काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकमा धेरै कमाउने फाइनान्समा मञ्जुश्री फाइनान्स बनेकाे छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा चालु आवको आठ महिनामा मञ्जुश्री फाइनान्स १६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाउँदै सबैभन्दा धेरै कमाउने फाइनान्स बनेको हो।
नाफा धेरै कमाउने मध्येको दोस्रो सूचीमा गोर्खाज फाइनान्स रहेको छ। समीक्षा अवधिमा यस फाइनान्सले १३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, धेरै कमाउने फाइनान्सहरुमा तेस्रो स्थानमा आइसीएफसी फाइनान्स रहेको छ। जुन फाइनान्सले ८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ।
समीक्षा अवधिमा गुडविल फाइनान्सले ३ करोड ३ लाख, पोखरा फाइनान्सले २ करोड ७६ लाख, श्रीइन्भेष्टमेन्टले २ करोड ७० लाख, मल्टीपर्पसले २ करोड १ लाख रुपैयाँ नाफा कमाएका छन्। यस्तै, जानकी फाइनान्सले १ करोड ४८ लाख, नेपाल फाइनान्सले १ करोड ३६ लाख र बेष्ट फाइनान्सले ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
हाल १५ वटा फाइनान्स कम्पनी सञ्चालनमा रहेका छन् । जसमध्ये पाँचवटा फाइनान्स कम्पनी घाटामा गएका छन्। समिक्षा अवधिमा घाटामा जाने फाइनान्स कम्पनीहरुमा सबैभन्दा पहिलो प्रोग्रेसिभ फाइनान्स रहेको छ । जुन फाइनान्सले आठ महिनामा ११ करोड ३ लाख घाटा व्योहोरेको छ ।
यसैगरी, गुहेश्वरी मर्चेन्टको ५ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ। त्यस्तै, समृद्धि फाइनान्स ४ करोड ६२ लाख, रिलायन्स फाइनान्स ४ करोड ३८ लाख र सेन्ट्रल फाइनान्स ४ करोड ७ लाख रुपैयाँ घाटामा देखिएका छन् ।
प्रतिक्रिया