पर्यटकको एउटै तथ्याङ्क नहुँदा नीति निर्माणमा समस्या भयो : सांसदहरू

पर्यटकको एउटै तथ्याङ्क नहुँदा नीति निर्माणमा समस्या भयो : सांसदहरू


काठमाडौं– सांसदहरूले नेपालमा भित्रिने विदेशी पर्यटकहरूको तथ्याङ्क एउटै हुन नसक्दा नीति नियम बनाउन समस्या भइरहेको बताएका छन् । निजी क्षेत्रले दिने तथ्याङ्क र सरकारी तथ्याङ्क पनि फरक फरक हुने गरेकाले नीति निर्माणमा समस्या पर्ने बताएका हुन् ।

मंगलबार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै सांसदहरूले वार्षिक रूपमा नेपाल भित्रिने विदेशी पर्यटकहरूको एउटै तथ्याङ्क हुँदा नीति निर्माण सोहीअनुसार बन्ने जिकिर गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले डेढदेखि दुई वर्षमा १० लाख पर्यटक आइरहेको मुलुकमा ३५ लाख आउँछ भन्ने गरेको भन्दै यस्ता गलत तथ्याङ्कले नीति निर्माणमा समस्या पर्ने बताए । उनले नेताहरूले पनि गलत तथ्याङ्क प्रस्तुत गर्ने र व्यवसायीहरूले पनि गलत तथ्याङ्क प्रस्तुत गर्ने हो भने नेता र व्यवसायीहरूमा फरक नहुने बताए ।

उनले भने ‘इयुको सेफ्टीको बारेमा ठुलो कन्फ्युजन छ जस्तो लागेको छ । हामीले सुनिरहेको यो छुट्याउनुपर्‍यो, लेजिस्लेशन अड्कियो भन्ने छ । मेरो अध्ययनले त्यो फ्याक्ट हो भन्ने कतै प्रमाणित भएको छैन ।’

कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद एकनाथ ढकालले पनि सही तथ्याङ्क प्रस्तुत गरेमात्रै नीति निर्माणमा सहयोग पुग्ने बताए। उनले व्यवसायीहरूको लगानी सुरक्षित गर्न आवश्यक ऐन, कानुनहरू निर्माणमा प्राथमिकता दिने कुरामा सरकार सदैव रहने बताए ।

उनले भने, ‘टुरिजमको जिडिपीमा योगदान कति हो भन्ने कुरामा पनि सरकार पनि कन्फ्युजन छ । हामी तथ्याङ्कको आधारमा निर्णय दिन सक्ने अवस्था नै छैन । हाम्रो तथ्याङ्क कति सत्य हो भन्न सक्ने अवस्था छैन । राज्यले नियन्त्रण नभई नियमन गर्ने कुरामा राष्ट्रिय सहमति नै छ । राज्य त्यति नियन्त्रण गर्न गइरहेको छैन । फ्लाइटको टिकटमा राखेको जुन भ्याटको कुरा छ, त्यो हटाउनै पर्छ । हामीले आवाज पनि उठाएका छौँ । आउने बजेटमा यसको व्यवस्था हुन्छ । पर्यटनलाई सेवा प्रदायक व्यवसायको रूपमा नभई उद्योगको रूपमा मान्यता दिनुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले नेपाल एयरलाइन्सलाई सरकार र सार्वजनिक मोडलमा सञ्चालन गर्न आवश्यक रहेको बताए । सरकारले ५१ प्रतिशत राख्ने अन्य सार्वजनिक र स्टेकहोल्डहरुसँग साझा गर्ने विषयमा अघि बढ्न आवश्यक रहेको जिकिर गरे ।

उनले भने, ‘हामीले आईकाओको रिपोर्ट मागेको लिखित रूपमा ९ महिना भयो तर मन्त्रालयले उपलब्ध गराएको छैन । मन्त्रालयलाई क्यानले उपलब्ध नगराउने रहेछ । नेपाल एयरलाइन्सको बरु न्यु एयरलाइन्स शुरु गरौँ, ५१ प्रतिशत सरकार अरू पब्लिक लगायत अरू स्टेक होल्डरहरू । बरु नेपाल एयरलाइन्सलाई नै कम्पनीमा ट्रान्सफर गरेर त्यसलाई नै ५१ प्रतिशत सरकारले राखेर स्ट्राटेजिक पार्टनरसिपमा जाने की रु अरू शेयर पब्लिकमा लैजाने हो की । होटललाई उद्योगमा लैजाने कुरामा म सहमत छु ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले राज्यले कसैका मागहरू पनि नसुन्ने भन्दै राज्यलाई झकझक्याउन होटलहरु बन्द गरेर आन्दोलनमा उत्रिन सुझाव दिए । उनले पर्यटन क्षेत्र नेपालको लागि धेरै नै महत्त्वपूर्ण रहेको भन्दै सबैले मिलेर काम गर्नुको विकल्प नरहेको जिकिर गरे ।

उनले भने, ‘हामी कसैले पनि राज्यले यस्तो गर्दा हुन्छ भनेर हुनेवाला छैन । तपाईंहरूलाई हामीले कसरी सहयोग गर्ने? हामी तपाईंहरूलाई सहयोग गर्न तयार छौँ । पर्यटन क्षेत्र नेपालको लागि धेरै नै महत्त्वपूर्ण छ । देश नै गोलमाल छ, लामो ऐनहरु, कानुनहरू बनाउन खोजेर हुँदैन । सबै कुरा ऐन, कानुन बनाएर संसद्मै लैजानुपर्छ भन्ने छैन, कतिपय कुराहरू मन्त्रीपरिषद्बाट पनि हुन्छन् । हामी मन्त्री र सरकारलाई दबाब दिनेछौँ ।’

कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले निजगढ विमानस्थल नेपालका लागि आवश्यक रहेको बताए । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले सञ्चालन गर्न आवश्यक पहल लिन नसकेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले राज्य व्यावसायिक विद्रोही नभएको बताए । उनले राज्यलाई व्यवसायको वातावरण बनाउन झकझकाइरहनुपर्ने बताए । उनले शङ्का लागेकै भरमा व्यवसायीहरूलाई दोषी ठहर गर्न नहुने बताए । उनले नेपालमा व्यवसाय गरेर सम्पन्न बन्नु पाप हो जस्तो गरी भाष्य सिर्जना गरिएको जिकिर गरे ।

उनले भने, ‘आफ्नो मेहनतले व्यवसाय गर्ने मान्छेहरू र आर्थिक रूपमा सम्पन्न हुनु भनेको यो देशमा पाप हो जस्तो लाग्छ । त्यसले राज्यलाई लुटेकै होला भन्ने छ। व्यवसाय र अलि मेहनत गरेर कमाएको मान्छे धनी हुनु भनेको राज्यको नजरमा पाप गरेको जस्तो भाष्य समाजमा स्थापित भएको छ ।