खेताला लगाउने प्रवृत्तिले दक्ष सर्भेयरको योग्यतामा प्रश्न, नियामकसँग जवाफ छैन

खेताला लगाउने प्रवृत्तिले दक्ष सर्भेयरको योग्यतामा प्रश्न, नियामकसँग जवाफ छैन


काठमाडौं– बीमा क्षेत्रमा सर्भेयरको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको हुन्छ। सर्भेयरले स्वतन्त्र रूपमा निरीक्षण गरेर बिमित, बीमक, बीमा कम्पनी तथा बीमा समितिलाई जोखिमको निष्पक्ष तथा यथार्थ मूल्यांकन उपलब्ध गरी  सहयोग गर्ने गर्दछन्। सर्भेयर संघ नेपालका वर्तमान अध्यक्ष मोहन पुरुष ढकालले बीमा क्षेत्रमा सर्भेयरको भूमिका प्रमुख हुने बताउँछन्। ‘बीमा क्षेत्रमा जोखिमको उचित मूल्यांकन गर्न दक्ष सर्भेयरहरुको आवश्यकता सँगै महत्त्वपूर्ण भूमिका हुन्छ ।’

ढकालका अनुसार हाल नेपाल को बीमा क्षेत्रमा चार किसिमका सर्भेयरहरु विद्यमान रहेको बताएका छन्। उनका अनुसार पहिलो पूर्ण रूपमा काम गर्ने सर्भेयर, दोस्रो फुर्सदको समयमा काम गर्ने सर्भेयर, तेस्रो अन्य काम पनि गरेर बिदाको दिन वा शनिबार मात्रै काम गर्ने सर्भेयर । उनी बीमा सर्भे क्षेत्रमा मौलाउँदै गरेको गलत प्रवृत्तिलाई इंगित गर्दै भन्छन्, ‘ चौथोमा आफू दक्ष सर्भेरको लाइसेन्स लिने अनि अन्य खेताला खोजेर काममा लगाउने सर्भेयर’ ।

बीमा क्षेत्रमा दाबी भुक्तानी सम्बद्ध विभिन्न प्रश्न उठिराख्दा  यो समस्या उठ्नुमा सर्भेयरहरुको दक्षतालाई लिएर समेत  प्रश्न उठ्न थालेको छ  । ढकालले बीमा क्षेत्रमा सर्भेयरहरुको क्षमतामा नै प्रश्न उठ्नुको मुख्य कारण आफूले लाइसेन्स लिएर लाइसेन्स नै नभएकालाई न्युन शुल्कमा खेताला लगाएर काम गराउने प्रबृत्ति रहेको बताउँछन् । यसले जोखिमको मूल्यांकनमा अविश्वास सृजन भई अब्बल  सर्भेयरको काम प्रति समेत  विश्वासनीयतामा कमी आउने परिस्थिति बन्न थालेको छ। 

अवैध सर्भेयरको कारण अब्बल सर्भेयरको कार्यक्षमतामा समेत  प्रश्न

‘सर्भेयर पेशाको महत्त्व नबुझ्ने केही त्यस्ता व्यक्तिहरूका कारण सर्भेयर पेशा नै बदनाम भएको छ ।’सर्भेयरहरुले निष्पक्ष निर्णय लिदैनन्, क्षतिको  सही आकलन गर्न सक्दैनन् भन्ने गुनासोमा यस्तै खेताला लगाएर आफू दक्ष सर्भेयर भएको पहिचान दिदैँ  हिड्नेहरुको कारण भएको  ढकाल बताउँछन् । 

साथै, कम्पनीले दावी दिदैँन भन्ने कुरामा केही हद सम्म यस्ता गैर जिम्मेवार सर्भेयरको कारण रहेको अध्यक्ष ढकालको भनाई छ। ‘सर्भेयर क्षेत्रलाई नै यस्तो खेताला लगाउने  प्रवृत्तिले  सर्भेयरको काममा विश्वसनीयता कम गरिदिएको छ । 

ढकालले पछिल्लो समय नियामकबाट दक्ष सर्भेयरको छनोटको लागि विभिन्न व्यवस्था गरिरहेको भए पनि त्यसले पूर्णता भने नपाएको ढकालको गुनासो छ । उनी भन्छन्,‘ अहिले नियम विपरीत रहेर काम गर्ने सर्भेयरहरूलाई जरिवानादेखि जेल सजायसम्मको प्रावधान बीमा प्राधिकरणले अघि बढाएको छ’,तर अझै पनि सर्भेयरको यस्तो कर्तुतलाई भने नियामकले निराकरण गर्न सकेको छैन’ ढकालले नियामकबाट तोकिएको प्रावधानहरूलाई कागजमा सीमित नगरी  कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका छन् ।

प्राधिकरणसँग उचित जवाफ छैन  

बीमा क्षेत्रमा नियम विपरित हुने जति पनि काम छ प्राधिकरण बाट नियमन गर्ने वा त्यस्ता काम विपरित एक्सन लिने गर्दछ । सर्भेयर क्षेत्रमा आफु लाइसेन्स लिने र सर्भेको काममा खेताला लगाउने प्रविधिमा   प्राधिकरण सँग पनि उचित जवाफ भने छैन । प्राधिकरणका निर्देशक राजुरमण पौड्याल भन्छन्, प्राधिकरणले  सर्भेयरको लाइसेन्स लिएकाहरूले मात्र सर्भे गर्न पाउने भनेर तोकेका छ  तर बजारमा सर्भेयरहरुले आफ्नो काम अरुलाई गर्न लगाउने गरेका हल्लाहरु सुनिरहेको बताउँछन् । उनी भन्छन्,‘हामीले लाइसेन्स भएका दक्ष सर्भेयरले मात्र सर्भे गर्न पाउने भनेर निर्देशन जारी गरेका छौ ’तर आफु काम नगरी अरुलाई नै त्यस काममा लगाउनेहरुलाई प्राधिकरण बाट कारवाहीको व्यवस्था पनि छ’ यदि सर्भेयरहरुबाट गलत काम भएको खण्डमा लाइसेन्स समेत खारेज हुने व्यवस्था रहेको उनले बताए । ‘खेताला लगाउने प्रबृत्ति  वा सर्भेयर बाट सहि निरिक्षण नभएको खण्डमा लाइसेन्स खारेज हुने छ ।’

प्राधिकरणले हाल सम्म यो बिषयमा कारबाही गरिएको कुनै तथ्य प्रस्तुत नगर्नु तथा यस्ता समस्याहरु पहिचान र निराकरण गर्न सुरुवात गरेको कुनै विधि र अभ्यासका प्रयासहरुको बारेमा नबताई   कानुनको प्राबधान मात्र रट्नुले  प्राधिकरण पनि यो समस्यालाई लिएर गम्भीर नभएको बुझ्न सकिन्छ।

सर्भेयरको योग्यता र तहगत वर्गीकरण के हो ? 

सर्भेयरको लागी आवश्यक योग्यता भनेको सुरुमा कुनै बीमा कम्पनीको कार्यालयमा अधिकृत स्तरको पदमा कम्तीमा दश वर्षसम्म बीमा व्यवसायमा सम्बन्धित कार्यको अनुभव हासिल गरेको हुनुपर्दछ। त्यस्तै,इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय चाटर्ड इन्स्योरेन्स इन्स्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको वा चाटर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको व्यक्तिले सर्भेयरको लाइसेन्सको लागी प्राधिकरणमा निवेदन दिन सक्ने छन् ।

योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि प्राधिकरणले सञ्चालन गरेको सर्भेयर सम्बन्धी तालिममा सहभागी भई तालिम पूरा गरेको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।  

कार्य अनुभवका आधारमा बीमा सर्भेयरहरूलाई तहगत आधारमा वर्गीकरण गरिएको हुन्छ । समितिले बीमा सर्भेयरहरूलाई कार्य अनुभवका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गमा बाड्ने गरेको छ । धेरै अनुभव भएकाहरूलाई ‘क’ त्यसपछि कम अनुभव भएकाहरूलाई क्रमशः ‘ख’ ‘ग’ वर्गमा र नयाँलाई ‘घ’ वर्गमा राखिने व्यवस्था रहेको छ । सर्भेयरले प्रत्येक वर्ष आफ्नो लाइसेन्स नवीकरण गर्नुपर्नेछ ।

बीमा सर्भेयरका भूमिका के हो ?

बिमाको दाबी परेको क्षतिलाई बीमालेखमा उल्लेख भएको जोखिमले समेटेको छ छैन, क्षति बीमालेखले समेटेको अवधिभित्र परेको छ छैन, क्षति वा नष्ट भएको सम्पत्ति बीमा लेखमा उल्लेख भए बमोजिम छ छैन, दाबीकर्ता क्षतिपूर्ति प्राप्त गर्न योग्य छ छैन, बीमा गरेको क्षेत्रभित्र क्षति भएको हो होइन तथा क्षति, क्षतिपूर्ति हुने प्रकारको हो होइन र दाबी झुट्टा हो होइन आदि जस्ता कुराको अध्ययन मार्फत तथ्य प्रमाणको सार्थक विश्लेषण गरी  दाबी परेको क्षतिको निष्पक्ष तथा यथार्थ मूल्याकंन गर्नु सर्भेयरका जिम्मेवारी हो । 

स्वतन्त्र विशेषज्ञको रूपमा सेवा प्रदान गर्दै  क्षतिको मुल्यांकनको काम गर्नु, बीमितको इच्छाको सम्मान गर्नु, सर्भेयरको प्रमुख काम हो ।  घटनाको अनुसन्धानात्मक कार्य गर्नु, बीमा दाबी प्रक्रियामा बीमितलाई सहयोग गर्नु, नतिजा छिटो र निष्पक्ष गर्नु, पेसालाई पूर्ण मर्यादित र व्यावसायिक बनाउनु तथा पूर्ण प्रतिवेदन पेस गर्नु आदि बीमा सर्भेयरका मुख्य भूमिका हुन् ।