काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । सोही तथ्यांकअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ।अघिल्लो आव २०७९/८० को सोही अवधिमा मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ । त्यस्तै घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।
तथ्यांक अनुसार काठमाडौं उपत्यकामा आठ महिनाको मुद्रास्फिति ४.८८ प्रतिशत रहेको छ। तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी क्षेत्रमा मुद्रास्फीति क्रमशः ७.९५ प्रतिशत, ७.५०प्रतिशत, ६.६७ प्रतिशत र ८.०७ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया