काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।
बिहीबर काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले यस्तो आग्रह गरेका हुन् । उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाह घोषणा गर्न आग्रह गरे । उनले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे । उनले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिव किसानलाई किन बाँड्न आँट गर्न आग्रह गरे ।
उनले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे । उनले भने, ‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरु बनेका छन् । पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो । तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । त्यसलाई केले रोकेको छ ?’
उनले थपे, ‘मेरा मित्र रविजी हिजोमात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ । रवि जी तपाईँले आज नै त्यसलाई जारी गरिदिनुस्, बल्ल तपाईहरु परीक्षाबाट उत्तिर्ण हुनुहुनेछ । नत्र जुन जोगी आएपनि कानै चिरेका भनेजस्तो हुने खतरा छ । कमरेड प्रचण्डलाई आग्रह गर्दछु । हिजो हामीले जनयुद्धताका जुन जाली तमसुक झुटो तमसुक बनाइएको थियो, त्यो खोसेर च्यातेको, आगो लगाइएको हो की होइन रु अहिले आगो लगाउनुस् र च्यात्नुस् भन्दिन तर अहिले निश्चित सम्मको ऋण मिनाह तुरुन्तै घोषणा गर्न सक्नुहुन्छ । लिखित तमसुकहरु खिच्नुस् र राख्नुस् । र घोषणा गरिदिनुस् । हामीसँग पैसा नभएको होइन । ६० खर्ब हाम्रो बैंकहरुमा छ । त्यो भनेको वर्षभरको कुल सम्पती हो, त्यो ५० खर्ब छ । ६० खर्बबाट एक खर्ब रुपैयाँ यि गरिव किसानलाई किन बाँड्न र आँट गर्न सक्नुहुन्न । त्यति गर्नुहोस् ।’
पूर्वप्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताए । (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया