निर्माणमुखी सामग्री निकासी गर्नसक्ने गरी विधेयक ल्याउनु हुँदैनः रघुजी पन्त

निर्माणमुखी सामग्री निकासी गर्नसक्ने गरी विधेयक ल्याउनु हुँदैनः रघुजी पन्त


काठमाडौं– एमाले नेता रघुजी पन्तले नेपालका खानीमा रहेको निर्माणमुखी सामग्री निकासी गर्न सक्ने गरी विधेयक ल्याउन नहुने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथिको छलफलमा नेता पन्तले विधेयकमा सरकारले नेपालको खोला नदीमा भएका गिट्टी, बालुवा, ढुंगाजस्ता निर्माण सामग्री निकाय गर्न पाउने व्यवस्था राखेको भन्दै निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्न पाउने विषय तत्काल हटाउन माग गरे।

उनले मुलुकभित्र रहेका निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्ने भन्दा पनि मुलुकभित्रै खपत गर्नुपर्ने बताए। उनले विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने शब्दले निर्माण सामग्रीको स्रोतबाट गिट्टी, बालुवा, ढुंगाजस्ता निर्माण सामग्री निकासी गर्न सक्ने बुझिएकाले हटाउन माग गरे।

उनले सर्वोच्च अदालतले निर्माण सामग्री विदेश निकाय गर्न रोक लगाएकाले त्यो विषयमा सरकारले कानुन बनाउन नहुने बताए। उनले नेपाल आफैँ विकासोन्मुख देश भएकाले धेरै पूर्वाधार बनाउनुपर्ने अवस्था रहेको भन्दै सडक पूर्वाधार, जलविद्युत्, पुल बनाउन आफैँलाई निर्माण सामग्री आवश्यक हुने बताए।

उनले नाफाका लागि निकासी गर्न छुट दिने हो भने भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने बताए।

उनले निर्माणमुखी सामग्री प्रयोग गर्दा दीर्घकालीन स्रोतको रुपमा हेर्नुपर्नेमा जोड दिए। उनले वातावरण र जलवायु परिवर्तनलाई थप असर पु¥याउने कुरामा सचेत भएर निर्माणजन्य सामग्रीको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताए। उनले छिमेकी देशको दबाबले हरेक पटक निर्माणजन्य सामग्री निकासीको विषय आउने गरेको बताए।