केन्द्रीय बैंकको वित्तीय सन्देश : बैंक तथा वित्तीय संस्थाको आधारदर भनेको के हो ?

केन्द्रीय बैंकको वित्तीय सन्देश : बैंक तथा वित्तीय संस्थाको आधारदर भनेको के हो ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले  वित्तीय चेतनाका लागि मंगलबार एक सूचना निकाल्दै बैंक तथा वित्तीय संस्थाको आधादर सम्बन्धी जानकारी दिएको छ। वित्तीय चेतनाका लागि बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले निकालेको सन्देशमा आधारदरकाे विषयमा सामान्य जानकारीका साथै  हाल बैंकको आधारदर  कसरी गणना गर्नुपर्ने व्यवस्था रहेको छ भन्ने विषयमा जानकारी दिइएकाे छ।

बैंकद्वारा जारी सन्देशमा आधारको दरको विषयमा जानकारी दिँदै भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाको आधारदर भन्नाले मुख्यतः संस्थाको लागतको आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ। यो दर गणना गर्दा संस्थाले निक्षेप जस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत, राष्ट्र बैंकको नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता कायम गरेबापत लाग्ने लागत र सञ्चालन लागतलाई समावेश गरी प्रतिशतमा गणना गरिन्छ ।

’सन्देशअनुसार हाल बैंकको आधारदर गणना गर्दा कोष लागत, अनिवार्य मौज्दात लागत , वैधानिक तरलता लागत, सञ्चालन लागत (सबैं प्रतिशतमा) उल्लेख गर्नु पर्नेछ। साथै सन्देशमा आधारदर प्रत्येक महिना घटबढ हुन्छ र सोको जानकारी पत्रपत्रिका तथा सम्बन्धित बैंकको वेबसाइटमार्फत लिन सकिने जानकारी पनि दिइएकाे छ। बैंकले हालको व्यवस्थाअनुसार आधारदर गणना गर्दा नाफा वा प्रतिफल नजोडिने बताएकाे छ।