काठमाडौं–अधिकांश वाणिज्य बैंकहरुले वैशाख महिनालाई लक्षित गर्दै शुक्रबार नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। वाणिज्य बैंकहरुले आगामी महिनाका लागि आज ब्याजदर सार्वजनिक गरेका हुन् । तरलता व्यवस्थापन हुँदै गएपछि अधिकांश बैंकहरूले वैशाखका लागि घटाएर ब्याजदर तोकेका हुन्।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटेको छ । साथै चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा वैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ।
वैशाख १ गतेदेखि लागु हुने नयाँ ब्याजदरमा अधिकांशले एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने केही बैंकले भने स्थिर राखेका छन् । दुई बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर वैशाखका लागि स्थिर राखेका हुन् ।
त्यस्तै, एभरेस्ट र एनएमबीले चैतको तुलनामा वैखाशाखमा ब्याजदर बढाएका छन्। नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एशियाले ब्याजदर घटाएका छन्।
योसँगै वैशाख महिनामा सबैभन्दा बढी ब्याजदर एनएमबी बैंकले ७.९७ प्रतिशत तोकेको छ। चैतमा भने व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एशियाले ८.५४ प्रतिशत ब्याजदर तोकेको थियो । व्यक्तिगत मुद्दती निक्षेपमा अब सबै बैंकको ब्याजदर ८ प्रतिशत भन्दा कम छ।
प्रतिक्रिया