अलैँची ‘ग्रेडिङ मेसिन’को परीक्षण

अलैँची ‘ग्रेडिङ मेसिन’को परीक्षण


झापा – झापाको बिर्तामोडमा अलैँची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमा निर्माण गरिएको उक्त मेसिनको अलैँची व्यवसायी महासङ्घ कार्यालय परिसरमा आज परीक्षण गरिएको हो ।

स्वीस सरकारद्वार सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इञ्जिनियरिङले उक्त मेसिन निर्माण गरेको जनाइएको छ । एग्रोका सञ्चालक कृष्णप्रसाद अधिकारीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताए ।

मेसिन परीक्षणका क्रममा रहेकाले अझै परिमार्जित गरिने उनले बताए । ‘स्थानीय सामानको प्रयोग गरेर मेसिन बनाएका हौँ’, उनले भने, ‘एउटा मेसिनको अधिकतम् मूल्य रू ५० हजार पर्दछ ।’

उत्पादनलाई प्रविधिसँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतिक देवकोटाले बताए। ‘हामीले किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा मेसिन बनाउने काम गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले लागत घटाउनुका साथै काम गर्न सहज हुने विश्वास छ ।’

मेसिनको परीक्षण सफल भएपछि कम लागतमा अलैँची ग्रेडिङको काम हुने अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले बर्ताए । ‘अहिले हाते जालीबाट अलैँची ग्रेडिङको काम भइरहेको छ’, उनले भने, ‘मेसिनले लागत र समय बचत हुने विश्वास छ ।’

केही व्यवसायीले भारतबाट मेसिन खरिद गरेर ग्रेडिङ गरिरहेका भट्टराईले बताए। ‘भारतबाट ल्याइने मेसिन महँगो पर्दछ । एउटाको करिब रू १० लाख पर्छ’, उनले भने ,‘अहिले परीक्षण गरिएको मेसिन रू ५० हजारमा पाइने भनिएको छ । यसले किसान र व्यवसायलाई सहज हुनेछ ।’

मेसिनबाट तीन प्रकारका अलैँची ग्रेडिङ हुन्छ । जम्बो जेट (जेजे), सुपर डिलक्स र चलनचल्तीको गरी तीन आकारका अलैँचीको दाना ग्रेडिङ हुने जनाइएको छ । (रासस)