ग्लोबल मनी विकः टाइम भ्यालु अफ मनी

ग्लोबल मनी विकः टाइम भ्यालु अफ मनी


काठमाडौं– आज सन् २०२४ को अन्तर्राष्ट्रिय ग्लोबल मनी विकको अन्तिम दिन । ग्लोबल मनी विकको सन्दर्भमा हामीले वित्तीय साक्षरता जगाउने उद्देश्यले विभिन्न सामाग्रीहरू पस्किरहेका छौं। यसै सन्दर्भमा आजको (अन्तिम) शृङ्खलामा हामीले टाइम भ्यालु अफ मनीको विषयमा हाम्रा दर्शक श्रोताहरूलाई लक्षित गरी भिडियो लिखित सामाग्री तयार पारेका छौं ।

पैसाले आफैँ हरेक पल पैसा कमाउने क्षमता र सम्भावना बोकेको हुन्छ । पैसाको उक्त क्षमतालाई बुझेर यसबाट उचित र समयसापेक्ष प्रतिफल निकाल्न सकेनौं भने भविष्यमा तपाईँको सम्पातिमा ह्रास आउँछ। त्यसैले आज तपाइको साथमा भएको पैसाको मूल्य भविष्यमा हुने यसको मूल्यभन्दा धेरै हुन्छ, जसलाई टाइम भ्यालु अफ मनी भनिन्छ । जस्तो की आज तपाईँले एक हजार रुपैयाँले जति सामान किन्न सक्नुहुन्छ केही समयपछि त्यो एक हजार रुपैयाँले त्यति नै सामान नआउन सक्छ । त्यति नै पैसाले तपाईँको उपचार नहुन सक्छ । यस्तो कसरी हुन्छ त ? आज हामी आफ्नो पैसाको क्रय क्षमता वा आफ्नो सम्पत्तिको मूल्य  सुरक्षित गर्न जान्नै पर्ने टाइम भ्यालु अफ मनीलाई प्रभाव पार्ने ५ वटा महत्त्वपूर्ण विषयमा कुरा गर्ने छौं । आउनुहोस् सुरु गरौं ।

 
१. मुद्रास्फीति वा (इन्फ्लेशन)

मुद्रास्फीतिले वस्तु वा सेवाको मूल्यमा वृद्धि गर्दछ । जसका कारण तपाईँसँग भएको पैसाको मूल्य घट्न जान्छ । फलस्वरुप त्यो रकमले उत्तिकै परिमाणमा वस्तु वा सेवा खरिद गर्न सकिँदैन । त्यसैले तपाईँको बचतको ब्याज वा लगानीको प्रतिफल हालको मुद्रास्फीति दरभन्दा कम छ भने त्यसले तपाईँको पैसाको मूल्यमा ह्रास आउँछ  र आफुलाई आवश्यक पर्ने वस्तु वा सेवा खरिद गर्दा तपाईँले भविष्यमा  धेरै पैसा खर्च गर्नुपर्ने अवस्था आउँछ । त्यसैले तपाईँले आफ्नो पैसामा पाएको ब्याजदर वा लगानीको प्रतिफल मुद्रास्फीति दर भन्दा धेरै छ कि छैन विचार गर्नुहोस्। 
 
२. ब्याजदर

ब्याजदर टाइम भ्यालु अफ मनीको मुख्य पाटो हो । दैनिक व्यवहारमा हामी कहिले अरूलाई पैसा सापटी दिन्छौ कहिले आफै सापटी लिन्छौं । यसैगरी पैसा बैंकमा राख्दछौं वा बैकबाट कर्जा लिन्छौं । त्यस्तै कुनै योजनामा लगानी गर्दछौं भने यी क्रियाकलाप गर्दा प्राप्त हुने प्रतिफल वा पैसा लिएबापत तिर्नुपर्ने रकमलाई ब्याजदर भनिन्छ। ब्याजदरलाई आर्थिक र मौद्रिक कारणहरूको जटिल अन्तरसम्बन्धले निर्धारण गर्ने गर्दछ। ब्याजदरमा हुने परिवर्तनले आउने समयमा तपाईँको क्यास फ्लोलाई वा आम्दानीलाई असर गर्दछ। पैसाको मूल्य यसले कमाउन सक्ने ब्याज तथा यसको लगानीले दिन सक्ने प्रतिफलले निर्धारण गर्ने हुँदा ब्याजदरसँगै पैसाको मूल्य प्रतिक्षण परिवर्तन भइरहेको हुन्छ। त्यसैले लगानी गर्नु पूर्व कर्जा लिँदा वा बैंकमा पैसा जम्मा गर्दा ब्याजदरको स्थितिलाई राम्रोसँग बुझ्ने गर्नुपर्दछ।   

३. अपरच्युनिटी कस्ट

दुई परिस्थिति मध्ये एकको छनोट गर्दा तपाईँले गुमाउनु पर्ने मूल्यलाई अपरच्युनिटी कस्ट भनिन्छ। यसले अवसरहरू मध्येमा जसको लागि  तपाईँको पैसा, समय र प्रयत्न लगाउनु उपयुक्त हुन्छ, त्यसको छनोट गर्न सहयोग गर्दछ। अपरच्युनिटी कस्ट टाइम भ्यालु अफ मनीको एउटा महत्त्वपूर्ण पक्ष हो । जस्तो की तपाईँसँग आजको दिनमा पैसा छ भने बजारमा लगानीका गर्न अनेकन् अवसर आइरहेका हुन्छन्। लगानीका यस्ता अवसरहरू मध्येबाट उपयुक्त लगानी छनोट गर्दा टाइम भ्यालु अफ मनीको ठूलो भूमिका हुन्छ । जसको आधारमा हामीले कुन योजनामा लगानी गर्नु नाफामूलक हुन्छ भनेर मूल्यांकन गर्न सक्दछौं। यस्ता निर्णयहरू एउटा अवसरको तुलनामा अर्को अवसरले दिने टाइम भ्यालु अफ मनीको आधारमा गर्ने गरिन्छ।      

४. जोखिम

जोखिम शब्द सुन्दै डर लाग्न सक्छ तर यसकै आधारमा तपाईँले पाउने प्रतिफल निर्धारण हुन्छ । त्यसैले त हामी हाइअर रिस्क हाइअर रिवार्ड, नो पेन नो गेन भन्ने गर्दछौं । तपाईँसँग भएको सम्पत्ति वा पैसाको लगानीबाट एउटा समयावधि भित्र तपाईँले कति प्रतिफल पाउने वा तपाईँको क्यास फ्लोको परिमाण कति हुनु पर्छ भन्ने कुरा तपाईँले लगानी गर्न रोजेको क्षेत्रमा रहेको विभिन्न जोखिमहरूको स्तरले निर्धारण गर्नुपर्ने हुन्छ अर्थात् भविष्यमा प्रतिफलको अनिश्चित जति बढी हुन्छ त्यसको आधारमा थप मुनाफाको निर्धारण गर्नुपर्दछ। यो थप मुनाफाले रिस्क युक्त  लगानीमा रहेको जोखिमको क्षतिपूर्ति दिन सकोस जसले  पैसाको हालको मूल्यसँग भविष्यको मूल्य तुलना गर्दा तपाईँको सम्पत्ति बढोत्तरी हुने स्थिति निश्चित हुन्छ ।        

५.अर्थतन्त्र

अर्थतन्त्रका सूचकहरू कुल ग्राहस्थ उत्पादन (जीडिपी)को ग्रोथ, रोजगारीको अवस्था तथा कन्जुमर स्पेण्डिङ्गले वस्तु तथा सेवाको मूल्य तथा पुँजी पर्याप्तताको स्थितिमा परिवर्तन भइराख्दछ । जसले बजारमूल्य तथा  ब्याजदरलाई प्रभाव पारेको हुन्छ। अर्थतन्त्र मजबूत हुँदा केन्द्रिय बैंकले अर्थतन्त्रको तीब्र विस्तारलाई नियन्त्रण गर्न ब्याजदर वृद्धि गर्दछ भने आर्थिक मन्दीको बेला आर्थिक गतिबिधि बढाउन केन्द्रिय बैंकले ब्याजदर घटाउने गर्दछ । यसरी अर्थतन्त्रको चक्रमा आउने परिवर्तनले  टाइम भ्यालु अफ मनीलाई प्रभाव पारेको हुन्छ । जसले गर्दा तपाईँसँग भएको पैसाभन्दा बजारको वस्तु र सेवा महँगो वा सस्तो हुन पुग्छ । त्यसैले समग्र अर्थतन्त्रको अवस्था बुझेर लगानीको उपयुक्त निर्णय लिनुपर्दछ।