अब बहुउद्देश्यीय सहकारीको काम छैनः पूर्वअर्थमन्त्री डा.खतिवडा

अब बहुउद्देश्यीय सहकारीको काम छैनः पूर्वअर्थमन्त्री डा.खतिवडा


काठमाडौं–पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीहरुको काम नभएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने बताएका हुन् । बहुउद्देश्य सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको उनको भनाइ थियो ।

उनले अब बहुउद्देश्य सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताए । सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

नोटको प्रयोग घट्दै गएकोले अब सहकारीहरु पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको उनले धारणा राखे। खतिवडाले उत्पादन, वितरण, उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने, सेवा केन्द्र खोल्ने, नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस, क्षेत्रगत लक्ष्य र उदेश्य सहकारी संस्था अगाडि बढाउन जरुरी रहेको बताए ।

उनले भने ,‘ वित्तीय कारोबार डिजिटल रुपमा हुँदै जाँदा जोखिम पनि हुँदै जान्छ । साइवर सुरक्षाको लागि पनि सहकारीहरु तयारी हुनुपर्छ । सहकारी प्रविधिमैत्री हुँदै जाँदा कसरी सदस्यहरुलाई सुरक्षित राख्न सकिन्छ भनेर जान्नुपर्छ । यस्ता कुरा गर्न सके सहकारीहरु २०३० सम्म सहकारीहरु देखिन्छन् । नभएर २०३० सम्म सहकारी भएको ठाउँमा विजनेस कम्पप्लेस छ भन्ने हुन्छ । २०३० सम्म सहकारीहरु प्रविधिमैत्री हुन्छन् । आफ्नो संस्था र कारोबारको बारेमा स्मार्ट फोनबाट हेर्नु सक्नुहुने छ । आफू सदस्य भएको सहकारीको एप्स मोबाइलमा हुन्छ । एप्स मार्फत सुचना पाइराख्नु हुने छ । शंका लागेमा कारोबार गर्नको लागि सदस्यहरुबीचमा समन्वय भएको हुन्छ । हल्ला भन्दा पनि सदस्यहरुबीचको सल्लाहले सहकारी ठिक छ वा छैन भन्ने मूल्याङकन गर्नु सक्नुहुने छ । डिजिटल प्रविधिले बचत फिर्ता गर्न सहकारीमा लाइन लाग्ने अवस्थाको अन्त्य पनि गर्छ । २०३० सम्म सहकारीहरु डिजिटल र पारदर्शी हुने छन् । सहकारीलाई उत्पादन,वितरण,उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने,सेवा केन्द्र खोल्ने,नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस,क्षेत्रगत लक्ष्य र उद्देश्य सहकारी संस्था अगाडि बढाउनुपर्छ । बहुउद्देश्य सहकारी भनेको पनि काम छैन । एकल उद्देश्य लिएर बहुउदेश्य सहकारीको नाम लिएर हिँडेर जनतालाई झुक्याउनुको काम छैन । बहुउद्देश्य सहकारीहरुलाई मौका दिनुपर्छ । उहाँहरुलाई बचत ऋण,कृषि,उद्योग र अन्य सेवा क्षेत्रमा जानुहुन्छ भने ठिक छ । अहिलको जसरी काम नगरौं । केही सहकारीका साथीहरुले नेटवर्किङ गरेर जुन सहकारीलाई एक किसिमको व्यवसाय बनाउनुभएको छ । त्यस्तो भए २०२५मा नै बन्द हुनेछन् ।’

पूर्व अर्थमन्त्री खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे। उनले सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी २०३०सम्म नरहने दाबी पनि गरे ।