नेपाल बैंकबाट दिईयो नक्कली सुनको धितोमा ४ करोड ऋण

नेपाल बैंकबाट दिईयो नक्कली सुनको धितोमा ४ करोड ऋण


काठमाडौं – नेपाल बैंक लिमिटेडमा कर्मचारीहरुको मिलेमतोमा नक्कली सुनको धितो स्वीकार गरि ४ करोड ऋण दिएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सुन धितोमा राखी बैंकबाट ऋण लिएका सप्तरीको कञ्चनरूप नगरपालिका ८ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साहलाई पक्राउ गरेसंगै यो घटना बाहिरिएको हो । साहले नक्कली सुन धितो राखी बैंकबाट ४ करोड १४ लाख ८४ हजार रूपैयाँ ऋण लिएका थिए ।

उनले केही समय बैंकको लगातार किस्ता पनि तिरिरहेका थिए । तर पछिल्लो चरणमा उनले ऋणको बाँकी किस्ता नतिरि फरार भएपछि उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार साहविरुद्ध जारी भएको पक्राउ पुर्जीको आधारमा उनलाई पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धस्थित हायात होटलबाट उनलाई नियन्त्रण लिएको छ।

बैंकबाट साह लगायत अन्य धेरै जनाले केही समय अघि यसरी नक्कली सुन धितो राखी ऋण लिएका थिए । नक्कली सुन धितो राखेर बैंकबाट ऋण दिलाउने कार्यमा बैंकका उच्च तहसम्मका कर्मचारीको मिलेमतो रहेको बैंक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सो समयमा नक्कली सुन प्रकरणमा सामेल भएको भेटिएका बैंकका केही कर्मचारीलाई बैंकले बर्खास्त समेत गरेको थियो । ‘यो विषय धेरै पुरानो हो करिब ८/१० वर्ष भयो’ ति अधिकारी भन्छन्, ‘यो सुनको कुरामा कतिपय शाखाको त शाखा प्रबन्धकलाई पनि बैंकले बर्खास्त गरेको थियो।’