तनहुँ–गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । पाडी/बाछीका लागि प्रदेश सरकारले रु. ७० लाख बजेट विनियोजन भएको हो ।
कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडीरबाछी हुर्काउन रु. १० हजारका दरले अनुदान दिन लागेको हो । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरीले पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष सात सयवटा पाडी/बाछीका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले भने, ‘तीन सय किसानले छ सय २८ पाडी/बाछीका लागि आवेदन दिइसकेका छन् ।’ आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइनेछ । एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडी/बाछीका लागि अनुदान पाउने केन्द्रले जनाएको छ ।
बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडी/बाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिएको केन्द्रका प्रमूख चौधरीले बताए । अनुदान पाउनका लागि पाडीरबाछीको उमेर एक वर्ष पुरा भएको हुनुपर्ने मापदण्ड राखिएको छ । (रासस)
प्रतिक्रिया