काठमाडौं – नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामा आशा जगाउने नयाँपन नरहेको बताएका छन्।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता बारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकताले पुरातन शैलीमा बजेट बनाउने सिद्धान्त बोकेको बताए।
उनले कुनै एउटा मात्रै क्षेत्रमा सरकारले बिग र बोल्ड निर्णय गर्छ भन्ने आधार नरहेको जिकिर गरे। उनले सिद्धान्त र प्राथमिकताले तत्काल भएका सुधार, अर्थतन्त्रका चुनौती र भावी कार्यदिशाका सन्दर्भमा संक्षिप्त केही मात्र तथ्य उल्लेख गरेको बताए।
उनले सार्वजनिक खर्च नियन्त्रण, उत्पादन वृद्धिमा टेवा, दोहोरो संरचना खारेज गर्ने, निर्माणाधीन आयोजना सम्पन्न गर्ने, पूर्वतयारी नपुगेको योजनामा बजेट विनियोजन नगर्ने, राजस्व परिचालन, क्षमता वृद्धि गर्ने जस्ता महत्त्वपूर्ण प्रतिबद्धता पनि सिद्धान्त र प्राथमिकतामा राखिएको बताए। मन्त्री फेरिएकै कारणले यी विषय नफेरिने विश्वास आफ्नो रहेको बताए।
पौडेलले भने, ‘आगामी आर्थिक वर्षको बजेट कस्तो बनाउने भन्ने सन्दर्भमा केही विषय उल्लेख भएका छन् तर मन्त्री फेरिएकै कारणले यी विषय फेरिने छैनन् भन्ने मेरो विश्वास छ। पुरातन शैलीमै बजेट बनाउने सिद्धान्त बोकेको र कुनै आशा जगाउने नयाँपन दिन नसकेको जस्तो मलाई लाग्छ। कुनै एउटा मात्रै क्षेत्रमा सरकारले बिग र बोल्ड निर्णय गर्छ भन्ने केही छैन।’
उनले सरकारको खर्चतर्फ सिर्जित दायित्व भुक्तानी तथा स्रोत सुनिश्चित गर्न नसकेको, ठूला आयोजना समयमा बन्न नसकेको, विभिन्न निकायबीच दोहोरोपन देखिएको, राजस्व लक्ष्यअनुरूप उठाउन नसकेको जस्ता विषय बजेटका सिद्धान्त र प्राथमिकताले स्वीकार गरेको बताए।
प्रतिक्रिया