साजन र प्रसन्न मिल्ने साथी हुन् , जसले हस्तकलाको क्षेत्रमा नयाँपन ल्याउन ‘कायो’ को सिद्धान्तलाई अगाडि बढाएका छन् । उनीहरूले नेपालको सन्दर्भमा कला र संस्कृतिलाई नयाँपन दिलाउन र हस्तकलाको सुन्दरतालाई विश्वमा प्रस्तुत गर्न व्यावसायिक माध्यमबाट काम गरेका छन् ।
पछिल्लो समय उनीहरूले ‘कायो’ नाम दिएर व्यवसायीक सहकार्य सात वर्ष पूरा गरिसकेका छन् । दुई साथीको सहकार्यमा खुलेको कायो सबैले रुचाएका छन् । सानैदेखि सँगै पढेर अहिले पनि सँगै काम गर्दाको अनुभव सन्तोषजनक रहेको उनीहरूको बुझाइ छ ।
कायोले विशेषतः काठबाट बनेको सामान र विभिन्न संस्कृति झल्किने वस्तु उत्पादन गर्छ । यहाँ ग्राहकले आफ्नो रुचि अनुसारको सामान बनाउन सक्नेछन् । कायोको मुख्य विशेषता भनेको यसमा सबै युवा कला र संस्कृतिसँग लगाव राख्ने छन् । उनीहरू भन्छन्, ‘ कुनै पनि व्यवसाय सुरु गर्नु गाह्रो छैन तर त्यसलाई कसरी निरन्तरता दिने भन्ने कुरामा निर्भर हुन्छ । हाम्रो व्यवसायमा जोडिएका सबै युवाहरू यो कामप्रति लगाव राख्छन्, यो नै हाम्रो लागि सहायता हो।’
हरेक व्यवसाय गर्दा कुनै न कुनै चुनौती पक्कै हुने गर्छन् तर अहिलेको सन्दर्भमा जनशक्ति नै मुख्य चुनौती रहेको उनीहरूको बुझाइ छ । पछिल्लो समय युवामा केही गर्न सक्छु भन्ने जाँगर नरहेको उनीहरू बताउँछन् । वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांशको साझा गुनासो पनि यही हुन्छ । नेपालमा काम गर्ने वातावरण नै छैन भनेर युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित हुन्छन्, तर साजन र प्रसन्न यस विचारसँग सहमत छैनन् । उनीहरू भन्छन्, ‘सरकारले काम गर्न कसैलाई रोकेको छैन । वैदेशिक यात्राको लागि लाग्ने खर्चले नै अहिले स्वदेशमा सानो व्यवसाय सुरु गर्न सकिन्छ। मेहनत गर्याे भने यहीँ सबै सम्भव छ।’ नजिकको सम्भावनाको पछि नलागेर टाढाको भिडको पछि लाग्न नहुने उनीहरूको बुझाई छ।
व्यवसाय सञ्चालनका लागि अर्को प्रमुख चुनौती पुँजी भएको उनीहरूको बुझाई छ । बैंकहरूबाट नव उद्यमका लागि ऋण लिने प्रक्रिया जटिल भएको उनीहरूको पनि अनुभव छ। आफूले गरेको व्यवसायबाट ग्राहक सन्तुष्ट भएको र आफू यसैमा खुसी रहेको प्रति उनीहरू गर्व गर्दै भन्छन् ‘ जीवनको यो चरणमा सन्तुष्टमा छौँ र भविष्यप्रति आशावादी पनि’। उनीहरूले युवाहरूलाई देशमै केही गर्न सुझाउँदै भन्छन्, ‘कुनै पनि पेसा वा व्यवसायलाई सानो–ठुलो नमानी काम गरे लक्ष्य प्राप्तिमा कसैले तगारो हाल्न सक्दैन। केही गर्ने सोच हुनुपर्छ र धैर्यता राख्न सक्नुपर्छ। नेपालमै धेरै कुरा सम्भव छ।’
प्रतिक्रिया