काठमाडौं– लेखक सागर बाबु (बुद्धि सागर लामिछाने) को ‘जिन्दगीको रित’ नामक गीत–गजल सङ्ग्रह बजारमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवसमेत रहेका उनले गीत–गजल सङ्ग्रह २०७९ मा प्रकाशन गर्दै बजारमा ल्याएका थिए ।
उक्त सङग्रहमा लेखक बाबुले राष्ट्र प्रेम, समाजिक सचेतना र प्रेमसँग सम्बन्धित गीत र गजल समेटेका छन् । साथै आफू प्रशासन जस्तो कठोर पदमा भइरहँदा पनि उनले सङ्ग्रहमा भावनात्मक कोमलतालाई सृजनात्मक रुपमा दर्साएका छन् ।
लामिछानेको पहिलो प्रकाशित कृतिको रूपमा रहेको यस सङ्ग्रहका केही राष्ट्रिय भावनाका गीतहरू नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित कलाकारहरूद्धारा स्वरबद्ध र सङ्गीतबद्ध भएर श्रोताहरूका माझ पनि आइसकेका छन् । ‘जिन्दगीको रित’ नामक गीत र गजलसङ्ग्रहभित्र जम्मा ६० ओटा रचना सङ्कलित छन् । यीमध्ये ४३ ओटा गीत र १७ ओटा गजल छन् ।
४३ ओटा गीतमध्ये पनि प्रौढ गीत ३८ ओटा र बालगीत ५ ओटा छन् । प्रत्येक गीतमा विषयवस्तुअनुरूप शीर्षक दिइएका छन् । सङ्ग्रहमा भएका गीतहरू लोकलय, जसमा झ्याउरे र सवाई लय उनिएका छन् । यी गीत र गजल विषयवस्तुका दृष्टिले विविधतामय छन् ।
‘लठ्ठ परेँ’, ‘घर कहाँ हो नानी?’, ‘देशरक्षक’, ‘सबैलाई पिर्छ’, ‘समाज बने देश बन्छ’ र ‘हे युवा ! उठ न अब ता’ लगायतका गीतहरू र केही गजलहरू राष्ट्रिय भावना वा देशप्रेमको भावनाले ओतप्रोत छन् । यस्ता गीत र गजलहरूमा नेपालीहरूले आफ्नो राष्ट्रको स्वाभिमान र अक्षुण्णताका निम्ति पुस्तौंदेखि प्रदर्शन गर्दै आएको वीरता, देशभक्ति र उत्सर्गको गौरवपूर्ण इतिहास, नेपालको सुन्दर प्रकृति तथा नेपाली समाज र जातिका विविधतापूर्ण र इन्द्रेणीमय संस्कृतिको सजीव चित्र कलात्मक ढङ्गले उतारिएको छ ।
प्रतिक्रिया