पैसाको व्यवस्थापन भनेको त न्युनतम स्रोतको पर्याप्त प्रयोग गर्नु हो

पैसाको व्यवस्थापन भनेको त न्युनतम स्रोतको पर्याप्त प्रयोग गर्नु हो


काठमाडौं- नेपालमा पनि २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) गतेसम्म ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विक मनाउदैछ । नेपालका विभिन्न वित्तीय संस्थाहरुले पनि मनाइरहेका छन्,यसै सन्दर्भमा केन्द्रित रहेर हामीले माछापुच्छ्रे बैंकका महाप्रवन्धक प्रसिद्धराज अर्यालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनै अर्यालसँग गरेको कुराकानी :

१. वित्तीय संस्थाहरूले हाल वित्तीय जागरण ल्याउने कार्यक्रमहरू गरिनै रहेका छन् । अहिले भएका यी कार्यक्रमले सबै वर्गलाई समेटेको छ ?
ग्लोबल मनी विक अन्तर्राष्ट्रिय स्तरमा १ सयभन्दा बढी देशहरुमा मनाइरहिएको छ । नेपालमा पनि ६ र ७ वर्षदेखि यसको प्रभावकारिता बढ्दै गइरहेको छ । ५ वर्षदेखि नेपाल राष्ट्र बैंकको नेतृत्वमा ग्लोब मनी विक मनाइरहेको छ । अझ पछिल्लो २÷३ वर्षदेखि बैंकहरुले योजना नै बनाएर मनाउन थालेका छन् । यसै गरी माछापुच्छ्रे बैंकले पनि पछिल्लो तीन वर्षदेखि ग्लोबल मनी विक मनाउँदै आइरहेको छ । यस वर्ष पनि हामीले विगतका वर्षहरूमा झैँ १६५ शाखाबाटै १ सयभन्दा बढी कार्यक्रम भएका छन् । विभिन्न ठाउँका स्कुल, कलेज, स्थानीय तहहरूसँग सहकार्य गरेर ग्लोबल मनी विकसँग सम्बन्धित रहेर बैंकिङ्ग, वित्तीय सारक्षता लगायतका सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । साथै बैकसँग सहकार्य गरेर काठमाडौं लगायत प्रदेश स्तरमा गरिएको कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी भएर सहकार्य गरिरहेका छौँ ।

२. ग्लोबल मनी विक अभियान किन युवामा लक्षित गरिएको होला ?
मेरो विचारमा कुनै पनि कुरा जत्ति चाँडो सिकियो बुझियो । त्यो विषयमा हामी त्यति नै सचेत हुन्छौँ । हामीले युवालाई लक्षित गर्नुको कारण पनि यहीँ हो । युवा त्यसमा पनि हामीले स्कुल कलेजमै प्राथमिकतामा राख्नुको कारण विद्यालयका पाठ्यपुस्तकमा बैंकिङ्ग, आर्थिक क्षेत्रका विषयहरू कम समेटिएका छन् । जति मात्रामा विद्यालयहरूमा समेटिनुपर्ने त्यति समेटिएका छैन । विद्यालयका पाठ्यपुस्तकले नसमेटेका कुराहरूमा हामीले ग्लोबल मनी विकको सन्दर्भमा लक्षित गरिरहेका छौँ ।

३.वित्तीय साक्षरता कार्यक्रम देशभर समान रुपले वितरण गर्नको लागि कस्ता कार्य गर्नुपर्छ ?
पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा धेरै परिवर्तन भइरहेका छन् । नेपालका साथै अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो र पनि कोरोना पूर्व र कोरोनापछिको बैंकिङ्ग क्षेत्रका तुलना गर्ने हो भने पनि हामीले धेरै फरक पाउँछौँ । डिजिटलको विषयमा हामीले कोरोनापछि थप बुझ्दै गएका छौँ । पहिले डिजिटलको विषयमा जानकारी नभएको होइन । पछिल्लो समय यसको सान्दर्भिकता थप बढेको देखिन्छ । हामीले केन्द्रीय बैंकको निर्देशन, मार्गदर्शनमा रहेर पनि डिजिटल सुरक्षालाई थप प्रभावकारी बनाउँदै लगेका छौँ । वित्तीय साक्षरता, समावेशिताका साथ साथै यसका चुनौतीहरूको विषयमा पनि हामीले आम नागरिकलाई सचेतना जगाउन आवश्यक छ । हामीले यस वर्षका साथै आगामी वर्षमा डिजिटल सुरक्षालाई थप प्रभावकारी बनाउन केन्द्रीय बैंकसँग सहकार्य गर्नेछौं । डिजिटल सुरक्षालाई थप प्रयोग, प्राथमिकता ,प्रभावकारितालाई ध्यानमा राखेर यसको प्रभाव बढाउन आवश्यक छ । यसका लागि हामीले पहल पनि गरिरहेका छौं ।

४. डिजिटल सुरक्षा भनेको के हो ?
डिजिटल सुरक्षाको विषयमा हामी सचेत छौं । डिजिटल बैंकिङ्गको वृद्धि विकाससँगै यसमा जोखिम पनि बढेको छ । डिजिटल माध्यमा गरिने ठगीका घटना, साइबर अपराध, लगायतका विभिन्न जोखिमहरू पनि बढिरहेको छ । डिजिटल सुरक्षाको लागि हामीले प्रयोग गरिरहेका हाम्रो प्रणाली, प्लेटफर्म आधुनिक शैलीका छन् । हामीले हाम्रो टिमलाई पनि पर्याप्त उपकरणको साथ प्रशिक्षण गराइरहेका छौँ । आफ्नो मात्र होइन अन्य बैंकहरुमा प्रयोग भएका डिजिटल प्लेफर्म पनि सिक्दै हामी अगाडि बढिरहेका छौं ।

५. पैसा व्यवस्थापन र वित्तीय जोखिम भनेको के हो ?
पैसाको व्यवस्थापन भनेको त न्युनतम स्रोतको पर्याप्त प्रयोग गर्नु हो । कहिलेकहीँ अधिकतम प्रयोग गर्न खोज्दा जोखिम पनि बढिरहेको हुन्छ । मेरो या अरुको जोसुकैको होस्, आफूसँग भएको पैसाको उचित रूपमा लगानी गरी फाइदा लिनु नै पैसाको व्यवस्थापन हो । त्यस्तै वित्तीय जोखिम भनेको निकै गहन पूर्ण विषय हो । जसलाई हामी सामान्य तरिकाले व्याख्या गर्न सक्दैनौं । पछिल्लो समय जोखिम बढ्दो छ । सामान्य भाषामा सर्वसाधारणले बुझ्ने गरी भन्नुपर्दा वित्तीय जोखिम भन्नाले आफ्नो पैसाको सुरक्षा गर्नु हो । तपाईँहरूले दुःख गरेर कमाउनु भएको पैसा कतै राख्नु भएको छ । त्यस संस्थाको बारेमा राम्रोसँग बुझेर राख्नु उचित हुन्छ । कसैको लहै–लहैमा लागेर राख्नु हुँदैन ।

६. बैंकहरु शहरकेन्द्रित मात्र भए भन्ने आरोप लाग्ने गरेको छ ? यसमा के भन्नुहुन्छ ?
आजभन्दा १० वर्ष पहिला हेर्न हो भने ,बैकिङ्ग क्षेत्र शहर केन्द्रित मात्र थियो । १०÷१५ अगाडि त ग्रामीण क्षेत्रमा बैंकका शाखाहरू पनि थिएन होला । बिस्तारै राष्ट्र बैंकले पनि काठमाडौं भित्र÷बाहिर पनि अनिवार्य शाखा खोल्नुपर्ने नीति लियो । संघीयता लागू भएपछि स्थानीय तहहरुमापनि बैंकहरु खुल्न थाले । अहिले त सबै गाँउपालिकाहरुमा कुनै न कुनै बैंकका शाखाहरू खुलेका छन् । त्यसकारण पहिलेको तुलनामा अहिले बैंकहरुलाई शहर केन्द्रित मात्र भयो भन्न मिल्दैन । शाखाहरूको विस्तारसँगै कमीकमजोरीहरु बिस्तारै सुधार हुँदै गएका छन् । हाल पहिलेको जस्तो पोखरा, विराटनगर, बुटवल, भैरहवा मात्र होइन अन्य क्षेत्रमा पनि पुगेका छन् । माछापुच्छ्रे मात्र होइन अन्य बैंकका शाखाहरुपनि गाँउ–गाँउमा पुगिसकेका छन् । बैंकहरु शहर केन्द्रित मात्र भए भन्न मिल्दैन । शाखाहरू नखुलेका क्षेत्रमा पनि डिजिटल बैंकिङ्ग लगायत अन्य माध्यमबाट हाम्रा सेवा सुविधाहरू हरेक गाउँका कुना–कुनामा पु¥याइसेका छौँ । माछापुच्छ्रे बैंकको कुरा गर्नुपर्दा हामीले पूर्वदेखि पश्चिमसम्मका धेरै विकट ठाउँहरुमा नाफाको लोभ नगरी सेवा दिइरहेका छौँ ।