काठमाडौं– नेपाल धितोपत्र बोर्डका संचालक समिति सदस्य रितेश कुमार शाक्यलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा काम गर्ने बाटो खुलेको छ। गत चैत्र ३० गते राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै शाक्यलाई बोर्डको अध्यक्षको रुपमा काम गर्ने बाटो खुलेको हो।
सो ऐनले धितोपत्र बोर्ड ऐन पनि संशोधन गरेको छ। ऐनमा भनिएको छ, यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको पद रिक्त भएमा, उपदफा (७) बमोजिम नेपाल सरकारले निजलाई पदबाट हटाएमा वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्नेछ।
हाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ। अहिले बोर्डको संचालक समितिमा अर्थ मन्त्रालयबाट शाक्यले प्रतिनिधित्व गरिरहेका छन्। उनी अर्थ मन्त्रालयका सह सचिव हुन्। ऐनमा भएको व्यवस्था अनुसार अब शाक्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्न सक्नेछन्।
प्रतिक्रिया