बैंकिङ्ग कसुर नियन्त्रणमा सीआईबीको भूमिका कस्तो ?

बैंकिङ्ग कसुर नियन्त्रणमा सीआईबीको भूमिका कस्तो ?


काठमाडौं–नेपाल प्रहरीले अपराध अनुसन्धानको तरिका र संयन्त्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै गम्भीर प्रकृतिका विभिन्न अपराधमा विशिष्टिकृत अनुसन्धान तहकिकात गर्न र अन्य कुनै प्रहरी कार्यालयबाट भइरहेको वा हुने अनुसन्धान तहकिकातको कार्यमा सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्युरोको २०६७ सालमा स्थापना भएको हो । बदलिदो परिपेक्ष्यमा अपराधका शैलीहरुमा अनेकन जटिलता वृद्धि भइरहेका छन् । त्यस्ता चुनौतीहरु सामना गर्दो अपराध रोकथाम तथा परिणाममुखी अनुसन्धान मार्फत सत्य तथ्य उजागर गर्दै समाजमा कानुनी राज्यको प्रत्याभूतिका लागि दण्ड न्यायलाई आवश्यक तथ्य र सबुत प्रमाण जुटाउन राज्यको लागि यस्ता संस्थाहरुको अत्यन्त गहन भूमिका रहने देखिन्छ।

सीआईबीले हालसम्म आर्थिक अपराधसँग जोडिएका दर्जनौं अपराधको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याइसकेको छ । २०७३ पुस २१ मा गौशालास्थित पिंगलास्थानबाट ३३ किलो ७५० ग्राम बरामद गरिएको सुनको अनुसन्धान निकै चर्चित र सफल अनुसन्धान हो । त्यस्तै रातो पासपोर्ट, अपरेश ‘क्वाक’, ब्ल्याक स्पाइडर समुह, अवैध कल बाइपास, रानीबारी हत्याकाण्ड, पृथ्वी शाह प्रकरण, गैँडा सिकारीको सञ्जाल ‘ब्रेक जस्ता थुप्रै अनुसन्धानमा सीआईबी सफल देखिएको छ । चाँलु आर्थिक वर्षमा मात्रै सीआईबीमा १ अर्ब २५ करोडको माग दाबीसहित उजुरी परेको छ, जसमध्ये सीआईबीले १७ जनालाई कारबाही गरी अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय देउराली बहुउदेश्यीय सहकारीका संचालक रविन्द्र चौलागाईलाई ठगीको आरोपमा सीआईबीले पक्राउ गरेको थियो । चौलागाईले दिएको बयान अनुसार तत्कालिन सेन्चुरी बैकका सीईओ तथा प्रभु बैंकका डेपुटी सीईओ र कर्मचारी पनि सीआईबीको अनुसन्धानमा परेका थिए । उनीहरुलाई हाल सीआईबीले हाजिरी जमानीमा छोडेको छ । जानकारहरुका अनुसार सीआईबीले गरेको यस प्रकारको अनुसन्धानले यस संस्थाले गर्ने अनुसन्धानको आयाम र विशिष्टता कस्तो हुने रहेछ भनेर प्रमाणित गरेको छ । उनीहरु भन्छन्, ‘नेपालमा आर्थिक अपराधका घटना दिनप्रतिदिन बढ्दो छ । जसमा बैंक तथा वित्तीय क्षेत्रका अपराधिक मुद्धाहरु ५० प्रतिशत भन्दा माथि हुनसक्छन् । आर्थिक लेनदेनसँगका घटनामा तथ्य प्रमाण र यसको जालो पहिचान गर्दै दोषीलाई कारबाही गर्न व्यावसायिक संस्थाले गरेको अनुसन्धानबाट मात्र गहिराइमा पुग्न सकिन्छ । यसअघि गरेका सफल अनुसन्धानलाई फर्केर हेर्दा सीआईबीको भुमिका प्रभावकारी देखिएको छ ।’

कस्ता कसुर बैंकिङ्ग कसुर हुन् ?
कानुनी व्यवस्था विपरीत बैँक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नु बैंकिङ्ग कसुर हो । विद्यमान कानुनी व्यवस्थाअनुसार अनधिकृत रुपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रुपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खातको विवरण अन्य कुनै व्यक्ति वा संस्थालाई दिनु, धितोको अस्वभाविक मुल्यांकन गरी ऋण लिने तथा दिने काम बैंकिङ्ग कसुर भित्र पर्छन् । नेपालमा बैंकिङ्ग कसुर तथा यसमा दिइने सजायको बारेमा ‘बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४’ मा उल्लेख गरिएको छ ।

बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अनुसार कस्ता कार्य गर्दा लाग्छ कसुर ?

१. कसैले पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा नक्कली कागजात पेश गरी खाता खोल्ने वा त्यस्तो कागजात पेस गरी खाता खोल्न लागेको छ भन्ने जानिजानि खाता खोलिदिने तथा त्यस्तो खातामा रकम जम्मा गर्ने, गराउने वा त्यस्तो खाताबाट रकम निकाल्ने वा सो कार्यमा सहयोग गरेमा वा त्यसरी खाता खोली विद्युतीय कार्ड या उपकरणको प्रयोग गरी रकम निकालेमा, वाकानुन बमोजिम बाहेक काल्पनिक व्यक्ति वा संस्थाको नाममा खाता खोल्ने वा खोलिदिने, तथा आफ्नो खातामा मौज्दात रकम नभएको आफैँले जान्दा जान्दै पनि चेक काट्ने ।

२. कसैले पनि बैंक तथा वित्तीय संस्थामा रहेको अन्य व्यक्तिको खाताबाट अनाधिकृत रुपमा रकम निकाल्ने तथा अनाधिकृत रुपमा ग्राहकको खाताबाट रकम रकमान्तर गर्ने वा रकम भुक्तानी दिने ।

३. कसैले पनि क्रेडिट कार्ड, डेबिड कार्ड, अटोमेटेड टेलर मेसिन (एटिएम) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग अनधिकृत प्रयोग गरी रकम भुक्तानी लिने वा दिने ।

४. कसैले पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिदा वा दिदा तल समावेश गरिएका कार्यहरु गरेमा उनीहरुलाई बैंकिङ्ग कसुरको मुद्दा लाग्छ ।

(क) गलत, झुट्टा वा नरहेको वित्तीय विवरण पेश गरी वा नक्कली व्यवसाय खडा गरी कर्जा लिन वादिने तथा धितो बढी मूल्याङ्कन गरी कर्जा लिने वा दिने, झुट्टा विवरणको आधारमा परियोजनाको लागत बढाई बढी कर्जा लिने वा दिने, स्वीकृत सीमा भन्दा बाहिर गइ कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्ने वा गराउने ।

(ख) बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले सो बैंक तथा वित्तिय संस्थाको विनियमावली बमोजिम पाउने कर्मचारी सुविधा अन्तर्गतको कर्जा वा सापटी बाहेक अन्य तरिकाले कर्जा वा सापटी लिने, बैंक तथा वित्तीय संस्थाको संस्थापक, संचालक, शेयरधनी वा त्यतो व्यत्तिका परिवारका सदस्यले सो बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ।

तर मुद्दती रसिद, सुन वा सरकारी ऋणपत्रको सुरक्षामा कर्जा लिन उल्लेखित व्यवस्थाले बाधा पुर्याउँदैन :

(ग) कुनै एक बैंक तथा वित्तीय संस्थालाई दिइसकेको सुरक्षण फुकुवा नभई सोही सुरक्षणले अर्को बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने वा दिने तर सुरक्षणले खामेको हदसम्म दोस्रो हक कायम हुने गरी कर्जा लिन वा दिन यो बन्देज लागु हुने छैन ।

(घ) ग्राहकको कारोबारको तुलनामा आवश्यकता भन्दा बढी कर्जा दिने र कर्जा उपलब्ध गराएबापत कुनै किसिमको अनुचित लाभ लिने वा दिने

(ङ) बैंक तथा वित्तीय संस्थाको संस्थापक, संचालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्ने व्यत्तिले आफुले समेत ऋण सुविधा उपयोग गर्ने मनसायले नक्कली ऋणी खडा गरी वा आफ्नो वित्तीय स्वार्थ गासिएको व्यत्ति वा संस्थालाई ऋण प्रवाह गर्ने ।

५. कसैले पनि बैंक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजका लागि नलिई अन्यत्र प्रयोग गरी कर्जाको दुरुपयोग गर्नु हुँदैन ।

६. बैंक तथा वित्तीय संस्थाको संस्थापक, संचालक, प्रमुख कार्यकारी अधिकृत वा कर्मचारी, शेयर धनी, मेनेजिङ एजेन्ट वा सम्बद्द व्यत्ति वा संस्था तथा त्यस्तो व्यक्तीका परिवारका सदस्यले बैंक तथा वित्तीय संस्थाबाट सुविधा लिई वा अन्य कुनै तरिकाले बैंक तथा वित्तिय संस्थाको स्रोत तथा साधनको दुरुपयोग गर्नु हुदैन ।

७. बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने ऋणको भाखा नाघी कालो सूचीमा परेको ऋणीले तिर्नु पर्ने कर्जा नतिरी स्वदेश वा विदेश स्थित बैंक तथा वित्तीय संस्थामा खाताखोली रकम राख्न वा त्यस्तो खातालाई निरन्तरता दिने तथा अन्य कुनै तरिकाले चल वा अचल सम्पत्ति खरिद गरी हक भोग गर्न पाइदैन ।

८. बैंक तथा वित्तीय संस्थाले ऋणीको कुनै परियोजनाको लागिकर्जा वा सुविधा स्वीकृत गरी पहिलो किस्ता प्रदान गरिसकेपछि पर्याप्त आधार र मुनासिब कारण बिना ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी बाँकी किस्ता वा सुविधाबीचमा रोक्न हुदैन ।

९. कसैले पनि बैंक तथा वित्तीय संस्थाको कुनै कागजात वा खातामा लेखिएको कुनै कुरा कुनै तरिकाले हटाई वा उडाई अर्कै मतलब निस्कने गरी आफुलाई वा अरु कसैलाई फाइदा वा हानी नोक्सानी गर्ने उद्देश्यले झुट्टा कुरा गरे वा मिति, अंङ्क, वा व्यहोरा फरक पारी सहीछाप गरी कागज बनाई वा बनाउन लगाई जालसाजी गरेमा एवम् कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई विभिन्न तवरले झुक्याई कारोबार गरेमा ।

१०. मूल्याङ्कन कर्ताले धितो स्वरुप बैंक तथा वित्तीय संस्थामा राखिने चल अचल सम्पत्तिको वा बैंक तथा वित्तीय संस्थाको चल अचल लिलाम बिक्रीका लागी हुने मूल्याङ्कन गर्दा बढी, कम या गलत मूल्याङ्कन गरेमा वा बैंक तथा वित्तीय संस्थाबाट कर्जा वा सुविधा प्राप्त गर्ने प्रायोजनमा कुने व्यत्ति वा संस्थाले एउटै मिति वा अवधिको अलग–अलग वित्तिय विवरण तयार गरेमा ।

११. बैंक तथा वित्तीय संस्थालाई हानी नोक्सानी पुर्याउने उद्देश्यले कसैले पनि कुनै काम गर्ने वा गराउने अथवा कसैले पनि ढुकुटीको कारोवार गर्ने वा गराउने तथा कुनै व्यत्ति वा संस्थाले गैर कानुनी रुपमा बैंकिङ्ग कारोबार गरेमा ।

चालु आर्थिक वर्षमा मात्र सीआईबीमा रु. १ अर्ब २५ करोड भन्दा माथिको विगोसहितको १० वटा मुद्धा दर्ता, १८ जना पक्राउ

चालु आर्थिक वर्षमा सीआइबीमा सहकारी र बैंकसँग सम्बन्धित १० वटा दर्ता भएका छन् । यो अवधिमा १८ जना पक्राउ परेका छन् । जसमा सबैभन्दा बढी सहकारी ठगी प्रकरण अन्तर्गत १७ जना पक्राउ परेका छन् भने १ जना बैंक ठगीको कारण पक्राउ परेका छन् ।

आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ८ पक्राउ

गत साउनमा टोखा नगरपालिका–९ स्थित सामाखुशीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका (दर्ता नं. १६१५/०६४/०६५) सञ्चालकहरूले बचतकर्ताको ठूलो रकम अपचलन र ठगी गरेको कारण सीआईबीले ८ जनालाई पक्राउ गर्यो । सहकारीका अध्यक्ष दलबहादुर आले लगायत सञ्चालक समिति सदस्यले करोडौं रुपैयाँ बराबर ठगी गरेको उजुरी सीआईबी रु. ११ करोड ५५ लाख ४३ हजार ४ सय ६ रुपैयाँ विगो सहित १ वटा उजुरी दर्ता छ । जुन सहकारीमा १२ सय भन्दा बढी बचतकर्ता ठगीमा परेका छन् ।

देउराली बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्षसहित २ पक्राउ

त्यसैगरी ललितपुर सातदोबाटोमा रहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाका पाँच सय ५० सदस्य तथा निक्षेपकर्ताले सञ्चालकविरुद्ध ठगीको जाहेरीको आधारमा गएको असोजमा सहकारी सञ्चालक रविन्द्र चौलागाईलाई पक्राउ गर्यो र कार्तिकमा थप २ जनालाई पक्राउ गर्यो । उनीहरु विरुद्ध रु. ६५ करोड ८३ लाख ६ हजार आठ सय ५२ रुपैयाँ विगो दावीसहित पक्राउ गरिएको सीआईबीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को अनुसन्धानमा सो सहकारीमा रु. दुई अर्ब २० करोड ९२ लाख रुपैयाँ सर्वसाधारणको बचत रहेको समेत देखिएको छ ।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी १ जना पक्राउ

त्यस्तै असोजमा टोखामा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी रामहरी अधिकारीलाई सीआईबीले पक्राउ गर्यो । उनीविरुद्ध रु. २ करोड २२ लाख १३ हजार ७ सय ३५ रुपैयाँ विगो दावीसहित सीआईबीमा १ वटा मुद्धा दर्ता भएका थियो ।

नेशनल डेभलपमेन्टको अपरेटिभका २ जना संचालक पक्राउ

यता चाँलु आर्थिक वर्षमै ललितपुरको गाःबहालमा रहेको नेशनल डेभलपमेन्ट कोअपरेटिभका २ जनालाई सीआईबीले पक्राउ गर्यो । उनीहरुविरुद्ध रु. ३३ करोड २२ लाख ५८ हजार २ सय ८३ रुपैयाँ विगोसहित १ वटा मुद्धा सीआईबीमा दर्ता छ ।

साउथ वेस्टर्न स्टेट वचत तथा ऋण सहकारी संस्थाका १ पक्राउ

त्यस्तै काठमाडौंमै रहेको साउथ वेस्टर्न स्टेट वचत तथा ऋण सहकारी संस्थाका १ जनालाई सिआईबीले यहि वर्ष पक्राउ गरेको हो । सीआईबीमा रु. २ करोड ५२ लाख ९३ हजार ७१ रुपैयाँ विगो दाबीसहित उजुरी परेको थियो ।

रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका २ जना पक्राउ

यसैगरी गत पुसमा रकम हिनामिना गरेको आरोपमा फरार रहेका रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत र सहकारी सदस्य विनोद कुमार ओझा पक्राउ परे । तीनकुनेमा रहेको रियल गोर्खाको बचतकर्ताहरूले रु. ८ करोड ६९ लाख ९४ हजार ६ सय २५ रुपैयाँ विगोसहित केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए ।

नेपाल एसबिआई बैंकको रकम ठगी गरेको आरोपमा १ जना पक्राउ

गत असोजमा नेपाल एसबिआई बैंकको रु. १ करोड ५८ लाख ८१ हजार ६ सय ३६ रुपैयाँको गायब भयो । सो पश्चात अन्तर्राष्ट्रिय एटिएम कार्डमार्फत गरिने भुक्तानीमा काठमाडौंको ठमेलबाट ड्रागन इन्भेष्टमेन्ट प्रालिका सञ्चालक किसनराज सिंहलाई सिआईबीले पक्राउ गर्यो । सिंहविरुद्ध बैंकले रु. १ करोड ३६ लाखको रुपैयाँ बराबरको विगो रकम दावी गरेको छ ।

पक्राउ परेको व्यक्तिलाई सीआईबीले ‘बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४’ अन्र्तगत रहेका मुद्धा दर्ता गरेको हुन्छ र सोही अनुसार कारबाही अगाडि बढाएको हुन्छ ।

सीआईबीको उत्कृष्ट अनुसन्धानका कारण आर्थिक अपराधमा कसरी आउन सक्छ कमी ?

विगतमा सीआईबीले आर्थिक अपराधका क्षेत्रमा गरेको अनुसन्धानलाई नै निहाल्दा पनि गहिरो अनुसन्धान गरी मुद्धा निचोडमा पुर्याएको छ । बदलिँदो समय अनुसार बढ्दै जाने आर्थिक अपराधमा सीआईबीको थप क्षमता विकास गरी हस्तक्षेप मुक्त अनुसन्धानको वातावरण सिर्जना गरिदिने हो भने आर्थिक अपराध नियन्त्रणका साथै आर्थिक क्षेत्रमा आएको संकट समाधानमा पनि सीआईबीको योगदान कोषे ढुंगा सावित हुनसक्छ ।