काठमाडौं– धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका सिनियर डेपुटी सिईओ ( तत्कालीन सेन्चुरी बैंकका सीईओ) मनोज न्यौपानेसहित ११ जना बैंकर थुनामुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनीहरुलाई पक्राउ गरेको १७ दिन पछि आज (बिहीबार) गरेको हो।
सेन्चुरी बैंकमा कार्यरत रहँदा तत्कालिन सीईओद्वय तुल्सिराम गौतम र न्यौपानेसहित ११ जना बैंकरले अधिक कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सीआईबीले पक्राउ गरेको थियो।
सेन्चुरी बैंकका तत्कालिन सिईओद्वय गौतम, न्यौपानेसहित कर्मचारीहरु राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मान्नधर, सन्ध्या श्रेष्ठ, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेतलाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।
अनुसन्धान शुरु गरेको र अनुसन्धान लम्बिने देखिएपछि सरकारी वकिलको राय र अनुसन्धान अधिकृतको तजबिजीमा उनीहरुलाई छोडिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा जिल्ला अदालतबाट अनुमति लिएको थियो ।
प्रतिक्रिया