‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ हुँदै

‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ हुँदै


काठमाडौं – ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरु भएको छ । बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिताको सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले उद्घाटन गरेका हुन् । यस प्रतियोगिताले स्वास्थ्यको क्षेत्रमा मात्र नभएर भौतिक विकासको लागि पनि सहयोग पुराउछ भन्ने विश्वास रहेको उनले बताए ।

उनले भने, ‘पर्यटनको क्षेत्रमा अहिले यो खालको कार्यक्रमको आयोजना भएको छ, यसले महत्त्वपूर्ण योगदान दिएको छ । अगामी दिनमा यस्ता खालका प्रतियोगिताहरुले निरन्तरता पाओस् । त्यसका लागि स्थानीय निकाय र राज्यको तर्फाबाट पनि हामीले अहिलेका पुस्ताहरुमा जुन खालको क्रेज छ, त्यसको महत्वलाई बुझेर सहयोग गर्दै जानुपर्छ ।’

उक्त प्रतियोगितामा पुरुष २६ र महिला १५ जनाको सहभागीता रहेको छ । प्रतियोगिता पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गरिएको हो । पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाका अनुसार यस माध्यमबाट साहसिक खेलकुद उद्योगमा सकारात्मक प्रभाव पार्ने तथा सहभागीहरूका कारण नेपालमा खेलकुद आरोहण विकासको अनुभव बढाउने लक्ष्य राखेका छौं ।

यस किसिमको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले ‘स्वर्गाीय बाबु छिरी शेर्पा’ विश्व कीर्तिमानी आरोही भएको र उनको योगदान स्मरणीय हुनुपर्ने बताइन् । ‘कीर्तिमानी आरोहीलाई विर्सनेक्रम बढेकाले स्मरण योग्य बनाउन हालसम्म प्रतियोगिताहरु पनि नभएको हुनाले उनको सम्झनामा गर्न लागिएको हो’ संघकी अध्यक्ष शेर्पाले बताइन् । उनले प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने बताइन् ।

‘बाबु छिरी शेर्पाको सालिक र संग्रहालय बनाउन संघका पूर्व अध्यक्ष लगायतको योगदान भएकोले हालसम्म संघले नै रेखदेख गर्दै आइरहेको छ’, उनले थपिन् ।यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको छ । उक्त प्रतियोगिता पुरुष र महिलाहरुबीच छुट्टाछुट्टै आयोजना हुदै छ भने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमस नगद पुरस्कार पचास हजार, तीस हजार र पन्ध्र हजार प्रदान गरिने छ ।
प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहेका छन् ।

स्व.बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान् पर्वतारोही मानिन्छ । १० औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन् ।

वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए (अझै पनि रेकर्ड कार्यम नै रहेको) र १६ घण्टा ५६ मिनेटमा दक्षिणतर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए ।सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा दुर्भाग्यवस उनको निधन भएको थियो ।